सरकारको अर्जुनदृष्टि निर्वाचन : गृहमन्त्री अर्याल

सरकारको अर्जुनदृष्टि निर्वाचन : गृहमन्त्री अर्याल

भैरहवा : गृहमन्त्री ओमप्रकाश अर्यालले वर्तमान सरकारको ‘अर्जुनदृष्टि’ निर्वाचन सम्पन्न गराउनुमा रहेको बताएका छन्।

मंगलबार भैरहवामा आयोजित लुम्बिनी प्रदेशस्तरीय सुरक्षा बैठकलाई सम्बोधन गर्दै उनले निर्वाचनपछि बन्ने नयाँ सरकारलाई नेतृत्व हस्तान्तरण गर्न आफूहरू आतुर रहेको बताए।

गृहमन्त्री अर्यालले चुनाव हुँदैन भन्ने आशंकालाई चिर्दै सरकारले आफ्नो काम र भूमिकाबाटै जवाफ दिने स्पष्ट पारे।

‘विभिन्न बाहना देखाएर चुनाव हुँदैन भन्नेहरूलाई हामी कामबाटै जवाफ दिनेछौं,’ उनले भने।

उनले पछिल्लो पुस्ताले प्रश्न उठाइसकेको अवस्थामा पनि सुधार नभए मुलुकमा अर्को दुर्घटना हुन सक्ने भन्दै सचेत गराए। साथै, निर्वाचनका विषयमा अभिव्यक्ति दिँदा गम्भीर हुन उनले दलका नेताहरूलाई आग्रह गरे।

निर्वाचनका चुनौतीहरूको विश्लेषण गर्न र ती चुनौती चिर्दै आवश्यक सुरक्षा रणनीति तय गर्न लुम्बिनी प्रदेशबाट सुरक्षा बैठक सुरु गरिएको उनले जानकारी दिए।

बुद्धको शान्ति सन्देश फिँजाउने उद्देश्यले लुम्बिनीबाट बैठक थालिएको बताउँदै उनले भने, ‘शान्ति सुव्यवस्था कायम गर्न र निर्वाचनको वातावरण बनाउन सरकारले सातै प्रदेशमा सुरक्षा बैठक गर्नेछ।’

यस्ता बैठकबाट प्राप्त सुरक्षा चुनौतीको विश्लेषणका आधारमा प्रभावकारी सुरक्षा संयन्त्र परिचालन गरिने उनले बताए।

मंसिर ९, २०८२ मंगलबार १३:१६:५८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।