जेन-जी आन्दोलनमा काठमाडौंबाट लुटिएका हतियारसहित झापाबाट ३ जना पक्राउ

जेन-जी आन्दोलनमा काठमाडौंबाट लुटिएका हतियारसहित झापाबाट ३ जना पक्राउ
फाइल तस्बिर

सुरुङ्गा : काठमाडौंमा भएको ‘जेन-जी’ प्रदर्शनका क्रममा महानगरीय प्रहरी कार्यालयबाट लुटिएका हतियारसहित प्रहरीले झापाबाट तीन जनालाई पक्राउ गरेको छ।

दमक र इलामको सिमानाबाट प्रहरीले २ थान पेस्तोल र २० राउण्ड गोलीसहित उनीहरूलाई नियन्त्रणमा लिएको हो।

पक्राउ पर्नेमा दमक-६ का २९ वर्षीय विश्व लिङ्देन, दमक-९ का २६ वर्षीय सरोज पुरी र इलाम चुलाचुली-४ का ३० वर्षीय पवन हाङसुङ्वा रहेका छन्।

लागुऔषध नियन्त्रण ब्यूरो काँकरभिट्टा र इलाका प्रहरी कार्यालय दमकको संयुक्त टोलीले आइतबार राति विशेष अपरेसन चलाएको थियो।

प्रहरी नायब निरीक्षक कुमार सोमेस लामिछानेको कमाण्डमा खटिएको टोलीले सुरुमा दमक-८ मा डेरा गरी बस्ने सरोज पुरीलाई शंकास्पद अवस्थामा नियन्त्रणमा लिएको थियो।

पुरीको साथबाट ‘टाइप-५४’ चाइनिज पेस्तोल एक थान र १५ राउण्ड गोली बरामद भएको थियो। अनुसन्धानका क्रममा पुरीले अर्को हतियार विश्व लिङ्देनको जिम्मा लगाएको बयान दिएपछि प्रहरीले लिङ्देनलाई पक्राउ गरेको हो।

लिङ्देनले उक्त हतियार इलामका पवन हाङसुङ्वालाई २० हजार रुपैयाँमा बिक्री गरेको प्रहरीसमक्ष स्वीकार गरेका थिए। सोही सूचनाका आधारमा प्रहरी टोली इलामको चुलाचुली पुगेको थियो।

हाङसुङ्वाको बारीमा खाल्डो खनेर रातो प्लास्टिकको झोलामा लुकाइराखेको अवस्थामा अर्को ‘टाइप-५४’ चाइनिज पेस्तोल र त्यसमा लोड गरिएको ५ राउण्ड गोली फेला परेको प्रहरीले जनाएको छ। बरामद गरिएको उक्त हतियारमा खिया लागेको अवस्था देखिएको छ।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार बरामद गरिएका दुवै हतियार र २० राउण्ड गोलीसहित पक्राउ परेका तीनै जनालाई आवश्यक कारबाहीका लागि काठमाडौं पठाइएको छ।

मंसिर ९, २०८२ मंगलबार ११:५७:५५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।