नुवाकोटमा आगो ताप्ने क्रममा जलेकी ९६ वर्षीया वृद्धाको उपचारको क्रममा मृत्यु
नुवाकोट : नुवाकोटको शिवपुरी गाउँपालिकामा आगो ताप्ने क्रममा जलेर गम्भीर घाइते भएकी एक ९६ वर्षीया वृद्धाको उपचारका क्रममा मृत्यु भएको छ।
मृत्यु हुनेमा शिवपुरी गाउँपालिका वडा नं. ६, तमौरो टोल बस्ने वर्ष ९६ की प्रेम कुमारी बुढाथोकी रहेकी छिन्।
घटना विवरण अनुसार, गत कार्तिक ३० गते बिहान करिब साढे ७ बजेको समयमा बुढाथोकी आफ्नै घरको अगेनामा आगो तापिरहेकी थिइन्।
सोही क्रममा अचानक उनले लगाएको फरियामा आगो सल्किएको थियो। आगोले पोलेर चिच्याउँदै निभाउने प्रयास गरिरहेको अवस्थामा उनका छोरा शिव कुमार बुढाथोकीले देखेका थिए।
छोराले तत्काल आगो निभाई आमालाई उपचारका लागि काठमाडौंस्थित वीर अस्पताल पुर्याएका थिए। लामो समयदेखि अस्पतालमा उपचाररत बुढाथोकीको सोमबार बिहान उपचारकै क्रममा निधन भएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार घटनाबारे मंसिर १ गते नै अस्पतालमार्फत जानकारी प्राप्त भएको थियो।
मृतकको शवलाई वीर अस्पतालबाट पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल (टिचिङ) महाराजगञ्ज लगिएको थियो। दिउँसो २ बजे पोस्टमार्टम पश्चात शव आफन्तले बुझेर लगेको प्रहरीले जानकारी दिएको छ।
जाडो बढेसँगै आगो ताप्ने क्रममा सावधानी नअपनाउँदा यस्ता दुःखद घटनाहरू बढ्ने गरेकाले सचेत रहन आग्रह गरिएको छ।
मंसिर ९, २०८२ मंगलबार ११:०१:११ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।