संगीताको प्रसव पीडा र खुसी : बाबु जन्माए लगत्तै अस्पतालबाट ६ घण्टा हिँडेर घर पुगेँ, जंगलमा चरा पोलेर खाँदै मासुको तलतल मेटेँ

संगीताको प्रसव पीडा र खुसी : बाबु जन्माए लगत्तै अस्पतालबाट ६ घण्टा हिँडेर घर पुगेँ, जंगलमा चरा पोलेर खाँदै मासुको तलतल मेटेँ

संगीता रानामगर गृहिणी हुन्। उनको बाल्यकालदेखि युवावस्थासम्मको समय दुःख गरेरै बित्यो। तर, उनी ‘अहिलेसम्म कुनै काम गरेकी छैन’ भन्ने गर्छिन्। उनको बोल्ने शैली र कुरा राख्ने तरिका देखेर धेरैले उनलाई ‘अफिसमा काम गर्ने वा पढाउने’ मान्छे भनेर सोच्छन् रे।

तर, उनी आफैँ भने पढ्न नपाएकोमा दुःखी छिन्। घरको जेठो सन्तान भएकाले उनलाई सानैदेखि भाइ-बहिनी हेर्ने जिम्मेवारी थियो। सानै उमेरमा बिहे पनि भयो। बिहेपछि उनको जीवन सधैँका लागि बदलियो। उनले ‘दुःख’ लाई नै आफ्नो कर्म मानिन्।

बाग्लुङमा जन्मिएकी उनी बिहे गरेर गोरखा पुगिन्। उनी दुई सन्तानकी आमा हुन्। पहिलो पटक आमा बन्दाका धेरै कुरा उनलाई याद पनि छैनन्। तर, जंगल जाँदा धेरै पटक लडेको अनुभव भने उनीसँग छ। उनै संगीताले उकेराको नियमित स्तम्भ ‘प्रसव पीडा र खुसी’ मा आफ्नो मातृत्व अनुभव यसरी सुनाइन्:

०००

बाग्लुङमा हाम्रो सानो व्यवसाय थियो। एकजना बहिनी र दुईजना भाइ हेरेर मेरो बाल्यकाल बित्यो। त्यसबखत देशमा द्वन्द्व चलिरहेकाले मैले पढ्न पनि सकिनँ। आठ कक्षा पढ्दै गर्दा पढाइ रोकियो।

बिहे पनि १८ वर्षको हुँदा नै भयो। मागी बिहे भन्ने कि के भन्ने, श्रीमानलाई देखेको एक महिनामै बिहे भएको थियो। मेरा भाइ-बहिनीहरूको अगाडि नै बिहे भएपछि ममाथि एक प्रकारको दबाब पनि भयो।

गाउँमा त्यसबेला छोरीमान्छेको ढिला बिहे भयो भने ‘झुमा बस्यो कि!’, ‘यसको बिहे नहुनुमा यसकै कमजोरी छ’ भन्ने चलन थियो। त्यही भएर हो कि, मेरो विवाह मभन्दा दस वर्षभन्दा बढी उमेरका केटासँग भयो। बिहे गरेर म गोरखा पुगेँ।

बिहेपछि जीवनशैली मात्र होइन, जिन्दगी नै बदलिने रहेछ भन्ने लाग्यो। छोरीबाट एकैचोटि श्रीमती, बुहारी अनि विभिन्न नाताहरूमा बाँधिन पुगेँ। केही कुरा बुझ्न नपाउँदै आमा पनि बनेँ। बिहे त माकुराको जालो जस्तै रहेछ, कहीँबाट उम्किन नपाइने।

म आफैँ केटाकेटी नै थिएँ होला। त्यही भएर पनि कामको दुःख सुरुमा लागेन। सबै सहेर बसेँ। आफैँले गर्नुपर्छ भन्ने लाग्यो। केही जान्दिनँथेँ पनि। खेतीपातीको सबै काम बिहेपछि नै सिकेकी हुँ। दुःख त भयो होला, तर कसैलाई सुनाउनु हुँदैन भन्ने पनि थियो।

बिहे भएको अर्को साल छोरा जन्मिहाल्यो। मेरा श्रीमानको उमेर मभन्दा अलि बढी भएकाले पनि हो कि, घरमा चाँडै नातिनातिनी हेर्ने रहर थियो। गर्भ रहिहालेछ। त्यसबेला मलाई के हुन्थ्यो कुन्नि, श्रीमानलाई देख्यो कि बिरामी भइहाल्थेँ।

त्यसबेला निकै अप्ठ्यारो भइरहेको थियो। बिरामी भएजस्तो भएपछि जचाउन जाँदा गर्भवती भएको थाहा भयो। मेरा दुई सन्तान छन्। पहिलो सन्तान त कसरी भयो, के-के अनुभव गरेँ भन्ने याद पनि छैन। अनि दोस्रोमा चाहिँ त्यो सबै मातृत्वको अनुभव गर्न पाउँ भन्ने लागेको थियो।

तर, दोस्रो सन्तान पनि हाम्रो कुनै योजनाविना नै भएको हो। गाउँमा अहिले जस्तो केही पनि सुविधा थिएन। बच्चा जन्माउन लागेको कुरा कसैले थाहा नपाउन् भन्ने लाग्थ्यो। बेस्सरी लाज लाग्थ्यो। म त्यसबेला निकै पातली थिएँ। पेट देखिन्छ कि भनेर टम्म पटुका बाँधेर हिँड्थेँ।

अहिले त पेट देखाउने चलन नै छ। पुराना कुरा सम्झिएँ भने म आफैँ उहिलेको जमानाकी हुँ कि जस्तो लाग्छ। मेरो गर्भावस्थाको नौ महिना निकै भयानक र दर्दनाक भयो। गाउँमा खेतीपाती, मेलापात, घर-परिवार सबै हेर्नुपर्यो। गर्भवती छु भनेर आराम गर्ने भन्ने नै भएन।

त्यसबेलाका दर्दनाक कुराहरू सबै भनेर साध्य पनि छैन। मलाई अहिले भन्न पनि गाह्रो लाग्छ। बितिसकेको कुरा भनेर पनि के गर्ने हो र ! भन्ने लाग्छ। सायद, अहिलेका नयाँ आमाहरूले त्यो अब अनुभव गर्न नपर्ला। ‘मैले त बारीको कुनामा दुइटा बच्चा जन्माएँ, तँ पनि हिँडेर आइज’ भनेर सासूले भन्नुभएको कुरा अहिलेसम्म पनि बिर्सिन सकेकी छैन।

यत्रो ठुलो पेट बोकेर बारीका कान्ला-कान्ला हिँडियो, लडियो। रगत नै रगत हुन्थ्यो। गइसकेको, बितिसकेको कुराहरू फेरि नबल्झाऊँ भन्ने लाग्छ। ठूलो छोरा जन्मिनु भन्दा अगाडि पनि म त्यसरी नै नमज्जासँग लडेकी थिएँ। ऊ जन्मिँदा उसको आँखाभरि रगत जमेको थियो।

गर्भावस्था तनावरहित भयो भने धेरै हदसम्म आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्ने लाग्छ। त्यही भएर पनि यो बिहे, बच्चा भनेको त अर्काका लागि पो गर्ने रहेछ भन्ने लाग्छ। अर्काको वंश बढाइदिने, सबै अर्काका लागि गरिदिने; तर हाम्रो खुसी त कसैले पनि सोच्दैन।

हुन त हाम्रै घर हो, हामीले पो हाम्रो घर भन्छौँ त। तर अरूको घर गएको हुँ। मलाई त अहिले हामी छोरीमान्छेको घर भनेको आमाको गर्भमा रहँदाको नौ महिना अनि सिधै आर्यघाटको चिता जस्तो लाग्छ। अझ आमाको कोखबाट पनि नौ महिनामा त जसरी पनि बाहिर निकाल्ने गरिन्छ।

त्यसबेला गाउँमा खानेकुरा जे छ, त्यही खानेबाहेक विकल्प थिएन। मलाई फेरि त्यस्तो खान मन लागेको पनि होइन, तर मासु चाहिँ खुब खान मन लाग्थ्यो। हाम्रो घरमा मासु भनेको पाहुनाका लागि मात्र पाक्ने गर्थ्यो। असाध्यै मासु खान मन लागेकाले जंगलमा स्याउला काट्न जाँदा मैले चराको मासु खाएकी थिएँ।

त्यसबेला जे पायो त्यही खान मन लाग्दैन थियो। भर्खर बिहे गरेकी बुहारीको घरमा यति धेरै काम हुन्थ्यो कि, मेरा लागि केही सोच्ने समय पनि हुँदैन थियो। राति ११ बजे सुत्ने अनि बिहान दुई बजे नै उठेर घरधन्दा सुरु गर्नुपर्थ्यो। त्यही भएर पनि हो कि, मैले त्यसबेला कसैलाई याद गर्ने समय पनि पाइनँ।

कसैको याद आएको पनि थियो होला, रोएँ पनि हुँला। तर ‘घरमा जे जस्तो भए पनि बाहिर निस्किँदा चाहिँ हाँसेर निस्क है दुलही’ भन्नुभएको मात्र याद छ। पुराना कुरा अहिले सम्झियो भने पो बरु आँसु आउँछ।

गर्भावस्थाको नौ महिनामा पनि म जम्मा ५२ केजीको मात्र थिएँ। बच्चाको तौल बरु राम्रो रहेछ। पेट मात्र ठुलो हुँदा मैले छोप्नका लागि २४ हातको पटुका बाँध्थेँ। त्यसले गर्दा राति सुत्दा असाध्यै अप्ठ्यारो हुन्थ्यो।

बाबु पेटमा भएको छ महिनामा लडेकी थिएँ। भोलि बाबु जन्मिएको, आजजस्तो गोठालो जाँदा म त्यसरी नै चिप्लिएर नराम्रोसँग लडेँ। त्यसबेला पेट साह्रो भएजस्तो कटक्क दुखेको थियो। पहिरिएर सबै खुट्टाहरू थिचिएका थिए।

एक्लै हस्पिटल जाँदा ‘रातीदेखि व्यथा लाग्न सक्छ, आउनू’ भन्नुभएको थियो। पछि बल्लतल्ल घर पुगेको, ‘खाना बनाऊ’ भनेको सुनेपछि मैले पहिलो पटक ‘नाइँ’ भनेको याद छ। हाम्रोमा महिनावारी बार्ने चलन छ। आमाजूले ‘मैले हुँदैन’ भन्नुभएको थियो। मेरो मुखबाट ‘हुँदैन भने नखानु’ भन्ने निस्किहाल्यो।

पछि सासूले शंका गर्नुभएछ। अनि ‘के भयो’ भनेर सोध्नुभयो। मैले ‘बाटोमा लडेको, गाह्रो भइरहेको छ, रातिदेखि व्यथा लाग्छ पनि भनेको छ’ भनेँ। उहाँहरूले त ‘बच्चा पनि घरमै जन्माउनुपर्छ’ भन्नुभएको थियो। पछि ससुराले ‘नजिकै हस्पिटल हुँदाहुँदै किन घरमा जन्माउने?’ भन्नुभएपछि हस्पिटल गयौँ।

मध्यरात १२ बजेतिर हस्पिटल लगेको, बिहान चार बजेतिर त मैले बाबुलाई जन्म दिएँ। जन्म दिएपछिका घाउहरूले मलाई झन् गाह्रो बनायो। दूध खुवाउँदा पनि सुरुमा त हुरुक्कै भएको थियो। पछि नाति बोकेर उहाँहरू त हिँडिहाल्नुभयो। म एक्लै हिँड्दै घर गएकी थिएँ।

बाटोमा कोही देखे पनि मलाई समाएर घर लगिदिए हुन्थ्यो भन्ने लाग्थ्यो। अलिकति हिँड्यो कि थरथर काम्थेँ। बाटोमा भेटेका सबै धारामा पानी पिउँदै हिँडेको म कहिले पनि बिर्सिन्नँ। बिहान दस बजे हस्पिटलबाट हिँडेको दिउँसो लगभग चार बजे पो घर पुगेँ। त्यसबेला मलाई दुखाइ भएको बाहेक अरू याद नै छैन।

उमेर कलिलै भएका कारणले जसोतसो बल चाहिँ हुने रहेछ। ११ दिन फेरि सुतक बार्नुपर्यो। भान्छामा जानबाहेक सबै काम गर्नुपर्थ्यो। रातभर बच्चा रुने, दिनभर सुत्न नपाउने। सुत्केरी भएपछि आराम गर्न पाइन्छ भन्ने सुनेकी थिएँ, तर मेरोमा त्यस्तो भएन।

श्रीमान् बिहेको केही समयपछि नै विदेश जानुभयो। पछि आउनुहुँदा त मैले उहाँलाई चिन्नै सकेकी थिइनँ। उहाँ आउनुभएपछि पनि मलाई कुनै सहयोग नगर्दा चाहिँ एकदम चित्त दुखेको थियो। त्यसबेला ‘मेरो कर्म नै यस्तो रहेछ’ भनेर खेत र जंगलतिरै मन लगाएँ।

ठूलो बाबुको समयमा मैले एक मुठी घिउ पनि राम्रोसँग खान पाइनँ। ज्वानोमा बेसार र नुन मिलाएर खान्थेँ। ‘माइत जान्छु’ भन्दा पनि ‘जान मिल्दैन’ भनेर पठाउनुभएन। त्यसपछि हामी शहर आयौँ।

बाबु लगभग चार वर्षको हुन लाग्दा मेरो फेरि गर्भ रह्यो। एउटा सन्तान राम्रोसँग जन्माएर मातृत्वको अनुभव गर्न पाउँ भन्ने रहर त थियो। तर, दोस्रो सन्तान पनि चाहिन्छ नै भनेर हामीले योजना अनुसार जन्माएका भने होइनौँ।

शहरमा खेतीपाती, ढिकी-जाँतो गर्न परेन भन्ने मात्र हो। शहर आएको केही समयपछि श्रीमान् फेरि विदेश गइहाल्नुभयो। यहाँ पनि सबै काम आफैँ गरेँ। बाबु स्कुल जान थालेकाले सानो बाबुको समयमा धेरै गाह्रो भएन। सानो बाबुको पालामा फेरि मलाई मासु खानै मन नलाग्ने भएको थियो।

दोस्रो पटक गर्भवती हुँदा राम्रोसँग तौल पनि बढेको थियो। डम्म परेको, मोटो-चिल्लो भएकी थिएँ। त्यसबेला पनि म एक्लै हस्पिटल गएकी थिएँ। सुत्केरी कक्षमा लागेको आधा घण्टामै मैले सानो बाबुलाई जन्म दिएँ। त्यसबेला के-के पड्किएको आवाज नै आएको थियो। बच्चा जन्माउँदा नसा चुँडिन्छ भन्छन् नि, सायद त्यही होला जस्तो लाग्यो।

सानो बाबु झन् चार केजी दुई सय ग्रामको जन्मिएको हो। त्यसबेला मेरो माइतीमा आमाबा कोही हुनुहुन्नथ्यो। त्यही भएर त्यसबेला पनि माइत गइनँ। जे होस्, गर्यो भने चाहिँ सबै सकिने रहेछ भन्ने लाग्छ। म एक्लैले दुईजना सन्तान हुर्काएँ।

गाउँमा हामी चाडपर्वको समयमा मात्र जान्छौँ। ठुलो बाबु १९ वर्षको भइसक्यो, स्नातक पढ्दै छ। सानो पनि १६ वर्षको भइसक्यो। दुवैको स्वभाव आकाश-जमिनको फरक छ। आमा हुनु भनेको त ओहो! निकै गाह्रो रहेछ। म बयान पनि गर्न सक्दिनँ।

आमाको भूमिका निभाउनु जस्तो गाह्रो अरू केही छैन। हामीले दुःख मानेर हुने कुरा पनि होइन। आमा भनेको आमा नै हो। भगवानको कृपाले मलाई जति गाह्रो भए पनि मेरा सन्तानहरूलाई केही भएन। अब उनीहरू हुर्किसके। उनीहरूले आफ्नो लागि आफैँ गर्नुपर्छ जस्तो लाग्छ।

मंसिर ९, २०८२ मंगलबार ०८:५१:३२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।