बारामा तस्कर र प्रहरीबीच गोली हानाहान : ७ राउन्ड जवाफी फायर, चार मोटरसाइकल बरामद
बारा : बाराको सीमावर्ती क्षेत्रमा सोमबार राति तस्कर समूह र प्रहरीबीच गोली हानाहान भएको छ।
पचरौता नगरपालिका-६ चिकनी टोलस्थित सीमा नाकामा भारतबाट नेपालतर्फ आउँदै गरेको तस्कर समूहसँग प्रहरीको जम्काभेट हुँदा दोहोरो फायरिङ भएको हो।
जिल्ला प्रहरी कार्यालय बाराका अनुसार, सोमबार राति करिब १०:४५ बजेको समयमा इलाका प्रहरी कार्यालय सिम्रौनगढको गस्ती टोलीले भारतको हनुमाननगर तर्फबाट आउँदै गरेका करिब २५ जनाको तस्कर समूहलाई रोक्न खोजेको थियो।
मोटरसाइकल र नम्बर नखुलेको ट्याक्टरमा तस्करीका सामान लोड गरी नेपाल भित्र्याउँदै गरेको सो समूहले प्रहरीलाई देख्नासाथ २ राउन्ड गोली प्रहार गरेको थियो।
तस्कर समूहले कटुवा पेस्तोलबाट गोली चलाएपछि आत्मरक्षाका लागि प्रहरीले ‘नाइन एमएम’ (9MM) पेस्तोलबाट ७ राउन्ड जवाफी फायर गरेको थियो। प्रहरीको जवाफी कारबाहीपछि तस्करहरू ट्याक्टरसहित भारततर्फ नै भागेका छन्।
घटनालगत्तै इलाका प्रहरी कार्यालय सिम्रौनगढबाट प्रहरी निरीक्षक कृष्णदेव प्रसाद साहको कमान्डमा थप १० जनाको टोली घटनास्थल पुगेको थियो।
तस्करहरू भाग्ने क्रममा दसगजा क्षेत्रमा छाडेका ४ वटा भारतीय नम्बर प्लेटका मोटरसाइकल, भारतीय रञ्जित कुमारको नाममा रहेको सवारी चालक अनुमति पत्र र ओप्पो र सामसुङ कम्पनीका मोबाइल २ थान प्रहरीले बरामद गरेको छ।
बरामद गरिएका मोटरसाइकल तथा सामग्रीहरू नियन्त्रणमा लिई घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।
मंसिर ९, २०८२ मंगलबार ०७:५९:१० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।