जनकपुरधाममा विवाह पञ्चमीको उल्लास : त्रेतायुगको झझल्को दिने गरी आज राम–सीताको ‘विवाह’ गरिँदै

जनकपुरधाममा विवाह पञ्चमीको उल्लास : त्रेतायुगको झझल्को दिने गरी आज राम–सीताको ‘विवाह’ गरिँदै
फाइल तस्बिर

काठमाडौं : मार्गशीर्ष शुक्ल पञ्चमी अर्थात् विवाह पञ्चमी पर्व। त्रेतायुगमा भगवान् राम र सीताको विवाह भएको सम्झनामा आज (शुक्रबार) देशभर यो पर्व मनाइँदै छ।

विशेष गरी प्राचीन मिथिलाको राजधानी जनकपुरधाममा यो पर्वको विशेष रौनक छ। मिथिलावासीले यस पर्वलाई एक ठुलो महोत्सवका रूपमा मनाउने गरेका छन्।

त्रेतायुगमा मिथिलाका राजा जनकले आफ्नी छोरी सीताको स्वयंवरका लागि राखेको शिवधनुषलाई अयोध्याका राजा दशरथका जेठा छोरा रामले तीन टुक्रा पारेका थिए।

शिवधनुष भाँचेपछि मार्गशीर्ष शुक्ल पञ्चमीकै दिन राम र सीताको विवाह सम्पन्न भएको पौराणिक मान्यता छ।

सीतालाई छोरी-बहिनी मान्ने मिथिलावासीले यस महोत्सवमा देवीदेवताको सहभागिता सशरीर नभए पनि अदृश्य रूपमा हुने विश्वास गर्छन्। उनीहरू प्रतिछाया जन्तीको आगमनदेखि विवाह समारोहसम्म हर्षोल्लासका साथ सहभागी हुन्छन्।

विवाह पञ्चमी महोत्सव मनाउने क्रममा मिथिलाको संस्कृतिअनुसार मटकोर, तिलकोत्सव, स्वयंवर र विवाह संस्कार सम्पन्न गरिन्छ।

परम्पराअनुसार राम मन्दिरबाट बाजागाजा र झाँकीसहित भगवान् रामको प्रतिमालाई विशेष रूपमा निर्मित डोला सिंहासनमा राखी रङ्गभूमि (बाह्रबिघा) मैदानमा पुर्याइन्छ। त्यस्तै, जानकी मन्दिरबाट सीतालाई पनि विशेष सुसज्जित डोलामा राखी रङ्गभूमिमै लगिन्छ।

रङ्गभूमिमा स्वयंवर र परीक्षणको वैवाहिक विधि सम्पन्न भएपछि सीता–रामको डोलालाई पुनः जानकी मन्दिरमा ल्याइन्छ।

त्यसपछि राति मिथिला संस्कृतिअनुसार वैदिक परम्परामा विवाह सम्पन्न हुन्छ। यस अवसरमा निस्कने भगवानको डोला शोभायात्रामा नेपालका विभिन्न स्थानलगायत सीमावर्ती भारतीय क्षेत्रका श्रद्धालु भक्तजनको बाक्लो उपस्थिति रहने गर्दछ।

विगतमा तिरहुतियागाछीमा मनाइने यो महोत्सव पछिल्लो दुई दशकदेखि रङ्गभूमि मैदानमा विशेष कार्यक्रमसहित मनाउने गरिएको छ। त्यस्तै, पहिले एक महिनासम्म भव्य रूपमा मनाइने यो महोत्सवलाई हाल एक सातामा सीमित गरिएको छ।

मंसिर ९, २०८२ मंगलबार ०७:१५:४५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।