काठमाडौंमा मात्र जेनजी आन्दोलनका २ सय ६९ पक्राउ, ४३ जना कारागार चलान

काठमाडौंमा मात्र जेनजी आन्दोलनका २ सय ६९ पक्राउ, ४३ जना कारागार चलान

काठमाडौं : भदौ २३ र २४ गते राजधानीमा भएको जेनजी आन्दोलनका क्रममा तोडफोड, आगजनी र हिंसात्मक घटनामा संलग्न आरोपमा काठमाडौं प्रहरीले अहिलेसम्म २ सय ६७ जनालाई पक्राउ गरेको छ। पक्राउ परेका मध्ये २ सय ६२ पुरुष र ५ महिला छन्।

जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी रमेश थापाका अनुसार तोडफोड तथा आगजनीका विभिन्न घटनामा संलग्न देखिएका व्यक्तिमाथि प्रहरीले अनुसन्धान गरिरहेको छ। थापाका अनुसार पक्राउ परेकामध्ये १६ जना प्रहरी हत्यामा संलग्न रहेको आरोपमा समातिएका हुन्।

तीमध्ये १३ जना पुर्पक्षका लागि कारागार चलान भएका छन् भने ३ जना अनुसन्धानका लागि प्रहरी हिरासतमा छन्।

पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार जेनजी आन्दोलनकाक्रममा भएका विभिन्न अभियोगमा ४३ जना पुर्पक्षका लागि कारागार पुगेका छन्। ३३ जना धरौटीमा रिहा भएका छन्। यसबाहेक १ सय १३ जना विरुद्धको अनुसन्धान अझै जारी छ भने ८७ जनालाई हाजिरी जमानीमा छाडिएको छ। प्रहरीका अनुसार हालसम्म जेनजी आन्दोलनसँग सम्बन्धित १ सय ५४ मुद्दा दर्ता भएको छ।

प्रहरीका अनुसार आन्दोलनका क्रममा भएको तोडफोड, आगजनी र अन्य आपराधिक गतिविधिबारे १ सय ४ वटा जाहेरी प्राप्त भएका छन्। तीमध्ये व्यक्तिगत २२, सरकारी तथा प्रहरी प्रतिवेदनका ६६, र संस्थागत १६ वटा जाहेरी छन्।

काठमाडौंमा ४९ जनाको मृत्यु, सात जनाको पहिचान खुलेन

भदौ २३–२४ को जेनजी आन्दोलनकोक्रममा काठमाडौंमा मात्रै ४९ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ। तीमध्ये ७ जनाको पहिचान अझै हुन सकेको छैन। विभिन्न स्थानमा जलेको अवस्थामा फेला परेका शवहरूको अस्थिपञ्जर मात्र फेला परेकाले पहिचानमा समस्या आएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी पवन भट्टराईले बताए। शवहरू डिएनए परीक्षणका लागि पठाइए पनि जाँच सम्भव नभएको प्रहरीले जनाएको छ।

मंसिर ८, २०८२ सोमबार २०:२०:१३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।