एनपिएलमा म्याच फिक्सिङ गराउन नेपाल आएकाको मुख्य समूह क्यानडा र भारतमा

एनपिएलमा म्याच फिक्सिङ गराउन नेपाल आएकाको मुख्य समूह क्यानडा र भारतमा

काठमाडौँ : नेपाल प्रिमियर लिगमा सहभागी क्रिकेट खेलाडीलाई  मेसेज पठाउँदै स्पन्सर गरिदिने प्रलोभन देखाएर सट्टेबाजीको प्रयास गरेको आरोपमा पक्राउ परेका भारतीय र नेपाली नागरिकले क्रिप्टो करेन्सीमा समेत लगानी गर्ने गरेको खुलेको प्रहरीले जानकारी दिएको छ।

उपत्यका अपराध अनुसन्धान कार्यालयले एनपिएलमा सहभागी टिमको खेलाडीलाई होटेलमा भेटेर एक नो बल फाले बापत एक करोडसम्म दिने अफर गरेको आरोपमा मंसिर ३ गते एक भारतीय र एक नेपाली नागरिकलाई  पक्राउ गरेको थियो।

प्रहरीले हरियाणा रानिमहाल पानीपतका २८ वर्षीय दिलप्रित सिंह र बर्दिया घर भई भारत चण्डिगढ बस्ने २४ बर्सिया रेविका सिंह ठकुरीलाई पक्राउ गरेको थियो। सोमबार जिल्ला प्रहरी परिसर काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा उनीहरू एनपिएलमा म्याच फिक्सिङका लागि आएको र उनीहरूको मुख्य टिम भारत र क्यानडामा रहेको खुलेको सार्वजनिक गरियो।

पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार उनीहरूले खेलाडीहरूको इन्टाग्रामबाट फलो गरेर सम्बन्ध बढाउने र स्पन्सर गर्ने कम्पनी भएको भन्दै कफीसपमा भेट्ने गरेका थिए।

कफिसपमा भेटेपछि उनीहरूले म्या फिक्सिङ्गको अफर गर्ने गरेको परिसरका प्रवक्ता पवन कुमार भट्टराईले जानकारी दिए।

“अहिलेसम्मको अनुसन्धानमा इन्टाग्रामबाट खेलाडीलाई टार्गेट गरेर कुरा गर्ने अनि कफी खान बोलाएर स्पन्सर गर्छु भन्दै म्याच फिक्सिङ्गको अफर गर्ने गरेको खुलेको छ” उनले भने।

अनुसन्धानमा उनीहरू एनपिएल लक्षित गरेर नेपाल आएको र उनीहरूको समूहका मुख्य सदस्यहरू भारत र क्यानडामा रहेको खुलेको भट्टराइले जानकारी दिए।

एसपी भट्टराइले उनीहरूले हालसम्म दुई करोड बढीको क्रिप्टोमा लगानी गरेको समेत खुलेको छ। नेपालमा क्रिप्टो लगायतको कम्पनीमा लगानी गर्नु गैरकानुनी हो।

मंसिर ८, २०८२ सोमबार १९:५६:३२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।