नेपोबेबीको विरोधमा ज्ञापन पत्र बुझाउन सिंहदरबार गएका मिरज भित्र जानै पाएनन्, आदर्शलाई जोगाउन प्रधानमन्त्री सक्रिय

नेपोबेबीको विरोधमा ज्ञापन पत्र बुझाउन सिंहदरबार गएका मिरज भित्र जानै पाएनन्, आदर्शलाई जोगाउन प्रधानमन्त्री सक्रिय

काठमाडौं : प्रधानमन्त्री सुशीला कार्कीको मुख्य स्वकीय सचिव आदर्श श्रेष्ठले प्रधानमन्त्रीको सचिवालयमा आफ्नो श्रीमती नियुक्त गरेको विरोधमा ज्ञापन पत्र बुझाउन सिंहदरबार पुगेका मिरज ढुंगानासहितका जेनजी नेता भित्र छिर्न पाएनन्।

उनीहरू नेपोबेबी अभियान हुँदै सडकसम्म पुगेको जेनजीहरुको भ्रष्टाचार विरोधी आन्दोलनको बलमा बनेको सरकारले नै नातावादका आधारमा परिवारका सदस्यलाई सरकारी नियुक्ति दिएको भन्दै प्रधानमन्त्री कार्कीलाई विरोध स्वरूप ज्ञापन पत्र बुझाउन सिंहदरबार गएका थिए। तर सुरक्षाकर्मीले मिरजसहितको टिमलाई सिंहदरबार भित्र छिर्नै नदिएपछि उनीहरूले गेटमै ज्ञापन पत्र टाँसेर फर्किए।

आदर्शले आफ्नी संगीता श्रेष्ठलाई सहसचिव सरहको स्वकीय सहसचिव बनाएका छन्। आदर्शले आफ्नी श्रीमतीलाई असोज २ मा नियुक्त गराएको उकेराले आइतबार सार्वजनिक गरेको थियो।

सचिवालयमा सङ्गीतासहित आदर्शको आफन्तहरूले नियुक्ति पाएको सार्वजनिक भएसँगै जेनजी नेताहरूले तत्काल उनीहरूलाई बर्खास्त गर्न माग गरिरहेका छन्। तर प्रधानमन्त्रीको सचिवालयले विज्ञप्ति निकालेर प्रधानमन्त्रीको वृद्ध उमेर र गोपनीयताका आधारमा विश्वासिलो व्यक्तिहरूलाई नियुक्त गरेको तर्क गर्दै विज्ञप्ति निकालेको थियो।

उकेराले प्राप्त गरेको प्रधानमन्त्री कार्कीको स्वकीय सचिवालयमा १४ जना रहेको देखिन्छ। त्यसमा आदर्श कुमार श्रेष्ठ प्रमुख स्वकीय सचिवका रूपमा  २०८२ भदौ २९ मा नियुक्त भएका थिए।

संगीता श्रेष्ठ स्वकीय सहसचिवका रूपमा असोज २ मा नियुक्त भएकी हुन्। असोज २ मै स्वकीय सहसचिवका रूपमा कमला श्रेष्ठ, स्वकीय शाखा अधिकृतमा रमेश राज दाहाल, अर्जित खड्‌का, स्वकीय शाखा अधिकृत (फोटोग्राफर) मा केशव थापा कात्तिक ११ मा नियुक्त भएको देखिन्छ।

कात्तिक १८ मा आकृति घिमिरे स्वकीय शाखा अधिकृत, असोज २ मा प्रशासन सहायकको रूपमा सृष्टि डंगोल, पुनम श्रेष्ठ, जुनु कार्की, एन्जलिना कायस्थ, रविना श्रेष्ठ, सवारी चालकमा हरिबाबु श्रेष्ठ र कार्यालय सहयोगीमा मिरा अधिकारी नियुक्त भएको देखिन्छ।

आफैँ विवादित छन् आदर्श

आदर्श आफैँ पनि विवादित पृष्ठभूमिका हुन्। कल्याण श्रेष्ठ सर्वोच्च अदालतको प्रधानन्यायाधीश नियुक्त भएपछि उनी कम्प्युटर अपरेटरको आवरणमा सर्वोच्चमा प्रवेश गरे पनि मुख्य काम भने श्रेष्ठको सचिवालयको व्यवस्थापनमा खटिने गरेका थिए।

कल्याणको निकै विश्वासिला श्रेष्ठ सुशीला कार्की प्रधानन्यायाधीश नियुक्त भएपछि पनि उनको सचिवालयको विश्वासिला व्यक्तिको रूपमा काम गरिरहे। जानकारका अनुसार उनको पद कम्प्युटर अपरेटर देखाउने पद मात्रै थियो।

उनी सर्वोच्चमा नायब सुब्बासरहको ‘सफ्टवेयर सपोर्ट पर्सन’ को पदमा करारमा नियुक्त भए पनि प्रधानन्यायाधीश कल्याण र सुशीलाको शक्तिशाली समूहभित्रका सदस्यका रूपमा सक्रिय थिए। कल्याणको समयमा करारमा सर्वोच्च छिरेका उनी निरन्तर कायम रहे।

अदालतमा हुने मुद्दाको चलखेलमा समेत उनको नाम जोडिने गरेको छ। सुशीला कार्की जेनजी आन्दोलनको बलमा प्रधानमन्त्री नियुक्त भएसँगै उनी पनि कार्कीसँगै प्रधानमन्त्री निवास गए। उता मुख्य स्वकीय सचिव नियुक्त भएपछि मात्र उनले सर्वोच्चको करारको पदबाट राजीनामा दिएका थिए।

जेनजीहरुले सम्बन्ध भन्दा पनि क्षमताको आधारमा अवसरको मुद्दा उठाए पनि आदर्श आफैँ पनि क्षमता भन्दा पनि कल्याण र सुशीलासँगको सम्बन्धकै आधारमा प्रधानमन्त्रीको मुख्य स्वकीय सचिव नियुक्त भएको देखिन्छ।

नायब सुब्बा तहमा सर्वोच्चमा प्रवेश गरेका उनी एकाएक सचिवसरहको सुविधासहित प्रधानमन्त्री कार्कीको भित्रिया टिमको सदस्यमा नियुक्त भए। जानकारस्रोतका अनुसार कार्कीले आदर्शलाई नियुक्त गर्नु अगाडि उनको शङ्कास्पद गतिविधिबारे सूचना पुगेको थियो। तर उनले वास्ता गरिनन्।

“आदर्श कल्याण श्रीमानको छोरासरहका निकट व्यक्ति हुन्। उनले अदालतमा विचाराधीन मुद्दामा चलखेल गरेका पर्याप्त सूचनाहरू हुँदाहुँदै पनि सुशीला कार्कीले उनैलाई नियुक्त गर्नु निकै शङ्कास्पद देखिन्छ” आदर्शबारे जानकारस्रोतले उकेरासँग भन्यो।

महान्यायधीवक्ताबारे प्रधानमन्त्री मौन

प्रधानमन्त्री कार्कीले महान्यायाधिवक्ता नियुक्त गरेकी सविता भण्डारीले डिम्ब तस्करीमा संलग्न होप फर्टिलिटी र एन्जलबारे प्रहरीले अनुसन्धान गरेर पर्याप्त प्रमाणसहित मुद्दा चलाउन गरेको सिफारिस उल्टाएकी थिइन्।

सविता निर्देशक र लगानीकर्ता समेत रहेको पुष्टि भइसकेको छ। आफू र आफ्नो आफन्तको लगानी रहेको कम्पनीलाई जोगाउन उनले पदीय अधिकार दुरुपयोग गर्दै पर्याप्त प्रमाण हुँदाहुँदै मुद्दा नचल्ने निर्णय गराएको प्रमाणसहित उकेराले सार्वजनिक गरिरहेको छ। तर सविताबारे प्रधानमन्त्री कार्की पुरै मौन छिन्।

आदर्शबारे सम्बन्धित समाचार

सविताबारे सम्बन्धित समाचार 

मंसिर ८, २०८२ सोमबार १८:१९:३९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।