कांग्रेस नयाँ नीति र नेतृत्वसहित चुनावमा जान्छ : महामन्त्री थापा
काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीमा अब विशेष महाधिवेशनको विकल्प नरहेको बताएका छन्। सामाजिक सञ्जालमार्फत आज उनले विधान बमोजिम समयभित्रै विशेष महाधिवेशन हुने प्रष्ट पारे। विशेष महाधिवेशन हुनेमा अब अलमल नरहेको उनको भनाइ छ।
थापाले सभापति शेरबहादुर देउवाको नेतृत्वमा कांग्रेस अब चुनावमा नजाने ठोकुवा गरे। कांग्रेस नयाँ नीति र नेतृत्वसहित चुनाव लड्ने उनले बताए।
पार्टीले वर्तमान सभापति देउवाकै हस्ताक्षरमा चुनाव लड्ने भएको हो भन्ने जिज्ञासाको जवाफमा थापाले भनेका छन्, 'अब विधान बमोजिम समयभित्रै विशेष महाधिवेशन हुन्छ। त्यहीँबाट नयाँ सभापतिको निर्वाचन हुन्छ। नयाँ सभापतिको हस्ताक्षरसहित निर्णय सच्चिएर निर्वाचन आयोगमा जान्छ।'
उनले पार्टीलाई पुनर्जागृत गर्न र नयाँ एजेन्डा स्थापित गर्नका लागि नै निर्वाचन अगाडि महाधिवेशनको माग गरिएको प्रष्ट्याए। कार्यकर्ताहरूलाई अलमलमा नपर्न आग्रह गर्दै महामन्त्री थापाले भनेका छन्, 'अब विशेष महाधिवेशनको विकल्प छैन। कुरा स्पष्ट छ, अलमलमा नपरौं।'
मंसिर ८, २०८२ सोमबार १४:३७:५३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।