बजार जान्छु भनेर हिँडेका रामेछापका सुब्बा पाण्डे भिरमा मृत फेला

बजार जान्छु भनेर हिँडेका रामेछापका सुब्बा पाण्डे भिरमा मृत फेला

रामेछाप : रामेछापको उमाकुण्ड गाउँपालिकामा भिरबाट लडेर एक युवकको मृत्यु भएको छ।

जिल्लाको उमाकुण्ड गाउँपालिका-२, मुलखर्क बस्ने २९ वर्षीय सुब्बा पाण्डे घर नजिकैको भिरमा मृत अवस्थामा फेला परेका हुन्।

प्रहरीका अनुसार पाण्डे मंसिर ६ गते बेलुका ४ बजेतिर घरबाट बजार जान्छु भन्दै हिँडेका थिए। राति अबेरसम्म पनि घर नफर्किएपछि परिवारले उनको खोजी सुरु गरेको थियो।

छोरा घर नआएपछि खोजीमा निस्किएका उनका बुबाले मंसिर ७ गते बिहान साढे १० बजेतिर घरभन्दा करिब ५०० मिटर टाढा रहेको रेलिङमोड भिरबाट १५-२० मिटर तल खसेको अवस्थामा मृत फेला पारेका थिए।

घटनाको जानकारी पाएलगत्तै प्रहरी चौकी बाम्तीबाट खटिएको प्रहरी टोली घटनास्थल पुगेको थियो। घटनास्थल प्रहरी चौकीबाट करिब ५ किलोमिटर पश्चिममा पर्दछ।

प्रहरीले घटनास्थलको मुचुल्का लगायतका कानुनी प्रक्रिया पूरा गरी शवलाई पोस्टमार्टमका लागि सोही दिन साँझ जिरी अस्पताल पठाएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ।

मंसिर ८, २०८२ सोमबार १०:२१:२१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।