किसान हाइब्रिडतर्फ रत्तिएपछि लुम्बिनीका खेतबाट हराए रैथाने धानको सुगन्ध

किसान हाइब्रिडतर्फ रत्तिएपछि लुम्बिनीका खेतबाट हराए रैथाने धानको सुगन्ध

बुटवल : कुनै समय लुम्बिनी प्रदेशका फाँटहरूमा मंसिर लाग्नासाथ एक प्रकारको मगमग बास्ना चल्थ्यो। खेतमा लहलह झुलेका धानका बालाहरूले केवल किसानको भकारी मात्र भरिँदैनथ्यो, भान्सामा पाक्दा छिमेकीको घरसम्म बास्ना पुग्थ्यो।

तर, पछिल्लो समय लुम्बिनीका खेतहरूबाट त्यो रैथाने सुगन्ध हराउँदै गएको छ। बढ्दो जनसंख्या र उत्पादन बढाउने होडमा रैथाने धानका जातहरू अहिले लोप हुने संघारमा पुगेका छन्।

लुम्बिनी प्रदेशको पहिचान बोकेका आँपझोते, झिनुवा, कालानमक, गोपालभोग, घिउपुरी, तिल्की, ढलुवा, सिम्थारो, सेतो अनदी र हंशराजजस्ता रैथाने धानका नाम अब नयाँ पुस्ताका लागि एकादेशको कथाजस्तै बन्न थालेका छन्।

बजारमा यी चामलको माग र मूल्य उच्च भए पनि उत्पादन कम हुने भएकाले किसानहरू उन्नत र हाइब्रिड (वर्णशंकर) जाततर्फ आकर्षित भएका हुन्।

हराए रैथाने धान
प्रदेशका विभिन्न जिल्लामा फल्ने विशिष्ट पहिचान बोकेका धानहरूको अवस्था अहिले दयनीय छ।

गुल्मीको कालीगण्डकी र सत्यवती क्षेत्रको मुख्य बाली मानिने ‘आँपझोते’ धान अहिले मुस्किलले ६ हेक्टर क्षेत्रफलमा सीमित भएको छ। प्रदेश कृषि निर्देशनालयका अनुसार, यसको उत्पादकत्व प्रतिहेक्टर ३ मेट्रिक टनको हाराहारीमा मात्र सीमित भएपछि किसानले यसको विकल्प खोजेका हुन्।

समुद्र सतहबाट ८ सयदेखि १ हजार २ सय मिटर उचाइमा फल्ने ‘झिनुवा’ धानको उत्पादन पाल्पा, अर्घाखाँची र प्युठानमा निकै घटेको छ। अहिले यो धान कति क्षेत्रफलमा लगाइएको छ भन्ने यकिन तथ्यांकसमेत सरकारसँग छैन।

‘बुद्धको उपहार’ मानिने र विशेषगरी खिर तथा बिरयानीका लागि प्रख्यात ‘कालानमक’ कपिलवस्तु, रूपन्देही र नवलपरासीको गौरव हो। दाना मसिनो, कालो र स्वादमा बेजोड भए पनि यो धान लोप हुने क्रममा छ। कपिलवस्तुमा ७४ हेक्टरमा खुम्चिएको यो धान पाक्न लामो समय लाग्ने र धेरै पानी चाहिने भएकाले किसानहरू निराश बनेका छन्।

तराईका जिल्लाहरूमा फल्ने ‘गोपालभोग’ धानको समस्या अलि फरक छ। अन्य धान पाकेर काटिसक्दा पनि यो खेतमै हुने भएकाले पतेरो, गवारो र होपरजस्ता किराको आक्रमण सबै यही धानमा केन्द्रित हुन्छ। महँगो मूल्य (प्रतिकेजी १८० देखि २०० रुपैयाँ) पर्ने भए पनि जोखिम मोल्न नचाहेर किसानहरू पछि हटेका छन्।

दाङ उपत्यकाको ‘तिल्की’ धान करिब १५० हेक्टरमा र गुल्मीका खोला किनारमा फल्ने ‘हंशराज’ ५० हेक्टरमा खुम्चिएका छन्। यद्यपि, दाङको घोराहीमा स्थानीय कृषक समूहले तिल्कीको संरक्षणमा केही पहल भने थालेका छन्।

बर्दियाको घिउपुरी, पाल्पाको ढलुवा तथा विभिन्न जिल्लामा पाइने अनदी र सिम्थारो जातका धानहरू पनि अब फाट्टफुट्ट मात्र देख्न पाइन्छ।

फेरियो किसानको रोजाइ
रैथाने धान विस्थापित हुनुमा मुख्य कारण ‘उत्पादकत्व’ र ‘समय’ हो। कृषि विकास निर्देशनालयका वरिष्ठ बाली संरक्षण अधिकृत मिलन गैरेका अनुसार रैथाने जातहरू पाक्न लामो समय लाग्छ, जसले गर्दा हिउँदे बाली लगाउन ढिलो हुन्छ। साथै, रैथाने धानमा रोग र किराको प्रकोप बढी देखिने तर उत्पादन कम हुने समस्या छ।

रूपन्देहीको तिलोत्तमा-१३ का किसान अर्जुन पासवानको भनाइले यो यथार्थलाई प्रस्ट पार्छ। उनी भन्छन्, ‘रैथाने धान खेती गर्दा उत्पादन कम भयो, परिवार पाल्नै धौ-धौ। त्यसैले ६ बिघा खेतमा अहिले राम धान र राधा-४ लगाएको छु।’

अहिले किसानहरू हर्दिनाथ-६, साँवा मन्सुली, राधा-४, सावित्रीजस्ता उन्नत जात र युएस-३१२, युएस-३२३ जस्ता आयातीत हाइब्रिड धानमा निर्भर हुन थालेका छन्।

संरक्षणको प्रयास र चुनौती
जैविक विविधता र खाद्य सुरक्षाका दृष्टिकोणले रैथाने बालीको संरक्षण अपरिहार्य छ। बजारमा उच्च मूल्य र स्वास्थ्यका लागि फाइदाजनक भए पनि सरकारी स्तरबाट ठोस प्रोत्साहनको अभाव देखिन्छ।

संरक्षण अधिकृत गैरेका अनुसार, रैथाने धान जोगाउन अब परम्परागत तरिका मात्र पर्याप्त छैन। रैथाने जातको ‘जेनेटिक’ गुण प्रयोग गरी रोग प्रतिरोधी, छिटो पाक्ने र बढी उत्पादन दिने जातको विकास गर्नुपर्ने आवश्यकता छ। प्रदेश सरकारले योजनाबद्ध रूपमा किसानलाई प्रोत्साहन प्याकेज नल्याए यी धानहरू केही वर्षमै लोप हुने निश्चित छ।

लुम्बिनी प्रदेशमा हाल ३ लाख १ हजार ८०९ हेक्टर क्षेत्रफलमा धान खेती गरिन्छ। यहाँको औषत उत्पादकत्व ३.८ मेट्रिक टन प्रतिहेक्टर छ। प्रदेशमा वार्षिक करिब साढे ११ लाख मेट्रिक टन धान उत्पादन हुन्छ, जसमा कपिलवस्तु र रूपन्देहीको हिस्सा सबैभन्दा बढी (करिब ४३ प्रतिशत) छ।

धान लुम्बिनी प्रदेशको मुख्य खाद्यान्न बाली हो, जसले कुल खाद्यान्न उत्पादनको ६५ प्रतिशत हिस्सा ओगटेको छ। तर, यो विशाल उत्पादनको हिस्साभित्र हाम्रा मौलिक र रैथाने धानको हिस्सा भने नगण्य बन्दै जानु चिन्ताको विषय हो।

मंसिर ८, २०८२ सोमबार ०८:३९:५३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।