जेनजी आन्दोलनमा जलेका सवारीसाधन वापत नयाँ किन्न तीन सुरक्षा संगठनलाई अर्ब हाराहारीको बजेट
काठमाडौँ : जेनजी आन्दोलनकोक्रममा नेपाल प्रहरी, सशस्त्र र राष्ट्रिय अनुसन्धान विभागका जलाइएका सवारीसाधन किन्न गृह मन्त्रालयले प्रक्रिया अगाडि बढाएको छ। मन्त्रालयले आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनलाई समेत लक्षित गरेर तीनै सुरक्षा संगठनलाई आवश्यक सवारी साधन किन्ने आवश्यक बजेट दिने प्रक्रिया अन्तिम चरणमा पुर्याएको छ।
मन्त्रालयका अनुसार अर्थ मन्त्रालयबाट नेपाल प्रहरीका लागि नियमित बजेटमार्फत १ सय ५६ सवारीसाधन किन्न ३५ करोड ११ लाख स्वीकृत भएको छ। अतिरिक्त १ सय ६ सवारीसाधन किन्न ४५ करोड ३० लाख थप स्रोत अनुमतिसमेत उपलब्ध भइसकेको मन्त्रालयले जनाएको छ। नेपाल प्रहरीले चालु आर्थिक वर्षमा ८० करोड ४१ लाख बराबरका सवारीसाधन किन्ने तयारी छ।
नियमित बजेटबाट किन्ने १ सय ५६ सवारीसाधनमध्ये ७५ पिकअप भ्यान (नियमित गस्तीका लागि), एउटा प्रिजनर भ्यान, २८ वटा कार्यालय प्रयोजनका सवारीसाधन, ४१ वटा विद्युतीय सवारीसाधन तथा १० वटा एस्कर्ट पिकअप भ्यान रहेको छ। जेनजी आन्दोलनको बेलामा प्रहरीको ५ सय ७१ वटा विभिन्न किसिमका प्रहरी सवारीसाधनमा क्षति पुगेको थियो।
अर्थ मन्त्रालयले सशस्त्र प्रहरीका लागि ५९ सवारीसाधन किन्न स्रोत अनुमति दिएको छ। त्यसमा तीनवटा विपद् उद्धारका सवारीसाधन, ५० बोलेरो पिकअप भ्यान, तीनवटा दङ्गा नियन्त्रण ट्रक तथा दुईवटा एम्बुलेन्स रहेको मन्त्रालयले जनाएको छ। जेनजी आन्दोलनका क्रममा सशस्त्रका ८४ कार्यालयमा क्षति पुगेको थियो भने ६१ सवारीसाधन पूर्ण रूपमा नष्ट भएका थिए।
राष्ट्रिय अनुसन्धान विभागका लागि ६ वटा चारपाङ्ग्रे सवारीसाधन किन्न दुई करोड ८० लाख स्रोत अनुमति प्राप्त भएको मन्त्रालयले जनाएको छ। विभागअन्तर्गत दुई भवन तथा तीन जिल्ला कार्यालयका भवनमा क्षति पुगेको थियो। ११ चारपाङ्ग्रे तथा ३० मोटरसाइकलमा क्षति पुगेको थियो।
मंसिर ७, २०८२ आइतबार २२:०५:१८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।