मध्यरात समातिएका प्रसाईँलाई छाड्न सर्वोच्चको आदेश

मध्यरात समातिएका प्रसाईँलाई छाड्न सर्वोच्चको आदेश

काठमाडौँ : मध्यरात घरबाटै पक्राउ परेका दुर्गा प्रसाईँलाई थुनामुक्त गर्न  सर्वोच्च अदालतले आदेश दिएको छ। आइतबार न्यायाधीशद्वय नहकुल सुवेदी र श्रीकान्त पौडेलको संयुक्त इजलासले प्रसाईँका छोरा नीराजन प्रसाईँले दायर गरेको बन्दी प्रत्यक्षीकरणसम्बन्धी रिटमा प्रसाईँलाई तत्काल थुनामुक्त गर्न आदेश गरेको हो। 

अदालतले अभिव्यक्तिका कारण मात्र प्रसाईँलाई थुनामा राखिनु संविधानप्रदत्त अभिव्यक्ति स्वतन्त्रताको उल्लङ्घन हुने उल्लेख गरेको छ। शनिवार सरकारसँग महाअभियानले सञ्चालन गर्ने कार्यक्रम शान्तिपूर्ण रूपमा गर्न सहमति भइसकेकाले बदलिएको परिस्थितिमा प्रसाईँमाथि लगाइएको कसुरमा थप तहकिकात वा हिरासत आवश्यक नपर्ने ठहर गर्दै जारी गरिएको पक्राउ पुर्जी तथा म्याद थपका प्रक्रियाहरू बदर गरिएको आदेशमा उल्लेख छ।

प्रसाईँलाई सार्वजनिक शान्तिमा खलल पुर्याउने अभिव्यक्ति दिएको आरोपमा प्रहरीले मङ्सिर २ गते मध्यरात भक्तपुरस्थित घरबाट पक्राउ गरेको थियो। महाअभियानले ७ मङ्सिरदेखि नेपाल बन्दसहितका आन्दोलनका कार्यक्रम घोषणा गरेको थियो, तर शनिवार सरकारसँग भएको सहमतिअनुसार आन्दोलनका सबै कार्यक्रम फिर्ता भइसकेको छ।

मंसिर ७, २०८२ आइतबार २१:५१:१३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।