प्रलोपामार्फत कम्युनिस्ट विचारधारामा फर्किए डा बाबुराम, नयाँ दलमा माओवादीकै विचारको दबदबा

प्रलोपामार्फत कम्युनिस्ट विचारधारामा फर्किए डा बाबुराम, नयाँ दलमा माओवादीकै विचारको दबदबा

काठमाडौं : तत्कालीन माओवादी पार्टी छाड्दा कम्युनिस्ट विचारधारा त्यागेको घोषणा गरेका डा बाबुराम भट्टराई प्रगतिशील लोकतान्त्रिक पार्टीमार्फत पून कम्युनिस्ट विचारधारामै फर्किएका छन्। माओवादी केन्द्र लगायतका दलहरू नेपाली कम्युनिस्ट पार्टीमा विलय भएसँगै बाहिरिएका जनार्दन शर्मासहितको समूह मिलेर बनेको नयाँ दलले ‘परिष्कृत मार्क्सवाद सहितको नेपाली समाजवाद’ लाई आफ्नो मूल विचार बनाएसँगै डा बाबुराम पून कम्युनिस्ट विचारधारामा फर्किएका हुन्।

माओवादी त्यागेर नयाँ शक्ति बनाउँदा डा बाबुरामले अब आफू कम्युनिस्ट नरहेको भन्दै माओवादीको विपक्षमा आफ्ना धारणाहरू राख्दै आएका थिए। उनले मुखले कम्युनिस्ट रहिन भने पनि उनको विचार भने कम्युनिस्ट लाइनकै आउने गरेको थियो। आइतबार प्रगतिशील लोकतान्त्रिक पार्टीको घोषणा  सभामा जनार्दन शर्माले पेस गरेको राजनीतिक दस्ताबेजमा पार्टीको मूल लाइन परिष्कृत मार्क्सवाद उल्लेख छ।

जनार्दन शर्माले कार्यक्रममा पुरै कम्युनिस्ट शैलीको विभिन्न वादहरू समेटिएको दस्ताबेज सार्वजनिक गरे। दस्ताबेजमा परिवर्तन बाहेक सबै परिवर्तनशील छन् भन्ने बुद्ध दर्शनलाई आत्मसात् गर्ने, मार्क्सको समयको पहिलो औद्योगिक क्रान्तिकालको भौतिक विज्ञान र मानवशास्त्रमा आधारित द्वन्द्वात्मक र ऐतिहासिक भौतिकवादभन्दा अघि बढेको अहिलेको चौथो र पाँचौँ औद्योगिक क्रान्ति कालसम्मको सापेक्षतालाई स्वीकार गरेको उल्लेख छ।

त्यसमा क्वान्टम सिद्धान्त, जेनेटिक्स र कृत्रिम बौद्धिकता लगायतका ज्ञानविज्ञानले परिष्कृत मार्क्सवादी द्वन्द्वात्मक ऐतिहासिक भौतिकवादमा आधारित विकसित विज्ञानमा आधारित समाज विकासको नविनतम् सिद्धान्त अनुरूपको नेपाली समाजवाद पार्टीको मार्ग निर्देशक सिद्धान्त/दार्शनिक आधार हुने घोषणा गरे।

दस्ताबेजमा दर्शन, विचार, सिद्धान्तलाई निरन्तर पुनर्परिभाषित, पुन:सश्लेषण, समृद्धीकरण गर्दै जानुपर्ने र एक्काइसौँ शताब्दीका अन्तर्विरोधलाई अठारौँ वा उन्नाइसौँ, बिसौँ शताब्दीका विचार-विधिले हल गर्न खोज्नु र समाधान नभएपछि मध्ययुगीन वा प्राचीन अप्रमाणित विचारतिर फर्कन र फर्काउन खोज्नु वर्तमान विश्व राजनीतिको कमजोरी उल्लेख छ।

उत्तर पुँजीवाद’ र ‘उत्तर राज्यसमाजवाद’ को युग भएकाले राजनीतिक प्रणाली र अर्थतन्त्रको ढाँचामा नयाँ मोडेलको खोजी र विकास गर्नुपर्ने दस्ताबेजमा उल्लेख छ। दस्ताबेजमा पार्टीभित्र प्रत्यक्ष लोकतन्त्रको अभ्यास गर्ने उल्लेख छ।नेता वा प्रतिनिधि छान्ने, उम्मेदवार छनौट गर्ने सबै जिम्मेवारी सम्बन्धित कमिटीलाई हुने, जनसंख्या र भूगोलको आधारमा प्रतिनिधित्व र सहभागिता सुनिश्चित गरिने दस्ताबेजमा उल्लेख छ।

मूल नारा नेपालको माटो हाम्रो बाटो राखिएको दस्ताबेजमा नेपाली कांग्रेस ४५ वर्ष, एमाले ३६ वर्ष र माओवादीले १७ वर्ष सरकार चलाउने वा सत्ताको वरपर रहे पनि देशको विकासको मुख्य समस्याका रूपमा रहेको सामाजिक उत्पिडन, जातीय, क्षेत्रीय, लैङ्गिक र वर्गीय विभेदको सम्बोधन गर्न दलहरू असफल भएको उल्लेख छ।

नीतिगत र प्रणालीको पुनर्संरचना गर्नुको साटो विकृत संरचनाको उपयोग गर्दै मुलुकलाई थप बरबादीतर्फ धकेलेको, भ्रष्टाचार, नातावाद, कृपावाद, दण्डहीनता र सबै क्षेत्रमा राजनीतिकरण गरेर राज्यका संस्था र प्रणालीलाई थप निकम्मा बनाएको दस्ताबेजमा उल्लेख छ।

मंसिर ७, २०८२ आइतबार १६:४६:४७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।