सम्पादकीय : वचनमा पक्का कि ढोंगी ! इतिहास के लेखाउने कार्कीकै इच्छा
संकटको समयमा सुशीला कार्की प्रधानमन्त्री बन्नुको मुख्य पृष्ठभूमि पूर्व प्रधानन्यायाधीशको रूपमा विधिको शासन, जवाफदेहिता र भ्रष्टाचार विरोधी अभियानमा उनको क्रियाशीलता नै हो।
यी नै माग बोकेर सडकमा आएका जेनजी पुस्ताको प्रदर्शन अनपेक्षितरूपमा दमन र हिंसामा बदलिएपछि सडकमा आएर हत्यारा सरकार भन्दै उनले दिएको अभिव्यक्तिबाट पाएको जेनजीकी आमाको उपमाले नै वयोवृद्ध उमेर भए पनि उनको विधिको शासनप्रतिको अभिव्यक्ति, कम विवादित छवि र सार्वजनिक जीवनमा देखिएको बलियो आर्थिक अनुशासनको व्यवहारले उनी जेनजीको रोजाइमा परिन्।
उनी निकट केही व्यक्ति, उनले आफ्नो सचिवालयमा राखेका केही व्यक्तिको विवादित र शंकास्पद पृष्ठभूमि भए पनि उनको कानुनप्रतिको निष्ठा र पदमा रहँदाको आर्थिक अनुशासनका कारण जेनजीको रोजाइलाई समाजले सहजरूपमा स्वीकार गर्यो। जेनजीमाझ मात्र हैन समाजले पनि उनलाई प्रधानमन्त्रीमा स्वीकार गर्यो।
निर्णायक तहमा रहेकाहरूले चाहेमा पाँच दिनमा भ्रष्टाचार निर्मूल गर्न सक्ने अभिव्यक्ति दिए पनि तीन महिना प्रधानमन्त्री बनिसक्दा नतिजा नआउँदा आवेगमा दिएको अभिव्यक्ति भन्दै उनीबाट उनको नेतृत्व कालमा निर्वाचनबाट सत्ता हस्तान्तरण र शासन र प्रशासनमा विधिको शासनको अपेक्षा गर्ने समूह ठूलै छ।
तर उनले प्रधानमन्त्रीको रूपमा आफ्नो कानुनी सल्लाहकारको रूपमा चयन गरेकी महान्यायाधिवक्ता सविता भण्डारीको आफू र आफ्नालाई कानुनी परीक्षणबाट जोगाउन गरेको बदनियतपूर्ण निर्णयप्रतिको मौनताले उनको कार्कीको बाहिरी छवि र नियत ठूलो प्रश्नको घेरामा परेको छ।
केपी ओली, शेरबहादुर देउवा, पुष्पकमल दाहाल प्रचण्ड लगायतका नेताहरूको विधि बाहिरको गतिविधि, भ्रष्ट चरित्र अनि जे गरे पनि आफ्नालाई सधैँ जोगाउने कानुनीराज विपरीतका गतिविधिको परिणाम जेनजीको विद्रोहको कारण हो भन्ने बहसको विषय रहेन।
सविताले गरेको पदीय दुरुपयोगमा कार्कीको मौनताले उनी पनि ती नेताभन्दा फरक रैनछिन् भन्ने छोटो शासनकालमै देखिनु विधिको शासन र जवाफदेही सरकारको पक्षधरका लागि पाच्य विषय पक्कै हैन।
कानुन व्यवसायीको रूपमा सविताले निभाएको भूमिकालाई हेर्ने हो भने उनमा असलपन देखिन्न। आफ्नो पक्षकालाई मुद्दा जिताउन शंकास्पद प्रमाण निर्माण, पीडितलाई होस्टायल बनाएर प्रत्यक्षरूपमा मुद्दा प्रभावित पार्ने र आफ्ना बाबु कृष्णप्रसाद भण्डारीको असल छविको उपयोग मुद्दा प्रभावित पार्नमा उपयोग गरेका घटना टन्नै छन्।
तै पनि उनी जेनजी सरकारको महान्यायाधिवक्ता बनिन्। उनले अधिवक्ताको रूपमा गरेको गतिविधिको जवाफदेही उनी आफै हुनेमा विवाद रहेन। त्यसको भारी सुशीला कार्कीले बोक्नु पर्दैन।
तर महान्यायाधिवक्ताको रूपमा उनले गर्ने सुकाम र कुकामको भागभोगबाट कार्की अलग हुन सक्दिनन्। त्यसैले १८ वर्ष कम उमेरका जेनजी पुस्ताका किशोरीलाई आर्थिक प्रलोभनमा पारेर गरिएको डिम्ब तस्करीमा आफ्नो कम्पनी र आफ्नो परिवारको सदस्य जोगाउन सविताले गरेको पदीय दुरुपयोगको जिम्मेवार कार्की पनि हुन्।
महान्यायाधिवक्ताको रूपमा सविताले जे निर्णय गरेकी छिन्, त्यो कानुनी अभ्यासको प्रथम दृष्टिमा बदनियतपूर्ण छ। उनी यो मुद्दामा जोडिनु अगाडि नै प्रतिवादीको कानुनी सहयोगी भएका आधारमा मात्र हैन, पर्याप्त प्रमाण र होप फर्टिलिटीले गरेको गतिविधिलाई दण्डनीय करार गर्ने कानुनले समेत यो निर्णय विधिसम्मत र कानुनको दायरामा बसेर गरेको हैन भन्ने प्रष्ट देखिन्छ।
आफै होप फर्टिलिटीको लगानीकर्ता हुनु, निर्देशकको रूपमा प्रशासनिक जिम्मेवारीमा रहनु, सञ्चालकमा आफ्नै आफन्त हुनु यो मुद्दा नचल्ने निर्णयको मुख्य कारण हुन् भन्ने प्रष्ट छ।
महान्यायाधिवक्ताको कार्यालयले मुद्दा नचल्ने निर्णय लिन लिएको आधार र मुद्दा चलाउन प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले प्रस्तावित रायमा टेकेको आधार हेर्ने हो भने पनि सविताले विधि र कानुन हैन आफू संलग्न कम्पनी र आफन्तलाई जोगाउन महान्यायाधिवक्ताको पदको दुरुपयोग गरेको प्रष्ट हुन्छ।
तर प्रधानमन्त्री कार्की प्रतिक्रियाहीन छिन्, यती गम्भीर मुद्दामा पनि। ती पीडित किशोरीको परिवारले न्याय पाउनु पर्छ, महान्यायाधिवक्ता सविता संलग्न कम्पनीमाथि लागेको गम्भीर अभियोग प्रशासनिक प्रक्रियाबाट हैन, न्यायिक प्रक्रियाबाट अदालतबाट छिनोफानो हुनुपर्ने पक्षमा उभिनु पर्ने कार्की सविताको बदनियतपुर्ण निर्णयको संरक्षक बनेर बसेकी छिन्।
यसमा जेनजी पुस्ताको लिडर दाबी गर्नेहरूको मौनता पनि उस्तै उदेक लाग्दो छ। विधिको शासन र जवाफदेही सरकार माग्दै सडकमा आएर सत्ता पटल गराएका उनीहरू सविता र सविताको संरक्षक कार्कीको बदनियतपूर्ण काममा मौन छन्।
दलले जति खराब काम गरे पनि साथ र समर्थन गरेको आधारमा दलका शुभेच्छुक अनि समर्थकलाई झोले भन्ने जेनजी पुस्ता सविता र कार्कीको बदनियतमा मौन बसेर आफूहरूलाई त्यही दलका झोलेको कित्तामा पुर्याएका छन्, छोटो समयमै।
सत्ता स्थायी शक्ति हैन। अझ कार्कीको हकमा त निर्वाचन गराएर सफल हस्तान्तरण गरेर सम्मानजनक रूपमा बाहिरिने कि निर्वाचन गर्न नसकेर अक्षम भएर बाहिरिने दुई विकल्प मात्र छ।
जब उनी सत्ताबाट बाहिरिने छिन् उनको कार्यकालको जवाफदेहिता, पारदर्शिता र भ्रष्टाचार विरोधी छविको लेखाजोखा हुने नै छ। उनी आफ्नो महान्यायाधिवक्ताको गम्भीर पदीय दुरुपयोगबारे यसरी मौनै बसेर सत्ताबाट बाहिरिए जीवनकालमा मात्र हैन जीवनकालपछि पनि नेपालको पहिलो प्रधानमन्त्री मात्र हैन बोल्ने एक, गर्ने अनेक ढोंगी र जवाफहीन प्रधानमन्त्रीको इतिहास सुरक्षित हुने निश्चित छ।
इतिहास के लेखाउने कार्कीकै इच्छा।
मंसिर ७, २०८२ आइतबार १५:०९:११ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।