महेश बस्नेत चढेको गाडीमा ‘बेलुन अट्याक’, दुई युवा प्रहरीको नियन्त्रणमा

महेश बस्नेत चढेको गाडीमा ‘बेलुन अट्याक’, दुई युवा प्रहरीको नियन्त्रणमा

विराटनगर : एमाले नेता महेश बस्नेत चढेको गाडीमा विराटनगरमा रातो मसी (अबिर मिसिएको पानी) छ्यापिएको छ। विराटनगर विमानस्थल परिसरबाट बाहिरिने क्रममा आज उनी चढेको गाडीमा रातो मसी भरिएको बेलुन प्रहार भएको हो।

घटनापछि सुरक्षाकर्मीहरूले तत्काल दुई युवालाई नियन्त्रणमा लिएर अवस्था सामान्य पारेको मोरङ प्रहरीले जनाएको छ। पक्राउ परेका युवाहरू विराटनगर- २ का १९ वर्षीय अर्पित कुँवर र विराटनगर- १ का २५ वर्षीय संयोग गौतम रहेको प्रहरीले पुष्टि गरेको छ।

बस्नेत इटहरीमा आज आयोजित युवा संघ कोशी प्रदेशस्तरीय जनजागरण अभियानमा सहभागी हुन विराटनगर विमानस्थलमा आइपुगेका हुन्। घटनापछि विमानस्थल तथा इटहरीस्थित कार्यक्रम स्थल दुवै ठाउँमा सुरक्षा व्यवस्था कडा बनाइएको छ। बस्नेत भने आफ्नो तोकिएको कार्यक्रमका लागि इटहरीतर्फ प्रस्थान गरिसकेका छन्।

मंसिर ७, २०८२ आइतबार १३:५३:३१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।