विपद्का घटना बढेपछि प्राधिकरणको आग्रह : 'सावधानी अपनाउनुस्'

विपद्का घटना बढेपछि प्राधिकरणको आग्रह : 'सावधानी अपनाउनुस्'

काठमाडौं : राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार ६ मङ्सिरमा देशभर १८ विपद्का घटना भए। त्यसमा आगलागीका मात्र १५ घटना थिए। उदयपुर, रौतहट, बारा, काठमाडौं र कपिलवस्तुमा आगलागीका दुई-दुई वटा घटना घटेका छन्।

मकवानपुर, चितवन, कास्की र कैलालीमा आगलागीका कारण ठूलो मात्रामा भौतिक सम्पत्तिको क्षति भयो। सो दिन मनाङको नासो गापा-१ तालडाँडास्थित बेँसीसहर-चामे सडक खण्डमा माथिबाट सुक्खा पहिरो खसी बाटो दुवैतर्फ अवरोध भयो। धनुषा र डडेल्धुरामा सर्प दंशका घटना भयो। विपद्का कारण दुई जना घाइते भए भने अनुमानित क्षति ५३ लाख सात हजार ५५० बराबर भयो।

त्यसैगरी, मङ्सिर ५ गते देशभर १९ वटा विपद्का घटना हुँदा १५ वटा आगलागीका थिए। त्यस दिन सुनसरी र पर्सामा दुई-दुई वटा आगलागीका घटना भएका थिए। प्राधिकरणका अनुसार झापा, पाँचथर, सुनसरी, खोटाङ, उदयपुर, सर्लाही, रौतहट, बारा, लमजुङ, पर्वत, नवलपरासीपूर्व र पाल्पामा आगलागी हुँदा भौतिक सम्पत्तिको क्षति भयो।  त्यस दिन पाल्पाको रिब्दीकोट-३ मा सुक्खा पहिरो खस्दा बाटो पूर्णरूपमा अवरोध भएको थियो। सप्तरी, चितवन र मुगुमा जनावर आक्रमणका कारण घाइते भएकालाई उपचारका लागि नजिकैको अस्पताल पुर्याइयो।

प्राधिकरणका अनुसार मङ्सिर ४ गते देशभर २० विपद्का घटना हुँदा आगलागीका मात्र १३ वटा थिए। एकै दिन रुपन्देही र कास्कीमा तीन-तीन वटा आगलागीका घटना भए। झापामा दुई, मोरङ, सुनसरी, सिरहा, बारा, दाङमा आगलागीका कारण भौतिक क्षति भयो। विपद्का घटनामा परेर त्यस दिन ११ जना घाइते हुँदा अनुमानित क्षति १३ लाख ६५ हजार बराबर भयो। त्यस दिन जनावर आक्रमणका पाँच घटना भए। झापा, मोरङ, धनुषा, बझाङ र अछाममा जनावर आक्रमणका घटना घटेका थिए।

त्यस्तै, मङ्सिर ३ गते देशव्यापीरूपमा १६ विपद्का घटना घटेका थिए। त्यसमा आगलागीका मात्रै १२ घटना थिए। लेक लाग्ने तीन र जनावर आक्रमणका एक घटना घटेका थिए। विपद्का कारण दुई करोड ७६ लाख ३१ हजार बराबरको क्षति भयो। प्राधिकरणको विवरणअनुसार मङ्सिर २ गते कुल १७ विपद्का घटना हुँदा आगलागीका १३ घटना भए। कञ्चनपुर, सुनसरीमा मात्रै दुई दुई वटा आगलागीका घटना भए। त्यस दिन झापा, उदयपुर, सप्तरी, सिरहा, तनहुँ, नवलपरासीपूर्व, रुपन्देही र अछाममा आगलागी भएको थियो। लेक लाग्नु, सर्पदंश, जनावर आक्रमणका एक-एक घटना भएका थिए। त्यस दिन विपद्मा परेर पाँच जना घाइते भए भने ३१ लाख १४ हजार बराबरको भौतिक क्षति भयो।

त्यसैगरी, मङ्सिर १ गते कुल १० विपद्का घटना घटेकामा सबै आगलागीका थिए। आगलागीमा परेर दुई जना घाइते भए भने १४ लाख ९३ हजार बराबरको धनमाल जलेर नष्ट भएको थियो। प्राधिकरणको यो विवरणअनुसार कतिपय आगजनी असावधानीका कारण भएको छ भने कतिपय अवस्थामा विद्युत् सर्ट भएको छ।

जनचेतनाको अभाव एवं लापरबाहीका कारण आगजनी हुँदा ठूलो क्षति हुन पुगेको छ। प्राधिकरणले आगो बाल्दा र ज्वलनशील पदार्थ चलाउँदा सावधानी अपनाउन आग्रह गरेको छ। सामान्य सावधानी अपनाउँदा पनि ठूलो मेहेनतले सृजना गरेको भौतिक सम्पत्ति जोगाउन सकिने भन्दै प्राधिकरणले सबैलाई पूर्वसतर्कता अपनाउन आग्रह गरेको छ।

मंसिर ७, २०८२ आइतबार ०८:४१:१७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।