प्रसाईँ समूहले फिर्ता लियो बन्द/हड्ताल, प्रधानमन्त्रीको राजनीतिक सल्लाहकारसँग सहमति
काठमाडौं : सरकारले कडा व्यवहार देखाएपछि दुर्गा प्रसाईँ नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति बचाउ अभियानले आइतबारबाट घोषणा गरेको आन्दोलनको सबै कार्यक्रम फिर्ता लिएको छ। प्रसाईँ अहिले प्रहरी हिरासतमा छन्। उनको समूहले आमहड्तालसहितको आन्दोलनको कार्यक्रम घोषणा गरेको थियो।
आइतबार सो समूह सरकारसँग वार्ता गर्न बालुवाटारमा गएको थियो। तर प्रधानमन्त्रीको सट्टा प्रधानमन्त्रीको राजनीतिक सल्लाहकार अजयभद्र खनालले समूहसँग वार्ता गरे। वार्तामा गृहमन्त्री ओमप्रकाश अर्याल र प्रधानमन्त्रीका सल्लाहकार गोविन्दनारायण तिमिल्सिना समेत थिए।
वार्तामा महाअभियानले उठाएका २७ बुँदे मागहरूका सन्दर्भमा विस्तृत छलफल भएको र वर्तमान शान्ति सुरक्षाको अवस्थासमेतलाई ध्यानमा राखी नागरिक बचाउ महाअभियानले उठाएका मुद्दाहरूको सम्बोधनका लागि सरकारले निरन्तर छलफल, वार्ता र सहजीकरण गर्दै जाने सहमति भएको सार्वजनिक भएको सहमति पत्रमा उल्लेख छ।
महाअभियानले २०८२ मंसिर ७ गतेबाट हुने गरी घोषणा गरेको नेपाल बन्द, अनिश्चितकालीन आम हड्ताल लगायतका कार्यक्रम फिर्ता लिएको उल्लेख छ। वार्तामा प्रसाईँको तर्फबाट सचिव प्रेमदीप लिम्बुसहित विनोदमणि भट्टराई, लवण न्यौपाने र डा नीराजन प्रसाईँ संलग्न थिए।
मंसिर ६, २०८२ शनिबार २२:५५:४८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।