डा. रञ्जितको उपचार अनुभव: आँखाको ज्योति फर्किएपछि श्रीमानलाई हेर्दै ६० वर्षकी आमैले भनिन् “बुढो भएछौँ”

डा. रञ्जितको उपचार अनुभव: आँखाको ज्योति फर्किएपछि श्रीमानलाई हेर्दै ६० वर्षकी आमैले भनिन् “बुढो भएछौँ”

नेत्ररोग विशेषज्ञ सहायक प्रा. डा. रञ्जित कुमार साहले आफ्नो चिकित्सकीय पेसाको यात्रामा साना ठुला गरी करिब ५० हजार व्यक्तिको आँखाको मोतिविन्दू (क्याट्राक सर्जरी) शल्यक्रिया गरेका छन्। उनी आँखाको शल्यक्रिया र उपचार गरेर आँखाको ज्योति फर्काउन सक्रिय छन्।

एमबिबिएसपछि चिकित्सा शास्त्रको स्नातकोत्तरमा नेत्ररोग विषय अध्ययन गर्ने निर्णय लिएर यसमा अगाडि बढेका उनले पेसागत कर्मकोक्रममा देखे-भोगेका केही अविस्मरणीय अनुभव उकेरासँग यसरी साटे :

सामान्य समस्या नबुझ्दा जीवनै अन्धकार

घटना करिब सात वर्ष अघिको हो, जतिबेला डा. रञ्जित चितवनको भरतपुर आँखा अस्पतालमा काम गरिरहेका थिए। उनी कार्यरत अस्पतालमा करिब २८ वर्षकी युवती आँखाको उपचारका लागि आइपुगिन्। उनको आठ वर्ष अघिदेखि दुवै आँखाका दृष्टि शक्ति कम हुँदै गएको थियो। करिब चार वर्ष अघिदेखि त ती युवतीको दृष्टि निकै कमजोर भइसकेको थियो।

डा. रञ्जितले ती युवतीको आँखाको अवस्थाको जाँच गरे। उनी मान्छे वा कुनै बस्तुको अलिअलि छायाजस्तो धुमिल मात्रै ठम्याउन सक्ने अवस्थामा थिइन्। यसको अर्थ उनको अगाडि मान्छे उभियो भने मान्छे हो की कुनै बस्तुको छाया हो भन्ने छुटाउन पनि नसक्ने भइसकेकी थिइन्। चेकजाँचपछि मोतिविन्दूको समस्याका कारण ती युवती दृष्टिविहीन हुन पुगेको डा. रञ्जितले पत्ता लगाए।

आँखाको समस्याले उनको पारिवारिक सम्बन्ध पनि बिग्रिसकेको रहेछ। उनी आँखा नदेख्ने भएपछि श्रीमाले समेत साथ छाडिदिएका थिए। उनी माइतमा बस्दै आएकी थिइन्। युवतीका बुवाआमा पनि आर्थिक रूपमा साह्रै कमजोर।

युवतीको आर्थिक अवस्था आँखाको उपचारमा लाग्ने खर्च ब्योर्नसम्म नसक्ने देखेपछि उनले विभिन्न संघसंस्थासँग सहयोग मागेर युवतीको आँखाको शल्यक्रिया गर्ने तयारी गरे।

उनले सुरुमा ती युवतीको दायाँतर्फको आँखाको मोतिविन्दूको शल्यक्रिया गरे। अनि पट्टी लगाइदिए। भोलिपल्ट पट्टी खोली दिए। दायाँतर्फको आँखाले छर्लङ्ग देख्यो। आँखा देखेपछि त ती युवती निकै भावुक भएर रुन थालिन्।

दुई महिनापछि डा. रञ्जितले बायाँ आँखाको पनि शल्यक्रिया गरे। उनले बायाँ आँखाले पनि देख्न थाल्यो। दुवै आँखा देखेपछि ती युवती र उनका बुवाआमाको खुसीको सीमा नै रहेन।

समस्या जटिल थिएन। तर ती युवती आर्थिक अभावमा अस्पतालसम्म आउन पनि सकेकी थिइनन्। लगभग आँखा नै नदेख्ने भएपछि अस्पताल आए पनि उनको उपचार सम्भव भने भयो।

उनले ती युवतीको आँखाको ज्योति मात्रै फर्काइदिएनन्, नयाँ जीवनै दिए। अनि डा. रञ्जितले ती युवतीलाई एउटा सामाजिक संस्थाको सहयोगमा सिलाई मेसिन पनि दिलाइदिए।

६० वर्षकी आमैले श्रीमानलाई देखेर भनिन् ‘ए तिमी त बुढो भइसकेछौ’

उनको अर्को संस्मरण पनि निकै रोचक रहेछ। प्रसङ्ग करिब पाँच वर्ष अघिको हो। तनहुँमा आँखाको स्वास्थ्य शिविरमा उनी पनि सहभागी भए। शिविरमा करिब ६० वर्षकी आमै भेटिइन्।

ती आमैले करिब सात वर्षदेखि आँखा देख्न छोडेकी रहिछन्। श्रीमान् लगायत परिवारका सदस्यको अनुहारसम्म देख्न नपाउँदा ती आमै निकै निराश थिइन्।

आर्थिक अवस्था कमजोर भएर उपचारका लागि परिवारले अस्पताल लगेको थिएन। गाउँमा शिविर आएपछि परिवारले त्यहीँ ल्याएको थियो।

डा. रञ्जितको टिमले ती आमैको आँखाको जाँच गरे। शल्यक्रियाबाट ज्योति फर्कने सम्भावना देखेपछि पहिला एउटा आँखाको शल्यक्रिया गरेर पट्टि लगाइदिए।

भोलिपल्ट आमैको आँखामा लगाएको पट्टि खोलियो। आमैले त बाहिरी संसार देखिहालिन्। आँखा देख्ने भएपछि ती आमैको खुसीको सीमा नै रहेन।

उनले सात वर्षपछि श्रीमानको अनुहार देख्दा ‘ए तिमी त बुढो भइसकेछौ’ भन्दै रमाइन्। ती आमैले साना नातिनातिनाको स्वर मात्रै सुनेकी थिइन्। नातिनातिनालाई देखेर उनी उस्तै रमाइन्।

चिकित्सकको टिमले  भोलिपल्ट ती आमैको अर्को पनि आँखाको शल्यक्रिया गर्यो। आमै दुवै आँखा देख्ने भइन्।

क्रिकेट खेल्दा आँखाको ज्योति नै गुमेपछि...

करिब तीन महिना अघि एक जना युवाको आँखाको ज्योति फर्काएको प्रसङ्ग पनि डा. रञ्जित सम्झिरहन्छन्। क्रिकेट खेल्नेक्रममा एउटा आँखामा चोट लागेर जलबिन्दूको समस्या भएको थियो।

ती युवाको बुवाको मृत्यु भइसकेको रहेछ। त्यसैले घरको खर्चबर्च र व्यवस्था गर्ने जिम्मेवारी पनि तीनै युवाको काँधमा थियो। तर, एउटा आँखाको ज्योति नै गुमेकाले काम गर्न समस्या हुँदा ती युवाको परिवारको अवस्था कमजोर बनेको थियो।

परीक्षणबाट आँखाको ज्योति फर्काउन सकिने झिनो सम्भावना मात्र देखियो। उनले शल्यक्रिया गर्ने निर्णय गरे। धन्य, शल्यक्रिया सफल भयो। ती युवाको आँखाको ज्योति फर्कियो।

 

जन्म जनकपुर, सपना डाक्टर बन्ने

धनुषाको जनकपुरमा २०३६ मा जन्मिएका रञ्जितले सन् १९९६ सालमा स्थानीय जानकी बोर्डिङ स्कुलबाट एसएलसी उत्तीर्ण गरे। उनले भारतको आन्द्रप्रदेशमा पुगेर प्लस टु गरे।

अध्ययनमा अब्बल उनलाई डाक्टर बन्ने रहर थियो। त्यसैले उनले डाक्टरी विषय अध्ययनको तयारी गरे। छनोट परीक्षा पार गरेर डा. रञ्जित एमबिबिएस अध्ययनका लागि बङ्गलादेश पुगे।

बङ्गलादेशको चिटागोंगस्थित युनिभर्सिटी अफ साइन्स एन्ड टेक्नोलोजीमा सन् २००१ मा भर्ना भएर एमबिबिएस अध्ययन सुरु गरेका उनले सन् २००६ मा एमबिबिएस अध्ययन सकाएर नेपाल फर्किए।

नेपाल फर्किएर काठमाडौंको छाउनीस्थित सैनिक अस्पतालमा एक वर्ष इन्टर्नसिप गरे। त्यसपछि बाँसबारीस्थित न्युरो अस्पतालमा उनले केही महिना मेडिकल अधिकृतका रूपमा काम गरे।

न्युरो अस्पतालपछि डा. रञ्जितले तिलगंगा आँखा अस्पतालमा करिब एक वर्ष मेडिकल अधिकृतका रूपमा काम गरे। तिलगंगापछि उनी जनकपुरकै जानकी मेडिकल कलेजमा विभागमा नेत्ररोग विभागमा मेडिकल अधिकृतका रूपमा करिब डेढ वर्ष काम गरे।

आँखा देखाउने डाक्टरी विषयको अध्ययन

एमबिबिएसपछि डा. रञ्जित चिकित्सा शास्त्रको स्नातकोत्तर तहमा नेत्ररोग विषय नै अध्ययन गर्ने निर्णय लिए। काठमाडौं विश्वविद्यालय अन्तर्गत चितवनस्थित कलेज अफ मेडिकल साइन्सेसमा सन् २०११ मा भर्ना भएर नेत्ररोग (अप्थाल्मोलोजी) विषयमा  एमएस अध्ययन सुरु गरे। उनले सन् २०१४ मा तीन वर्षे एमएस अध्ययन पूरा गरे। उनको अध्ययनको  अभ्यास (सिकाइको काम) भरतपुर आँखा अस्पतालमा भयो।

नेत्ररोगको विषयमा एमएस अध्ययन गरेपछि डा. रञ्जित भरतपुर आँखा अस्पतालमा नै काम गर्न थाले। त्यही अस्पतालको छात्रवृत्तिमा उनले नेत्ररोग विषय अध्ययन गरेका थिए।

त्यो बिचमा उनले भारत पुगेर मोतिविन्दूको शल्यक्रिया र तिलगंगा आँखा अस्पतालमा एक वर्ष जलविन्दू (ग्लोकोमा) सम्बन्धी फेलोसिप गरेर थप ज्ञान तथा सिप सिके।

सन् २०२५ सम्म करिब ११ वर्ष उनले भरतपुर आँखा अस्पतालमा नै नेत्ररोग विशेषज्ञका रूपमा काम गरे। त्यहाँ चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान अन्तर्गत नेत्ररोग विषयको स्नातकोत्तर तहको अध्ययनको प्रयोगात्मक समेत हुने भएकाले डा. रञ्जितले सहायक प्राध्यापकको रूपमा समेत काम गरे।

भरतपुरपछि डा. रञ्जित दाङ्को तुलसिपुरस्थित राप्त आँखा अस्पतालमा पुगे। हाल उनी राप्तीमा मेडिकल डाइरेक्टर र शैक्षिक प्रमुखको भूमिकामा कार्यरत छन्।

बिरामीको आँखाको औषधि उपचार तथा शल्यक्रिया गर्नु, नेत्र रोग विषय अध्ययन गर्ने विद्यार्थीलाई पढाउने र नेत्र रोग विषयसँग सम्बन्धित विषयमा खोज तथा अनुसन्धान गर्नु डा. रञ्जितको दैनिकी हो।

मंसिर ६, २०८२ शनिबार २०:१०:४१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।