हामीले सामाजिक सञ्जाल नियमनको प्रयास गर्दा जेनजीको नाममा युवाहरूलाई दुरुपयोग गरियो : केपी ओली

हामीले सामाजिक सञ्जाल नियमनको प्रयास गर्दा जेनजीको नाममा युवाहरूलाई दुरुपयोग गरियो : केपी ओली

काठमाडौं : एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीको भ्रातृ सङ्गठन राष्ट्रिय स्वयंसेवक फोर्स सबैको सुरक्षाका निम्ति भएको स्पष्ट गरेका छन्। एमालेले आज काठमाडौंको भृकुटीमण्डपमा आयोजना गरेको जनसभामा उनले वर्तमान सरकार हिंसा, अशान्ति, आगजनी, तोडफोड र लुटपाटबाट बनाइएकोले यसलाई संविधानले कुनै हालतमा उचित भन्न नसक्ने बताए।
 
उनले भने, ‘हामी सबैलाई थाहा भएको कुरा हो, देशमा संविधान अनुसार नबनेको सरकार छ। संविधान मिचेर बनाएको सरकार छ। लोकतान्त्रिक प्रणालीलाई अस्वीकार गरेको सरकार छ। यो सरकार अवैधानिक तरिकाले लोकतन्त्रको विरुद्धमा निर्माण गरिएको हिंसा, अशान्ति, आगजनी, तोडफोड र लुटपाटबाट बनाइएको सरकार भनेर सबै नेपाली जनतालाई थाहा छ। सरकारलाई संविधानले कुनै हालतमा उचित भन्न सक्दैन। यसको उत्पत्ति नै गलत बाटोबाट भएको छ।’

ओलीले जेनजी आन्दोलनपछि  गठन भएको सरकारले गरेको प्रतिनिधिसभा विघटनको सिफारिस संविधानको भावनाबमोजिम नभएको तर्क गरे। उनले जनताबाट चुनिएकाहरूबाट मात्र सरकार सञ्चालन गर्ने लोकतान्त्रिक परिपाटीको सुदृढीकरण आजको आवश्यकता भएको बताए। उनले आफूहरूले सामाजिक सञ्जाल नियमन गर्ने प्रयास गरिरहेको बेलामा जेनजीको नाममा युवाहरूलाई दुरुपयोग गरेर आन्दोलनको लागि उकासेको दाबी गरे।

उनले भने, ‘संसारमा जेनजी नामको अस्वभाविक शब्द अगाडि सारिएको छ। यसरी जेनजीका नाममा युवाहरूलाई भ्रममा पर्ने र उनीहरूको सेन्टिमेन्टलाई दुरुपयोग गर्ने काम भयो। भ्रष्टाचारको विरुद्ध हामी लडिरहेका थियौं। सुशासन र विकासको पक्षमा हामी लडिरहेका थियौं। देशमा प्रेस स्वतन्त्रताको पक्षमा हामी दृढ भएर उभिएका थियौं। हामीले हाम्रो देशको कानुन मानेर काम गरिरहेका थियौं। त्यस्तो बेलामा युवाहरूलाई जेनजीका नाममा आन्दोलनको लागि उकासियो, हामीले त्यसको विरोध गरेनौ तर भदौ २३ गतेको आन्दोलनको पछाडि षड्यन्त्र लुकेको थियो। त्यसपछिको घटना सबै षडयन्त्र थियो र त्यही षडयन्त्रबाट देश पनि जल्यो।’

मंसिर ६, २०८२ शनिबार १६:४३:३९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।