जसपा नेपालको ७९ सदस्यीय केन्द्रीय युवा संघ गठन

जसपा नेपालको ७९ सदस्यीय केन्द्रीय युवा संघ गठन

काठमाडौं : जनता समाजवादी पार्टी, नेपालको भातृ संगठन समाजवादी युवा संघ नेपालको केन्द्रीय तदर्थ समिति गठन भएको छ। जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिले युवा नेता मनिष यादवको अध्यक्षतामा ७९ सदस्यीय केन्द्रीय समाजवादी युवा संघ गठन गरेको हो। 

संघको केन्द्रीय उपाध्यक्षमा रेणुराज सिंह, चिरञ्जीवी यादव र रविन पाख्रिन चयन भएका छन् भने दीपेन्द्र कापडीलाई महासचिवको जिम्मेवारी दिइएको छ। सौरभ शर्मा, कमल नेम्वाङ, शिवराज बेघा, राजु यादव र विनय यादव गरी ५ जना सचिवमा चयन भएका छन्। शत्रुधन यादवलाई भने कोषाध्यक्षको जिम्मेवारी दिइएको छ। 

नवगठित केन्द्रीय युवा संघका ११ सदस्यीय पदाधिकारीसहित अन्य सबै सदस्यहरूको यही मंसिर १५ गते काठमाडौंमा एक औपचारिक कार्यक्रमकाबीच शपथ ग्रहण आयोजना गरिने समाजवादी युवा संघका इन्चार्ज बिक्की यादवले जानकारी दिए। तदर्थ समितिलाई समाजवादी युवा संघको देशव्यापी मूल नेतृत्व निर्माण गर्न आगामी ६ महिनाभित्र वडादेखि केन्द्रसम्मै संगठन निर्माण गरी निर्वाचन गराउने कार्यभार तोकिएको इन्चार्ज यादवले बताए।

संघले संगठन निर्माण, बिस्तार एवं संघीय चुनाव केन्द्रित छिट्टै आफ्नो भावी कार्ययोजना तथा कार्यक्रमहरू सार्वजनिक गरिने नवगठित जसपा नेपालको समाजवादी युवा संघका अध्यक्ष यादवले जानकारी दिए। युवा संघले देशैभरि वडा, पालिका, क्षेत्र, जिल्ला, प्रदेश र केन्द्र स्तरीय संगठन निर्माण एवं बिस्तार, युवा अभियान सुदृढीकरण तथा आगामी निर्वाचन केन्द्रित पार्टीको वैचारिक तथा राजनीतिक कार्यक्रमलाई प्रभावकारी रूपमा अघि बढाउने महत्त्वपूर्ण दायित्व पाएको छ।

मंसिर ६, २०८२ शनिबार १४:५५:५५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।