निर्वाचन कार्यालयभन्दा राष्ट्रिय परिचयपत्रमार्फत नाम दर्ता गराउनेको संख्या डेढ लाखले बढी

निर्वाचन कार्यालयभन्दा राष्ट्रिय परिचयपत्रमार्फत नाम दर्ता गराउनेको संख्या डेढ लाखले बढी

काठमाडौं : मतदाता नामावलीमा नाम दर्ता गराउन निर्वाचन कार्यालयमै धाएर बायोमेट्रिक्स दिने परम्परागत शैलीभन्दा राष्ट्रिय परिचयपत्रमार्फत नाम दर्ता गराउनेको संख्या उल्लेख्य रूपमा बढी देखिएको छ।

निर्वाचन आयोगको कार्यालयले मतदाता नामावली संकलन कार्य सकिएको जानकारी दिँदै सार्वजनिक गरेको पछिल्लो विवरणले यस्तो तथ्य देखाएको हो।

विवरण अनुसार, हालै सम्पन्न संकलन कार्यबाट देशभर ८ लाख ३७ हजार ९४ जना नयाँ मतदाता थपिएका छन्।

कुल थपिएका नयाँ मतदातामध्ये आधाभन्दा बढी हिस्सा राष्ट्रिय परिचयपत्रमार्फत आबद्ध हुनेहरूको छ। तथ्याङ्क अनुसार ४ लाख ९२ हजार १८० जनाले राष्ट्रिय परिचयपत्रको विवरण प्रयोग गरी आफूलाई मतदाताका रूपमा दर्ता गराएका छन्।

यसको तुलनामा निर्वाचन कार्यालय वा तोकिएको स्थानमा पुगेर छुट्टै बायोमेट्रिक्स प्रणालीमार्फत दर्ता हुनेको संख्या ३ लाख ४४ हजार ९१४ मात्र रहेको छ।

राष्ट्रिय परिचयपत्रमार्फत दर्ता हुनेको संख्या बायोमेट्रिक्समार्फत हुनेभन्दा करिब डेढ लाख (१ लाख ४७ हजार २६६) ले बढी छ।

जेन-जी आन्दोलनपछि आएको सुशीला कार्की नेतृत्वको सरकारले राष्ट्रिय परिचयपत्रबाटै मतदाता नामावलीमा नाम दर्ता गर्न सकिने व्यवस्था गरेको हो।

त्यसअघि राष्ट्रिय परिचयपत्र बनाइसकेकाहरूले निर्वाचन कार्यालयमा गएर फेरि बायोमेट्रिक्स दिनुपर्ने झन्झटिलो व्यवस्था थियो।

मंसिर ६, २०८२ शनिबार १२:५५:५१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।