एमालेले ७ वटा फौजदारी मुद्दामा तानिएका श्रेष्ठलाई बनायो एनभिएफ कमाण्ड

एमालेले ७ वटा फौजदारी मुद्दामा तानिएका श्रेष्ठलाई बनायो एनभिएफ कमाण्ड

काठमाडौं :  एमालेले सात वटा फौजदारी मुद्दा खेपेका पुष्पराज श्रेष्ठलाई राष्ट्रिय स्वयंसेवक फोर्स (एनभिएफ) को ‘कमाण्ड’ घोषणा गरेको छ। एमाले अध्यक्ष केपी शर्मा ओलीको उपस्थितिमा श्रेष्ठको संयोजकत्वमा एघार सदस्यीय टोली घोषणा गरिएको हो।

सिन्धुली घर भएका श्रेष्ठको पृष्ठभूमि विवादित र आपराधिक रहेको प्रहरीको सीआरएस (क्रिमिनल रेकर्ड सिस्टम)बाट खुलेको छ। श्रेष्ठविरुद्ध अहिलेसम्म ४ वटा ज्यान मार्ने उद्योगको कसुर, २ वटा सार्वजनिक अपराध (अभद्र व्यवहार) र १ वटा अपहरण तथा शरीर बन्धकको कसुरमा मुद्दा चलेको भेटिएको हो।

२०६३ मा सिन्धुलीको कमलामाई नगरपालिकाका गगन सिंहलाई ज्यान मार्ने उद्देश्यले कुटपिट गरेको, २०६४ मा कमलामाई नगरपालिकाकै विजय मुनाललाई हतियार प्रहार गरी घाइते बनाएको, २०६५ मा काठमाडौंका अविनाश रिजालमाथि गोली प्रहार गरी हत्या प्रयास गरेको, २०६७ मा सिन्धुलीकै स्थानीय राजन घिसिङमाथि कुटपिट गरेको, २०७० मा सिन्धुलीकै जीवन श्रेष्ठलाई अपहरण तथा कुटपिट गरेको, श्रेष्ठ २०७५ मा ओखलढुंगा घर भएका ठेकदार रामबहादुर कटुवाललाई ज्यान मार्ने धम्की दिएको र २०७३ मा गणेशकुमार कुँवरलाई कुटपिट गरी रकम लुटेकोको आरोपमा पक्राउ परी मुद्दासमेत चलेको प्रहरीको सीआरएसमा देखिन्छ। 

तत्कालीन नेकपा माओवादीबाट राजनीतिमा कदम राखेका उनी वाईसीएलको केन्द्रीय सदस्य, सिन्धुलीको जिल्ला इन्चार्ज हुँदै माओवादी एमाले मिलेर बनेको तत्कालीन नेकपा विभाजनपछि एमालेमा रहेका थिए। एमालेको युवा दस्ता युथ फोर्समा आबद्ध रहेका श्रेष्ठ अहिले राष्ट्रिय स्वयंसेवक फोर्सको ‘कमाण्ड’ बनेका हुन्।

फोर्सको सदस्यमा केशव रोका, लव अधिकारी यादव, जयराम लामा, विदुर शर्मा, सागर भट्ट, सञ्जीव धिताल, विनिता काफ्ले रहेका छन्। फोर्समा पार्टीका विभिन्न जनसङ्गठनबाट प्रतिनिधित्व हुने र ती सङ्गठनबाट जिम्मेवारी लिइसकेका व्यक्तिलाई पनि समावेश गरिने एमाले नेता भानुभक्त ढकालले बताएका छन्। एमाले पोलिटब्युरो सदस्य महेश बस्नेतका अनुसार फोर्सले सामाजिक सुरक्षाका लागि काम गर्नेछ।  
 

मंसिर ५, २०८२ शुक्रबार १८:०८:२९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।