एमालेले जेनजीको प्रतिरोध गर्न युथ भोलेन्टिएर फोर्स बनायो, नेतृत्वमा महेश बस्नेतका विश्वासपात्र श्रेष्ठ

एमालेले जेनजीको प्रतिरोध गर्न युथ भोलेन्टिएर फोर्स बनायो, नेतृत्वमा महेश बस्नेतका विश्वासपात्र श्रेष्ठ

काठमाडौं : माओवादी शान्तिपूर्ण राजनीतिमा आए पनि उसको युवा संगठन योङ कम्युनिष्ट लिग (वाइसिएल)ले समानान्तर सत्ताको अभ्यास सुरु गर्यो। प्रतिष्पर्धी राजनीतिक दलले सार्वजनिक कार्यक्रमसम्म गर्न सकेनन्।

कम्युनिष्ट पार्टीको रूपमा एकल राज गरिरहेको एमाले प्रत्यक्ष प्रभावित भएपछि उसले युथ फोर्सको घोषणा गर्यो। कमान्डर तोकिए महेश बस्नेत। युवा संघको रूपमा अहिले पनि युथ फोर्स सक्रिय नै छ।

जेनजी आन्दोलनपछि दबाबमा परेको एमाले अहिले जेनजी समूहविरुद्ध लक्षित गरेर नयाँ शक्तिको रूपमा युथ भोलेन्टियर फोर्सलाई अगाडि बढाउन कस्सिएको छ। युवाहरूलाई समेट्ने नयाँ संगठनको रूपमा एमालेले यसलाई अर्थ्याए पनि उसको नियत भने जेनजीको रूपमा संगठित समूहविरुद्ध बल प्रयोगको नीति देखिन्छ।

त्यसैले त उसले बाराको सिमरामा जेनजीको एक समूहले आफ्नो कार्यक्रम भाँड्ने प्रयास गरेपछि युथ भोलेन्टिएर फोर्सको घोषणा गरेको छ।

एमाले अध्यक्ष केपी ओलीले युथ भोलेन्टिएर फोर्स देशमा शान्ति, सुव्यवस्था कायम गर्न बनेको दाबी गरे पनि उनको नियत पनि आफूलाई प्रधानमन्त्री निवास बालुवाटारबाट भाग्न बाध्य बनाउने जेनजी फोर्सको प्रतिरोधमा बनाएको प्रस्टै देखिन्छ।

उनले राज्यले जिउधनको सुरक्षा गर्न नसकेकाले अब आफ्नो दलको युथ भोलेन्टिएर फोर्सले सुरक्षा गर्ने दाबी गर्नुले नै उनीहरूले राज्यको सुरक्षा निकायले गर्ने गतिविधिमा हस्तक्षेप गर्ने नीति रहेको प्रस्ट हुन्छ।

यसले निर्वाचनका लागि सुरक्षाको प्रबन्ध गरिरहेको सरकारी सुरक्षा संयन्त्र थप दबाबमा पर्ने प्रस्टै देखिन्छ। 

पुष्पराजलाई तोकियो कमान्डर

एमालेले शुक्रबार घोषणा गरेको युथ भोलेन्टियर फोर्सको जिम्मा पुष्पराज श्रेष्ठलाई दिएको छ। उनी युवा संघको पूर्व उपाध्यक्ष हुन्। एमाले बागमती प्रदेश कमिटीका सदस्य समेत रहेका उनको संयोजकत्वमा रहने संगठनमा सबै जिल्लाबाट सदस्य तोकिने जनसंगठन विभागका प्रमुख भानुभक्त ढकालले बताए। श्रेष्ठ महेश बस्नेतका विश्वास पात्र हुन्। भोलेन्टियर फोर्सको प्रमुख तोक्न पार्टीले उनै बस्नेतलाई जिम्मा दिएको थियो।

मंसिर ५, २०८२ शुक्रबार १५:२०:४४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।