आगामी निर्वाचनले मुलुकलाई नयाँ दिशा दिनेछ : राष्ट्रपति

आगामी निर्वाचनले मुलुकलाई नयाँ दिशा दिनेछ : राष्ट्रपति

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले विषम र कठिन परिस्थितिबाट संविधान, लोकतन्त्र र मुलुकलाई जोगाउँदै फागुन २१ गतेका लागि प्रतिनिधिसभाको निर्वाचनको मिति तय भएको बताएका छन्। पद्मकन्या बहुमुखी क्याम्पसको ७५औँ वर्षका अवसरमा आज यहाँ आयोजित हीरक महोत्सव समारोहलाई सम्बोधन उनले आगामी निर्वाचन पछि मुलुकले नयाँ दिशा पाउने विश्वास व्यक्त गरे।

राष्ट्रपति पौडेलले भने, 'यो निर्वाचन परिणामले सुशासन, विकास र समृद्धिको यात्रालाई सुदृढ तुल्याउँदै नयाँ दिशा दिनेछ भन्ने मलाई विश्वास छ, यो निर्वाचन देश, जनता र लोकतन्त्रका लागि अपरिहार्य भएकाले यसलाई सफल पार्न म सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनीलाई अपिल पनि गर्न चाहन्छु।'

कुनै पनि मुलुकको विकासका लागि शिक्षाको योगदान महत्त्वपूर्ण रहेको उनको भनाइ थियो। साथै, नेपालमा नारीहरूको शैक्षिक उन्नयनमा पद्मकन्याको विशेष योगदान रहेको बताए। शैक्षिक संस्थाहरूको प्रमुख कार्य मुलुकमा विभिन्न क्षेत्रका लागि आवश्यक गुणस्तरीय र दक्ष जनशक्ति तयार गरेको उनको भनाइ थियो।

'मुलुकको प्राज्ञिक र प्रशासनिक मात्र होइन, राजनीतिक क्षेत्रमा स्थापित धेरै महिलाहरू यसै क्याम्पसबाट उच्च शिक्षा हासिल गरेका पाइन्छन्, उच्च शिक्षामा नयाँ नयाँ विषय अध्ययनका क्रममा पछिल्लो समय नेपाली विद्यार्थीहरू विदेशिने क्रम बढ्दो छ, यो यथार्थतालाई मध्यनजर गरी आगामी दिनमा बजारको मागलाई सम्बोधन गर्न स्वदेशमै गुणस्तरीय शिक्षा प्रदान गर्ने दिशामा यो क्याम्पसले विशेष ध्यान दिनेछ भन्ने मैले विश्वास लिएको छु,' राष्ट्रपति पौडेलले भने।

मंसिर ५, २०८२ शुक्रबार १४:३२:३६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।