जुम्लामा ८४९ नयाँ मतदाता थपिए, ५० प्रतिशत युवा

जुम्लामा ८४९ नयाँ मतदाता थपिए, ५० प्रतिशत युवा

जुम्ला : आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि जुम्लामा ८ सय ४९ जना नयाँ मतदाता थपिएका छन्।

जिल्ला निर्वाचन कार्यालय जुम्लाका निमित्त प्रमुख नारायणी आचार्यका अनुसार मतदाता नामावलीमा नाम दर्ता गराउनेमध्ये करिब ५० प्रतिशत युवापुस्ता रहेका छन्।

अनलाइन प्रणालीबाट समेत नाम दर्ता गर्न सकिने व्यवस्था गरिएपछि युवाहरूको आकर्षण बढेको हो।

बिहीबारसम्मको तथ्याङ्क अनुसार थपिएका ८४९ मतदातामध्ये ३७३ महिला र ४७६ पुरुष रहेका छन्। यस्तै, बाहिरी जिल्लाका ९७ जनाले पनि जुम्लाबाटै मतदाताका रूपमा नाम दर्ता गराएका छन्।

नयाँ मतदाता थपिनुअघि जिल्लामा कुल मतदाता सङ्ख्या ६७ हजार ७३६ रहेको थियो। जसमा ३५ हजार २७५ पुरुष र ३२ हजार ४६१ महिला थिए। अब नयाँ थपिएका मतदाताको विवरण अद्यावधिक भएपछि यो सङ्ख्या बढ्नेछ।

निमित्त प्रमुख आचार्यका अनुसार हिमा गाउँपालिका-१ र पातारासी गाउँपालिका-७ मा एक-एक वटा मतदान केन्द्र थप गर्न तथा तिला गाउँपालिका-९ को एक मतदान केन्द्र अन्यत्र सार्नका लागि केन्द्रीय निर्वाचन आयोगमा सिफारिस गरिएको छ।

हाल एक नगरपालिकासहित आठ स्थानीय तह रहेको जुम्लामा ७९ मतदानस्थल र १०२ मतदान केन्द्र कायम छन्।

निर्वाचन आयोगले मतदाता नामावली सङ्कलनको म्याद कात्तिक मसान्तसम्म तोकेको भए पनि सर्वसाधारणको उत्साहजनक सहभागितालाई ध्यानमा राख्दै म्याद थप गरी आजसम्म पुर्याएको थियो।

मंसिर ५, २०८२ शुक्रबार १४:१७:१९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।