चीन र जापानबीचको तनावले भारतलाई फाइदा, जापानी ‘सीफुड’मा प्रतिबन्धपछि भारतीय कम्पनीको सेयरमा उछाल
एजेन्सी : ताइवानको विषयलाई लिएर चीन र जापानबीच बढेको तनावको प्रत्यक्ष फाइदा भारतलाई पुगेको छ।
चीनले बुधबार जापानबाट आउने सबै प्रकारका ‘सीफुड’मा पूर्ण प्रतिबन्ध लगाएपछि भारतीय सीफुड निर्यातकर्ताहरूको सेयर मूल्यमा तीव्र वृद्धि देखिएको छ।
चीनको यो निर्णयले त्यहाँको बजारमा सीफुडको अभाव हुने सम्भावना बढेको छ। यो माग पूरा गर्न चीनले भारतजस्ता देशहरूतिर कदम बढाएको छ। यसको प्रभावस्वरूप, भारतीय सीफुड कम्पनीहरूको सेयरमा उछाल आएको छ।
तेलंगानावस्थित ‘अवन्ती फिड्स’को सेयर करिब १० प्रतिशतले बढेको छ भने अर्को कम्पनी 'कोस्टल कर्पोरेसन'को सेयरमा ५ प्रतिशतको वृद्धि देखिएको छ।
किन बढ्यो चीन-जापान तनाव?
यस विवादको मुख्य कारण जापानी प्रधानमन्त्री साने ताकाइचीको अभिव्यक्ति हो। उनले नोभेम्बर ७ मा जापानी संसदमा बोल्दै यदि चीनले ताइवानमा आक्रमण गरे जापानले मद्दतका लागि अपनी सेना पठाउने बताएकी थिइन्।
चीनले यो बयानलाई गैरजिम्मेवारपूर्ण र उक्साहटपूर्ण भन्दै कडा आपत्ति जनायो। यसपछि जापानस्थित चिनियाँ काउन्सिलर जनरलले सामाजिक सञ्जालमा धम्कीपूर्ण भाषा प्रयोग गरेपछि विवाद झनै चर्कियो।
दुवै देशले एक-अर्काका राजदूतलाई बोलाएर कूटनीतिक विरोध जनाएका छन् भने चीनले आफ्ना नागरिकलाई जापान भ्रमण नगर्न आग्रह गरेको छ।
भारतका लागि नयाँ बजारको अवसर
अमेरिकाले भारतीय सीफुडमा ५० प्रतिशतसम्म कर लगाएपछि भारतको अमेरिकातर्फको निर्यात घटिरहेको थियो। यस्तो अवस्थामा चिनियाँ बजार खुल्नु भारतका लागि ठूलो राहतको विषय बनेको छ।
गत वर्ष भारतले करिब ६१ हजार करोड भारु (७.४ अर्ब डलर) बराबरको सीफुड निर्यात गरेको थियो। अब चीनबाट थप अर्डर आउने अपेक्षामा भारतीय निर्यातकर्ताहरू उत्साहित छन्।
जापानका लागि यो प्रतिबन्ध ठूलो झट्का हो। जापानले आफ्नो कुल सीफुड निर्यातको २० देखि २५ प्रतिशत चीनमा पठाउने गर्छ।
फुकुशिमा आणविक प्लान्टको पानी समुद्रमा मिसाएको भन्दै चीनले यसअघि लगाएको प्रतिबन्ध भर्खरै फुकुवा भएको थियो, तर फेरि प्रतिबन्ध लाग्दा जापानी व्यवसायीहरू चिन्तित बनेका छन्।
चीनले ताइवानलाई आफ्नो अभिन्न अङ्ग मान्छ भने जापान र अमेरिकाले ताइवानको सुरक्षामा चासो राख्दै आएका छन्। ताइवान जापानबाट मात्र ११० किलोमिटरको दूरीमा छ र यो क्षेत्र जापानको प्रमुख समुद्री व्यापारिक मार्ग पनि हो।
मंसिर ५, २०८२ शुक्रबार ०८:५७:४५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।