बेलायतमा निधन भएका विद्यार्थी योमन चन्दलाई अन्तिम बिदाइ, शव भोलि नेपाल पठाइँदै

बेलायतमा निधन भएका विद्यार्थी योमन चन्दलाई अन्तिम बिदाइ, शव भोलि नेपाल पठाइँदै

लन्डन : उच्च शिक्षाका लागि बेलायत आएका र गत साता लन्डनको एजवेयरस्थित आफ्नै कोठामा निधन भएका नेपाली विद्यार्थी योमन चन्दको सम्झनामा श्रद्धान्जली सभा आयोजना गरिएको छ।

केन्टनस्थित डिभिनिटी फ्युनरल केयरमा बिहीबार अपराह्न आयोजित सभामा स्व. चन्दका परिवारका सदस्य, साथीभाइ, पूर्व सहकर्मी तथा नेपाली समुदायका अगुवाहरूले उनलाई अन्तिम बिदाइ गरे।

श्रद्धान्जली सभामा बोल्दै बन्र्टओक नेपाली समाजका अध्यक्ष खमिरजंग गुरुङले ठूलो सपना बोकेर बेलायत आएका योमनको निधन परिवारका लागि मात्र नभएर सिंगो समुदायकै लागि अपूरणीय क्षति भएको बताए। उनले परिवारको आग्रहअनुसार शव नेपाल पठाउन आर्थिक सहयोग गर्ने सबैप्रति आभार व्यक्त गरे।

समाजका उपाध्यक्ष मुरारी थापाले छोटो समयमै विभिन्न संघसंस्था तथा व्यक्तिहरूबाट करिब २० हजार पाउन्ड (झन्डै ३७ लाख रुपैयाँ) सहयोग संकलन भएको जानकारी दिए।

यस्तै, एम्पल इन्टरन्याशनल एडुकेशनका निर्देशक प्रमोद अधिकारीले आफू पनि सन् २०१० मा विद्यार्थीका रूपमा बेलायत आएको स्मरण गर्दै योमनको निधनले मर्माहत बनाएको बताए। उनले दुःखको घडीमा नेपालीले नेपालीलाई नै सहयोग गर्ने परम्परा सह्रानीय रहेको उल्लेख गरे।

गैरआवासीय नेपाली संघ (एनआरएनए) युकेका अध्यक्ष राजेन्द्र पुडासैनीले विपतमा सहयोग गर्नु नेपाली संस्कृति नै भएको बताए। उनले शव नेपाल पठाउन पारदर्शी रूपमा सहयोग संकलन गरिएको र समुदायबाट छोटो समयमै उल्लेख्य साथ प्राप्त भएको जानकारी दिए।

सहयोग अभियानमा बन्र्टओक नेपाली समाज, हार्लो नेप्लिज कम्युनिटी, नेप्लिज ब्रिटिश कम्युनिटी, राप्ती समाज युके, ठकुरी समाज युके, एनआरएनए स्कटल्याण्ड, युनिभर्सिटी अफ वेस्ट अफ स्कटल्याण्डका विद्यार्थीहरू, सुदूरपश्चिम विद्यार्थी समाज लगायतका संघसंस्था र व्यक्तिहरूको विशेष योगदान रहेको बताइएको छ।

सल्यानको दार्मा गाउँपालिका वडा नं ३ निवासी २६ वर्षीय योमन चन्द एक वर्षअघि मात्र अध्ययनका लागि बेलायत आएका थिए।

युनिभर्सिटी अफ हर्टफोर्डसायर, ह्याटफिल्डमा ‘एमएस्सी कम्युनिकेसन्स एण्ड इन्फर्मेसन इन्जिनियरिङ’ अध्ययनरत चन्दको ११ नोभेम्बरमा आकस्मिक निधन भएको थियो। उनले आफ्नो पढाइ पूरा गरी गत साता नै प्रमाणपत्र लिने योजना बनाएका थिए।

चन्दको शव शुक्रबार कतार एयरवेजमार्फत काठमाडौँ पठाइने भएको छ। त्यसपछि शवलाई सल्यानस्थित गाउँमा लगिने र त्यहीँ अन्तिम संस्कार गरिने परिवारले जनाएको छ।

मंसिर ५, २०८२ शुक्रबार ०८:०८:४० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।