एनपिएलको मैदानमा भएको जुवा र रक्सीको प्रचार नियामकले देखेनन् : मन्त्रालय र बोर्ड क्यानको जवाफ कुर्दै, प्रहरी भन्छ"उजुरी आए हेरौला"

एनपिएलको मैदानमा भएको जुवा र रक्सीको प्रचार नियामकले देखेनन् : मन्त्रालय र बोर्ड क्यानको जवाफ कुर्दै, प्रहरी भन्छ

काठमाडौँ : नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो र उपत्यका प्रहरी अपराध अनुसन्धान कार्यालय क्रिकेटको आवरणमा हुनसक्ने अनलाइन जुवा र म्याच फिक्सिङको जोखिम घटाउन विशेष टोली खटाइरहेको छ।

उपत्यका अपराध अनुसन्धान कार्यालयले बुधवार एनपिएलमा सहभागी फ्रेन्चाइज टोलीको सदस्यलाई होटेलमै भेटेर आफ्नो योजना अनुसार एउटा नो बल फ्याकिदिएवापत एक करोडसम्म दिने प्रस्ताव गर्ने भारतीय र एक नेपालीलाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ।

नेपाल प्रिमियर लिगको अफिसियल मिडिया पाट्नर बनेको डाफान्युजको सक्कली ब्रान्ड डाफाबेट भने एनपिएलसम्बन्धी खेलमा जुवा खेल्न प्रोत्साहित गरिरहेको छ। उसले आफ्नो साइटमा एनपिएलमा भइरहेका हरेक खेलको जुवाको रेट तोक्दै युवाहरूलाई जुवाको लतमा फसाउन सक्रिय देखिन्छ।

त्यसले एनपिएलको आयोजक संस्था नेपाल क्रिकेट संघका पदाधिकारीलाई केही फरक परेको छैन। न त विज्ञापनको नियमन गर्ने विज्ञापन बोर्ड यो जोखिमबारे गम्भीर देखिन्छ न त नियमनकारी निकाय राष्ट्रिय खेलकुद परिषद्, युवा तथा खेलकुद मन्त्रालय अनि प्रहरी नै एनपिएलको लोकप्रिय मैदानलाई जुवाको प्रचारको थलो बन्नबाट रोक्न नै सक्रिय देखियो।

उकेराले एनपिएलको मैदानको प्रयोग गर्दै क्यानका पदाधिकारीहरूले गरिरहेको जुवा र रक्सीको प्रचारबारे प्रमाणसहित समाचार सम्प्रेषण गर्दै यसबारे सम्बन्धित निकायको ध्यानाकर्षण गराएपछि विज्ञापन बोर्डले क्यानलाई सात दिनको म्याद दिएर पत्र पठाएको छ। खेलकुद मन्त्रालयले एनपिएलमा भइरहेको जुवाको प्रचारबारे खेलकुद परिषद्मा पत्र पठाएको छ। तर मैदानबाट विज्ञापन हटेको छैन।

गत वर्ष पनि क्यानले वुल्फत्रिपलसेभेनको सरोगेट ब्रान्ड वुल्फत्रिपलसेभेनन्युजको विज्ञापन गरेको थियो। एनपिएल चलेसम्म सरोकारवाला निकायहरूले क्यानलाई पत्र पठाउने अनि मौन बस्ने गरिरहे। परिषद्का सदस्य सचिव टंकलाल घिसिङ त क्यानको बदमासीको सहयोगी नै बने। यसको कारण उनको व्यक्तिगत भ्रमणको खर्च क्यानले बेहोरेको खुल्यो।

निकै ढिला विज्ञापन बोर्डले एनपिएलमा भएको बदमासीबारे कारबाही गर्यो। तर उसले क्यान पदाधिकारीलाई छोएन। उसले ब्रान्ड लजिक र भारतीय कम्पनी टिसिएमलाई मात्र कारबाही गरे। बोर्डले कारबाही गरेको दुई कम्पनी एनपिएलमा प्रत्यक्ष रूपमा जोडिएनन्। तर टिसिएम एनपिएल २ मा पनि प्रत्यक्ष जोडिएको छ।

एनपिएलको ब्रोडकास्टिङमा जोडिएको स्टारस्पोर्टको व्यवस्थादेखि प्रत्यक्ष प्रसारणमा टिसिएमकै टिमहरू संलग्न रहेको एनपिएलको व्यवस्थापनमा संलग्न एक अधिकारीले पुष्टि गरे।

“पहिला पनि स्टार स्पोर्ट्समा प्रत्यक्ष प्रसारण मिलाउने अनि प्राविधिकहरू ल्याउने काम टिसिएमले नै गरेको हो,” ती अधिकारीले भने “ यो पटक पनि मैदानमा टिसिएमकै पदाधिकारीहरू छन्। तर पोल खुल्ने डरले क्यान पदाधिकारीहरूले लुकाएका छन्।”

नियामकको ध्यान बहानामा

अहिले एनपिएलको मैदानभरि छरिएको डाफान्युज विज्ञापन बोर्डबाटै प्रतिबन्धित ब्रान्ड हो। बोर्डले भदौ १३ मा ‘अनलाइन जुवा, सट्टाबाजी,बेटिङ लगायतको विज्ञापन नगर्ने नगराउने सम्बन्धी अत्यन्त जरुरी सूचना निकालेको थियो।

त्यसमा प्रस्ट सामाजिक सञ्जाल (फेसबुक, इन्स्टाग्राम, ह्वाट्सएप, टिकटक, युट्युब जस्ता), छापा, अनलाइन तथा विविध सञ्चारमाध्यम लगायतमा अनलाइन जुवा, बेटिङ, सट्टाबाजी (वानएक्सब्याट, मेलबेट, वुल्फत्रिपलसेभेन, डाफान्युज,हिमाबेट, बाजी, बिजे८८८ आदी वेबसाइट/ अनलाइन साइट) का कानुनले निषेध गरेको विज्ञापन गरेर ठगी गरेको भनेर बोर्डमा उजुरी परेको उल्लेख छ।

बोर्डले जुवा खेल्न वा खेलाउन, चिट्ठा किन्न वा किनाउन प्रोत्साह गर्ने विषयमा विज्ञापन गर्न नहुने, जुवा खेल्न वा खेलाउन कुनै साधन उपलब्ध गराउन नहुने र सट्टाबाजी गर्न वा गराउन नहुने भन्दै नेपालमा जुवा, बेटिङ, सट्टाबाजीसम्बन्धी कुनै पनि किसिमको विज्ञापन प्रकाशन, प्रसारण र प्रदर्शन निषेध गरेको भन्दै यस्ताको विज्ञापन प्रकाशन र प्रसारण नगर्न भनेको थियो।

त्यस्तो गरे कानुन बमोजिम कारबाही गर्ने बोर्डले चेतावनी दिए पनि क्यानले एनपिएलको मैदानमा मंसिर १ गतेबाट निरन्तर डाफान्युजको विज्ञापन राखिरहेको छ। उता सुदूरपश्चिम टिमले बुधवार बाजीको लोगो राखेको जर्सी लगाएर एनपिएल खेल्यो।

टीयूको मैदानमा आफैँले प्रतिबन्ध लगाएको डाफान्युजको प्रचार भइरहेको र सर्वोच्चले प्रतिबन्ध लगाएको रक्सीको सरोगेट ब्रान्ड पानीको नाममा रक्सीको प्रचार भइरहँदा विज्ञापन बोर्डले के गरिरहेको छ?

यस विषयमा उकेराले विज्ञापन बोर्डका अध्यक्ष लक्ष्मण हुँमागाईसँग बुझ्दा उनले हाल क्यानलाई पत्र गएको र प्रहरी पठाउनेसम्मको दाबी गरे। तर प्रहरी पठाउन अदालतमा मुद्दा पर्नुपर्ने उनले बताए। अदालतमा मुद्दा पठाउने अधिकार बोर्डमै छ।

“कानुन अनुसार सात दिनको समय दिने व्यवस्था छ। समयमा जवाफ नआए, पहिला हामीले प्रहरी पठाउँदैनौँ, मुद्दा अदालतमा परेको खण्डमा आवश्यक पर्दा प्रहरी पठाउनेसम्मको अधिकार विज्ञापन बोर्डलाई छ” उनले भने।

क्यानको नियामक निकाय खेलकुद मन्त्रालयका मन्त्री बब्लु गुप्तासँग गत आइतबार एनपिएलको मैदानबाट भइरहेको अनलाइन जुवा सम्बन्धी कम्पनीको सरोगेसी विज्ञापनबारे जिज्ञासा राख्दा उनले  यसबारे जानकारी नभएको भन्दै सचिवालय सदस्यहरूलाई मैदान पठाएर जानकारी लिने बताएका थिए।

“क्यान अटोनोमस बडी भएकोले कानुनमा के छ त्यो हेरेर निर्णय गर्छौ’ उनले भनेका थिए। उनले टिम पनि पठाए। टिमले डाफान्युजको विज्ञापन गरेको जानकारी गराएपछि उनले क्यान पदाधिकारीलाई सो विज्ञापन हटाउन भने। तर उनीहरूले नमानेपछि उनी एनपिएलको उद्घाटनमा गएनन्। एनपिएलको मैदानमा नगएका गुप्ता एनपिएल हेर्न जाने महिला लगायतको सुविधाका लागि मन्त्रालयले सुरु गरेको निःशुल्क बस व्यवस्थापनको उद्घाटन गर्न बुधवार मैदान बाहिर पुगेका थिए।

यसबारे मन्त्रालयले के गरिरहेको भनेर बुझ्न बिहीबार फोन गर्दा उनको फोन उठेन।

मन्त्रालयका सूचना अधिकारी जगदीश पराजुलीले एनपिएल सुरु हुनुभन्दा अघि मन्त्रीजी गुप्ताले मैदान हेर्न पदाधिकारी पठाएको र पछि क्यानको नाममा राखेपमार्फत मन्त्रालयको पत्र गएको बताए। उनका अनुसार मन्त्रालयले पठाएको पत्रको जवाफ भने आएको छैन।

क्यानको नियमन गर्ने जिम्मेवारी रहेको राष्ट्रिय खेलकुद परिषद्ले गत वर्षको एनपिएलमा क्यानको गैर कानुनी कामलाई साथ दिएको थियो। यो वर्ष के गर्छ? यसबारे बुझ्न उकेराले राखेप सदस्यसचिव टंकलाल घिसिङलाई फोन गर्दा उनी सम्पर्कमै आउन चाहेनन्।

बहाना बनाउँदै गृह मन्त्रालयदेखि प्रहरीसम्म

गत वर्ष क्यानले एनपिएलमा वुल्फत्रिपलसेभेनको प्रचार गरेपछि प्रहरीले मैदानको अनुगमन गरेर ‘एनपीएलको मैदानमा कानुनले प्रतिबन्ध गरेको जुवाको प्रवर्धन भइरहेको’ प्रतिवेदनसहित गृह मन्त्रालयमा नियन्त्रण गर्ने सम्बन्धमा पत्राचार गरेको थियो।

मन्त्रालयले जुवा खेलाउने ब्रान्डको पछाडि न्युज जोडिएको र यो सञ्चार मन्त्रालयको कार्यक्षेत्र भएको भन्दै जिम्मेवारी पन्छाएको थियो।

एनपीएलको दोस्रो शृङ्खलामा पनि जुवा खेलाउने अर्को कम्पनी डाफाबेटको सरोगेट ब्रान्ड डाफान्युजको प्रचार भइरहेकोबारे गृह मन्त्रालयका सूचना अधिकार रवीन्द्र आचार्यसँग जिज्ञासा राख्दा उनले यस यस प्रकारको काम भएको खण्डमा प्रहरीलाई नै पत्राचार गर्ने व्यवस्था रहेको बताएर पन्छिए।

“मन्त्रालयमा आएको जानकारी प्रहरीलाई कार्यान्वयनको लागि पठाउने नै हो। प्रहरीमा उजुरी परेमा थप अनुसन्धान गर्नेछ” उनले भने।

प्रहरी प्रवक्ता अबि नारायण काफ्लेले क्रिकेट मैदानमा सार्वजनिक रूपमा भइरहेको बदमासीमा पनि  उजुरी परेको खण्डमा अनुसन्धान हुने भन्ने बहाना बनाए। जबकि कानुन अनुसार कतै गैर कानुनी काम भएको देखेको अवस्थामा प्रहरी आफैँले प्रतिवेदन बनाएर अनुसन्धान सुरु गर्न सक्छ।

मैदानको सुरक्षा लगायत त्यहाँ हुनसक्ने आपराधिक गतिविधिको निगरानीको कार्यक्षेत्र  जिल्ला प्रहरी परिसर काठमाडौंको हो। उकेराले काठमाडौं परिसरका प्रवक्ता एसपी पवन कुमार भट्टराईसँग यसबारे बुझ्दा उनले निगरानी गरेको जवाफ दिए। मैदानमा भइरहेको जुवाको सरोगेटको विज्ञापनको कस्तो निगरानी गरिरहेको हो त्यो भने खुलाउन सकेनन्।

उनले भने ‘कैफियत देखिए त्यसलाई हटाउने, नियन्त्रणमा लिने गर्छौँ। हामीले यसबारे हेर्दै छौँ।”

एनपीएलबारे उकेराको श्रृंखला:

मंसिर ४, २०८२ बिहीबार २३:१०:०४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।