बाराको जेनजी प्रदर्शनको विरोधमा काठमाडौंमा एमालेको मशाल जुलुस
काठमाडौं : बाराको सिमरामा एमालेविरुद्ध सुधन गुरुङ समूहको जेनजी समूहले आन्दोलन गरिरहेको बेलामा काठमाडौंमा एमाले निकट विद्यार्थी संगठन पनि विरोध प्रदर्शनमा उत्रिएको छ। काठमाडौंमा अराजकताको अन्त्यको माग गर्दै अनेरास्ववियुले मसाल जुलुस सहित विरोध प्रदर्शन गरेको थियो।
विरोध प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेर मसाल खोसेको थियो। बारामा आफ्नो पार्टीको विरोधमा भएको आन्दोलनले दलहरूको शान्तिपूर्ण कार्यक्रममाथिको हस्तक्षेप भन्दै उनीहरूले विरोध प्रदर्शन गरेका हुन्। बारामा एमालेको युवा संघको आयोजना हुन लागेको कार्यक्रममा एमाले महासचिव शंकर पोखरेल र महेश बस्नेतलाई सहभागी हुन नदिन बुधवार जेनजीको एक समूहले सुरु गरेको विरोध प्रदर्शन हिंसात्मक बनेपछि स्थानीय प्रशासनले कर्फ्यु आदेश जारी गरेको थियो।
उनीहरूले बिहीबार पनि प्रदर्शन गरेर महेश बस्नेतलाई पक्राउ गर्न माग गरेपछि त्यसको विरोधमा काठमाडौंमा एमालेको विद्यार्थी संगठनले विरोध प्रदर्शन गरेको हो। एमालेले सुशीला कार्कीको सरकार अवैधानिक भएको भन्दै सरकार विरुद्ध आन्दोलन चर्काउने तयारी गरिरहेको छ। एमालेले सरकारलाई अपदस्थ गर्न सडक र अदालत दुवैको प्रयोग गर्ने रणनीति अनुसार सर्वोच्च अदालतमा रिट दायरको तयारी समेत गरेको छ।
मंसिर ४, २०८२ बिहीबार १९:०५:३७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।