फागुन २१ को निर्वाचनको सुरक्षामा सेना परिचालन गर्न राष्ट्रिय सुरक्षा परिषद्को सिफारिस
काठमाडौं : राष्ट्रिय सुरक्षा परिषद्को बैठकले फागुन २१ को निर्वाचनको सुरक्षाका लागि नेपाली सेना परिचालन गर्न मन्त्रिपरिषद्मा सिफारिस गर्ने निर्णय गरेको छ। परिषद्को सिंहदरबारमा रहेको सचिवालयमा बसेको बैठकले फागुन २१ को प्रतिनिधि सभा सदस्यहरूको निर्वाचनको सुरक्षाका लागि सेना परिचालन गर्न मन्त्रिपरिषद्मा सिफारिस गर्ने निर्णय गरेको हो।
सो निर्णयमा कहिलेबाट सेना परिचालन गर्ने भन्ने मिति भने उल्लेख गरेको छैन। संवैधानिक प्रावधान अनुसार परिषद्को सिफारिस अनुसार मन्त्रीपरिषद्ले निर्णय गरेपछि राष्ट्रपतिबाट अनुमोदन हुनुपर्ने छ।
बाराको सिमरामा भइरहेको आन्दोलन लगायतका विषयमा छलफलका लागि बसेको परिषद् बैठकले परिषद्को आठौँ वार्षिक प्रतिवेदनको मस्यौदामा आवश्यक संशोधनसहित स्वीकृत गरेर राष्ट्रपति समक्ष पेस गर्ने निर्णय समेत गरेको रक्षा सचिव सुमनराज अर्यालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। विज्ञप्तिमा राष्ट्रिय तथा अन्तराष्ट्रियस्तरका घटनाक्रम र त्यसले नेपालको राष्ट्रिय सुरक्षामा पार्न सक्ने प्रभाव र चुनौतीबारे छलफल भएको उल्लेख छ।
मंसिर ४, २०८२ बिहीबार १८:४५:२८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।