गृहमन्त्रीको विरोधमा सुधन समूहले सिमरामा आन्दोलन चर्काएपछि केन्द्रमा सुरक्षा परिषद्को बैठक
काठमाडौं : एमालेका नेताहरूलाई रोक्न भन्दै सुधन गुरुङ समूहले बाराको सिमरामा सुरु गरेको प्रदर्शन हिंसात्मक बनेपछि सुरक्षा जोखिमको मूल्याङ्कन गरेर रणनीति बनाउन राष्ट्रिय सुरक्षा परिषद्को बैठक बसेको छ। सिमराको घटनाबारे समीक्षा गर्न केन्द्रीय सुरक्षा समितिको समेत बैठक बसेको थियो।
बुधवार सुरु भएको प्रदर्शन बिहीबार पनि जारी रहेको र जेनजीको नाममा तोडफोड र हिंसात्मक घटना बढेपछि बिहीबार प्रधानमन्त्री सुशीला कार्कीले आफ्नो अध्यक्षतामा रहेको सुरक्षा परिषद्को बैठक राखिन्। सिंहदरबारस्थित सुरक्षा परिषद्को सचिवालयमा बसिरहेको परिषद्को बैठकमा प्रधानमन्त्री कार्की, गृहमन्त्री ओमप्रकाश अर्याल, प्रधानसेनापति अशोकराज सिग्देल, मुख्यसचिव लगायतकाहरु सहभागी छन्।
बुधवार सिमरामा एमालेको युवा संघको कार्यक्रममा काठमाडौँबाट एमालेका नेताहरू आउने भएपछि उनीहरूलाई रोक्न जेनजीको नाममा सुधन गुरुङको समूहका युवाहरू विमानस्थल पुगेर तोडफोड गरेका थिए। आफ्नो दलको नेताहरूलाई आउन अवरोध गरेको भन्दै एमालेका नेताहरू समेत प्रतिरोधमा उत्रिएपछि अवस्था बिग्रियो। लगत्तै जिल्ला प्रशासन कार्यालयले निश्चित स्थानमा कर्फ्यु आदेश जारी गरेको थियो।
बुधवार साँझ ८ बजेसम्म लगाइएको कर्फ्यु हटे पनि बिहीबार पुनः अवस्था तनावग्रस्त बनेपछि पुन कर्फ्युको घोषणा गरियो। बिहीबारै सुधनले सामाजिक सञ्जालमा गृहमन्त्री अर्याल लक्षित गरेर मौनतालाई कमजोरी नठान्न भन्दै जनआन्दोलनको ज्वालामुखी उठ्दै गरेको लेखेका थिए। उनले निरन्तर गृहमन्त्री अर्यालको राजीनामा मागिरहेका छन्।
उनले सामाजिक सञ्जालबाट निरन्तर बाराको सिमरामा जेनजीहरुले गरिरहेको प्रदर्शनका भिडियोहरू सेयर गर्दै माहौल उत्तेजित बनाइरहेका छन्। उनले सिमराका जनताले देखाएको हिम्मत देशभरका जनताले देखाउन जरुरी रहेको भन्दै एमाले विरोधी आन्दोलन सुरु गरेका आफ्नो समूहको जिल्ला नेता सम्राट् उपाध्यायलाई धन्यवाद दिएका छन्।
सम्राट्ले कुटपिटमा संलग्नहरूलाई कारबाही गर्न माग गरिरहेका छन्। प्रहरीले कुटपिटमा संलग्न रहेको भन्दै एमालेका दुईजना वडाध्यक्षलाई पक्राउ गरे पनि उनीहरूले प्रदर्शन रोकेका छैनन्। सम्राट्ले एमालेका नेता महेश बस्नेतलाई पक्राउ र कारबाहीको माग गरिरहेका छन्। उनले मधेस प्रदेशै ठप्प पार्ने चेतावनी दिइरहेका छन्।
मंसिर ४, २०८२ बिहीबार १७:५९:३९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।