रविको वकिलको निवेदनपछि सुनुवाई स्थगित

रविको वकिलको निवेदनपछि सुनुवाई स्थगित

काठमाडौं : रवि लामिछानेको कानुन व्यवसायीले निवेदन दिएपछि सहकारी ठगीसम्बन्धी कसुर र संगठित अपराध अभियोगको सुनुवाइ स्थगित भएको छ।

उच्च अदालत तुलसीपुरमा बिहीबार रवि लामिछाने र छविलाल जोशीको मुद्दाको सुनुवाइ थियो। रविका कानुन व्यवसायीहरूले सुनुवाइ स्थगित गर्न निवेदन दिएपछि बिहीबारको पेसी स्थगित भएको हो।

बुटवलको सुप्रिम सहकारी ठगीसम्बन्धी मुद्दामा लामिछाने पुर्पक्षका लागि थुनामा छन्। सुप्रिम सहकारी ठगीमा लामिछानेसहितका प्रतिवादीलाई १० करोड ९९ लाख ३६ हजार रुपैयाँ सामूहिक बिगो कायम गरेर अभियोग पत्र दायर गरिएको थियो।

उनले जिल्ला अदालत रुपन्देहीमा सहकारीमा भएको अपचलनको आफ्नो हिस्साको बिगो रकम दाखिला गरेर सहकारी ठगी मुद्दाबाट छुटकारा दिलाई थुनामुक्त गर्न माग गरेका थिए। लामिछाने जस्तै जोशीले पनि आफ्नो हिस्साको बिगो रकम दाखिला गरेका थिए। तर, अदालतले दुवैलाई रिहा गर्न अस्वीकार गर्यो। त्यसपछि उनीहरू उच्च अदालतमा गएका हुन्।

यसअघि कात्तिक २७ गते भएको सुनुवाइमा न्यायाधीशहरू वासुदेव आचार्य र ओमप्रसाद अर्यालको संयुक्त इजलासले सर्वोच्च अदालतमा रहेको मूल अभियोग मिसिल मगाउने आदेश दिएको थियो। मूल मुद्दाको सक्कल मिसिल प्राप्त भएपछि आज बिहीबारका लागि पेसी तोकिएको थियो। 

सुप्रिम सहकारी ठगी प्रकरणमा गत चैत २२ गते उच्च अदालत तुलसीपुरको बुटवल इजलासले लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो। सर्वोच्च अदालतले पनि उच्च अदालतकै आदेश सदर गरेको थियो। उनी हाल ललितपुरको नख्खु कारागारमा छन्। उनीविरूद्ध कास्की, काठमाडौं, चितवन र पर्सामा पनि सहकारी ठगीका मुद्दा छन्।

मंसिर ४, २०८२ बिहीबार १५:२३:२१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।