अमेरिकी रिपोर्टको दाबी- ‘अपरेशन सिन्दूर’मा पाकिस्तानले भारतलाई हरायो, ‘पहलगाम हमला’ आतंकवादी आक्रमण होइन

अमेरिकी रिपोर्टको दाबी- ‘अपरेशन सिन्दूर’मा पाकिस्तानले भारतलाई हरायो, ‘पहलगाम हमला’ आतंकवादी आक्रमण होइन

एजेन्सी : एक अमेरिकी आयोगको रिपोर्टले भारत र पाकिस्तानबीचको सम्भावित सैन्य द्वन्द्व र हतियार क्षमतालाई लिएर गम्भीर दाबी गरेको छ।

‘युएस-चाइना इकोनोमिक एण्ड सेक्युरिटी रिभ्यु कमिसन’ (युएससीसी)द्वारा जारी ८०० पृष्ठको उक्त रिपोर्टमा मे २०२५ मा भएको मानिएको ४ दिनको युद्धमा पाकिस्तानले ठूलो सैन्य सफलता हात पारेको दाबी गरिएको छ।

प्रतिवेदनमा ‘पहलगाम आक्रमण’लाई आतंकवादी हमला नभई ‘विद्रोही हमला’को संज्ञा दिइएको छ।

रिपोर्टका अनुसार पाकिस्तानले सो युद्धमा कम्तीमा ६ वटा भारतीय लडाकु विमान खसालेको दाबी गरेको छ, जसमा फ्रान्सेली निर्मित अत्याधुनिक ‘राफेल’ जेट समेत समावेश छ।

रिपोर्टले राफेल खसालिएको दाबीले यसको अन्तर्राष्ट्रिय छविमा धक्का पुगेको उल्लेख गरेको छ। यद्यपि, रिपोर्टले स्वतन्त्र रूपमा केवल तीन वटा भारतीय विमान खसालिएको पुष्टि हुने जनाएको छ।

आयोगको दाबी अनुसार, चीनले यो भारत-पाकिस्तान युद्धलाई आफ्ना आधुनिक हतियारहरू ‘लाइभ वार’मा परीक्षण गर्ने र विश्व बजारमा देखाउने मौकाको रूपमा प्रयोग गर्यो।

युद्धपछि चिनियाँ दूतावासहरूले आफ्ना हतियारको प्रशंसा गर्दै पाकिस्तानी सफलताको श्रेय आफ्ना प्रविधिलाई दिएका थिए।

पाकिस्तानलाई चीनको ‘इन्टेलिजेन्स’ सहयोग
रिपोर्टमा उल्लेख भएअनुसार युद्धका क्रममा पाकिस्तानले चीनबाट प्राप्त एचक्यू-९ एयर डिफेन्स सिस्टम, पीएल-१५ मिसाइल र जे-१० फाइटर जेटको प्रयोग गरेको थियो।

भारतले सो क्रममा पाकिस्तानलाई चीनले गोप्य जासुसी सूचना (इन्टेलिजेन्स) उपलब्ध गराएको दाबी गरे पनि पाकिस्तानले त्यसलाई अस्वीकार गरेको छ।

तथ्यांक अनुसार सन् २०१९ देखि २०२३ बिच पाकिस्तानले भित्र्याएको कुल हतियारमध्ये ८२ प्रतिशत चीनबाट आएको छ।

यही द्वन्द्वको ५ महिनापछि चीनले इन्डोनेसियासँग ७५ हजार करोड रुपैयाँ बराबरको ४२ वटा जे-१०सी फाइटर जेट बेच्ने सम्झौता गरेको थियो, जसलाई युद्धमा देखिएको चिनियाँ हतियारको प्रभावकारितासँग जोडिएको छ।

भारतमा विरोध, चीनले भन्यो- पूर्वाग्रही रिपोर्ट
भारतीय कांग्रेसका नेता जयराम रमेशले उक्त अमेरिकी रिपोर्टप्रति कडा आपत्ति जनाएका छन्।

उनले सामाजिक सञ्जालमा प्रश्न गर्दै भनेका छन्, ‘के प्रधानमन्त्री र विदेश मन्त्रालयले यसमा आफ्नो आपत्ति दर्ता गराउलान्? यो हाम्रो कूटनीतिमा लागेको अर्को ठूलो धक्का हो।’

उता, चिनियाँ सरकारी सञ्चारमाध्यम ‘ग्लोबल टाइम्स’ले युएससीसीको रिपोर्टलाई खारेज गरेको छ। पत्रिकाले रिपोर्ट राजनीतिक उद्देश्यले प्रेरित रहेको र यसले निष्पक्ष विश्लेषण नगरेको आरोप लगाएको छ।

‘अमेरिकाले चीनको विकासलाई खतराको रूपमा प्रस्तुत गर्ने पुरानै रटान दोहोर्याएको छ’, ग्लोबल टाइम्सले लेखेको छ।

साथै, चीनले नभई अमेरिकाले नै सप्लाई चेन र प्रविधिलाई हतियारको रूपमा प्रयोग गरिरहेको चीनको जिकिर छ।

युएससीसी अमेरिकाको रिपब्लिकन र डेमोक्र्याट दुवै दलका प्रतिनिधि सम्मिलित एक आयोग हो। यसले चीन र अमेरिकाबिचको आर्थिक तथा सुरक्षा सम्बन्धको निगरानी गर्छ र अमेरिकी संसदलाई चीनबाट सिर्जना हुने चुनौतीहरूको सामना कसरी गर्ने भन्नेबारे सुझाव दिन्छ।

मंसिर ४, २०८२ बिहीबार १४:०९:०६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।