बाराको सिमरा र जीतपुर क्षेत्रमा राति ८ बजेसम्म कर्फ्यू
बारा : सिमरा विमानस्थल तथा जीतपुर सिमरा आसपासको क्षेत्रमा तनाव बढेपछि जिल्ला प्रशासन कार्यालय बाराले आज दिउँसो १ बजेदेखि लागु हुनेगरी कर्फ्यू आदेश जारी गरेको छ।
सिमरा विमानस्थल तथा जीतपुर सिमरा आसपासका क्षेत्रमा सुधन गुरुङ नेतृत्वका जेन-जी युवाहरूको प्रदर्शनका कारण हुनसक्ने जनधनको क्षति रोक्न र परिस्थितिलाई थप बिग्रन नदिन स्थानीय प्रशासनले यो कदम चालेको हो।
प्रमुख जिल्ला अधिकारीद्वारा जारी आदेश अनुसार, दिउँसो १ बजेदेखि राति ८ बजेसम्मका लागि तोकिएको क्षेत्रमा हिँडडुल गर्न, भेला हुन, जुलुस तथा प्रदर्शन गर्न पूर्ण रूपमा रोक लगाइएको छ। स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) र (ख) बमोजिम यो आदेश जारी गरिएको हो।

कर्फ्यू पथलैया चोकदेखि जीतपुर लल्का पुलसम्म राजमार्गको दायाँ-बायाँ ५०० मिटरसम्म र सिमरा विमानस्थल वरपर ५०० मिटर क्षेत्रसम्म जारी गरिएको छ।
प्रशासनले कर्फ्यू अवधिभर अत्यावश्यक सेवालाई भने अवरोध नगर्ने जनाएको छ। एम्बुलेन्स, दमकल, शव वाहन, स्वास्थ्यकर्मी, सञ्चारकर्मी, पर्यटक बोकेका सवारी साधन, मानव अधिकारकर्मी तथा कूटनीतिक नियोगका सवारी साधनहरू निर्वाध रूपमा चल्न पाउनेछन्।
साथै, हवाई टिकट भएका यात्रुहरूको आवागमनमा सुरक्षाकर्मीहरूले आवश्यक सहजीकरण गर्ने पनि सूचनामा उल्लेख गरिएको छ। तोकिएको आदेश उल्लंघन गरेमा कानुन बमोजिम कारबाही हुने प्रशासनले चेतावनी दिएको छ।
यसअघि हिजो पनि एमाले महासचिव शंकर पोखरेल र नेता महेश बस्नेत बारा जाने भनेपछि गुरुङ नेतृत्वको समूहका युवाहरू सिमरा विमानस्थल र आसपासको क्षेत्रमा प्रदर्शन गरेका थिए। जसका कारण एमाले कार्यकर्ता र गुरुङ नेतृत्वको युवाहरूबीच झडप भएको थियो।
बारामा भएको झडपपछि आफूलाई जेन-जी आन्दोलनको नेतृत्वकर्ता दाबी गर्ने हामी नेपाल संस्थाका संस्थापक गुरुङले सिमरामा भएको घटना गृहमन्त्रीको लाचारीपनका कारण घटेको आरोप लगाएका थिए। जेन-जीको शान्तिपूर्ण कार्यक्रममा एमालेद्वारा परिचालित समूह प्रवेश गरी अपमान र कुटपिट गरेको उनको दाबी थियो।
मंसिर ४, २०८२ बिहीबार १३:१५:३६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।