नाट्यकर्मी मदन थापाको हिजोका कुरा : बालाजुको पिकनिकमै नारायण गोपालको जागिर खोसियो, डान्स सिक्दा भत्ता पाइन्थ्यो
काठमाडौंको ज्ञानेश्वरमा ६५ वर्षअघि जन्मिएका कलाकार मदन थापा त्यहीँका रैथाने हुन्। जीवनको ६ दशक लामो यात्रामा उनले रङ्गमञ्चमा थुप्रै आरोह-अवरोह खेपे।
एसएलसीसम्मको अध्ययन सकेपछि तत्कालीन रोयल नेपाल एकेडेमीमा नृत्यको प्रशिक्षण लिए। त्यो समयमा कलाकार बन्न सिक्न आउनेलाई सरकारले नै पारिश्रमिक दिन्थ्यो। काठमाडौंका स्थानीयलाई मासिक २०० र बाहिरबाट आउनेलाई ३०० रुपैयाँ भत्ता मिल्थ्यो।
नृत्य सिक्दासिक्दै उनलाई राष्ट्रिय नाचघरबाट जागिरको प्रस्ताव आयो। मासिक तलब थियो- ४२० रुपैयाँ। त्यो समयमा चर्चित नाटकहरू ‘दुर्गा अवतार’, ‘संजोग’, ‘मुना मदन’ लगायत दर्जनौँ नाटकमा उनले अभिनयको कौशल देखाए।
ती नाटकहरूमा उनी अक्सर ‘हिरो’ को भूमिकामा देखिन्थे। उनको जोडीका रूपमा मिथिला शर्मा, विमला श्रेष्ठलगायतका दिग्गज अभिनेत्रीहरू हुन्थे। त्यो समयमा फिल्म कमै बन्थे। नाटक गर्दागर्दै उनले फिल्म ‘बदलिँदो आकाश’ को देउसी गीतमा नाच्ने मौका पाए।
पछि ‘के घर के डेरा’ र ‘जीवन रेखा’ जस्ता फिल्ममा पनि काम गरे। तर, फिल्मको पर्दाभन्दा नाचघरको रङ्गमञ्च र त्यहाँको जागिरमै उनको मन बस्यो। विशेषतः स्वरसम्राट नारायण गोपालको पहलमा उनी नाचघरको जागिरे भएका थिए।
आफ्नो जीवनका ती पुराना पानाहरू पल्टाउँदै मदन थापाले ‘उकेरा’को स्तम्भ ‘हिजोको कुरा’मा आफ्ना अनुभव यसरी साटेः
स्कुल फेरिरहने बानी र विजय स्मारकको त्यो झगडा
मेरो जन्म २०१७ सालमा काठमाडौंको ज्ञानेश्वरमा भएको हो। मैले थाहा पाउँदादेखि नै यो ठाउँको नाम ज्ञानेश्वर थियो, जुन आजसम्म फेरिएको छैन।
भैरव शान्ति स्थान नजिकै रहेको ज्ञान विकास माध्यमिक विद्यालयमा कक्षा ४ सम्म पढेँ। त्यसपछि डिल्लीबजारको विजय स्मारक स्कुलमा भर्ना भएँ, जहाँ १० कक्षासम्मको पढाइ चल्यो। तर, १० कक्षाको टेस्टमा म फेल भएँ।
मेरो सानैदेखिको एउटा जिद्दी स्वभाव थियो- जुन स्कुलमा फेल भएँ, त्यहाँ दोहोर्याएर पढ्दिनँ। यही जिद्दीले गर्दा मैले विजय स्मारक छोडेँ र रात्रिकालीन स्कुल ‘नन्दी मावि’ मा भर्ना भएँ।
हीँबाट मैले १६-१७ वर्षको उमेरमा एसएलसी पास गरेँ। त्यो समयमा स्कुलमा केटाकेटी सँगै पढ्थे, लैङ्गिक विभेद खासै थिएन। तर, अहिलेको जस्तो स्वतन्त्र जीवनशैली भने पक्कै थिएन।
विजय स्मारक स्कुल पढ्दाका धेरै घटना अझै मेरो मानसपटलमा ताजै छन्। म भर्ना हुँदा मेरो दाइ ५ कक्षाको सेक्सन ‘ए’मा र म सेक्सन ‘बी’मा थिएँ। नयाँ विद्यार्थी र पढाइमा अलि कमजोर भएकाले होला, कक्षाको एउटा केटोले मलाई सधैँ हेप्ने, जिस्क्याउने र हात हाल्ने गर्थ्यो।

मैले दाइलाई गुनासो गरेँ, ‘दाइ, यो केटाले मलाई सधैँ कुट्छ।’ तर दाइ सोझो हुनुहुन्थ्यो, ‘छोड्दे, झगडा नगर’ भन्नुभयो। एक दिन अति नै भएपछि मलाई रिस उठ्यो। उसले धकेल्ने बित्तिकै मैले झम्टिहालेँ र लछारपछार पारेँ।
झगडापछि डरले म भागेर कन्या मावि स्कुलको पर्खाल नाघेर गेटमा पुगेँ। तर गेट बन्द थियो। पाले दाइलाई धेरै बिन्ती गरेपछि बल्ल बाहिर निस्कन पाएँ।
डरले दुई दिन स्कुल गइनँ। तेस्रो दिन डराउँदै स्कुल जाँदा देखेँ- त्यो केटोको हातमा ब्यान्डेज बाँधिएको छ। मेरो कुटाइले उसको हात भाँचिएको रहेछ।
मलाई देख्नेबित्तिकै उसले सरलाई बोलायो। त्यो बेला सजाय दिने तरिका पनि गजबको थियो- सरले हातका औँलाको बीचमा पेन्सिल राखेर जोडले घुमाइदिनुभयो। म दुखेर हुरुक्कै भएँ।
सरले सोध्नुभयो, ‘अबदेखि झगडा गर्छस् कि गर्दैनस्?’ मैले ‘गर्दिनँ सर’ भनेँ। त्यसपछि मैले स्कुलमा कहिल्यै झगडा गरिनँ।
जानी-नजानी नाटकको यात्रा
१० कक्षामा पढ्दा सरहरूको दबाबमा मैले पहिलो पटक नाटकमा अभिनय गरेँ। विजय स्मारक स्कुलमा देखाइएको त्यो नाटकको नाम थियो- ‘पर्खालभित्र’। मलाई नाटकको ‘न’ पनि थाहा थिएन, तर सरले ‘खेल्नैपर्छ’ भनेपछि नाइँनास्ति पनि गरिनँ।
नाटकमा मेरो भूमिका ‘शम्शेर सिंह’ भन्ने पात्रको थियो। रमाइलो कुरा के भने, त्यो पात्रले चुरोट तान्नुपर्ने रहेछ। मैले कहिल्यै चुरोट छोएको पनि थिइनँ।
मैले भनेँ, ‘सर, म त चुरोट खान्नँ।’ सरले फकाउँदै भन्नुभयो, ‘नाटकका लागि खाएजस्तो गर न। आज तँलाई चुरोट तान्न छुट छ, हामी घरमा भन्दिदैनौँ।’
त्यही ‘छुट’ को लोभ र सरको करकापमा मैले अभिनय गरेँ। संयोगले, त्यो नाटक निकै राम्रो भयो।
नाच सिक्दा उल्टै पैसा पाइने त्यो जमाना
वि.सं. २०३९ सालमा म राष्ट्रिय नाचघरमा करारमा जागिरे भएँ। त्यसअघि मैले रोयल नेपाल एकेडेमी (अहिलेको प्रज्ञा प्रतिष्ठान) मा एक वर्षको डान्स कोर्स गरेको थिएँ।
अचम्मको कुरा, अहिले सिक्न जाँदा पैसा तिर्नुपर्छ, तर उतिबेला सिक्नेलाई उल्टै भत्ता दिइन्थ्यो। काठमाडौंकालाई २०० र बाहिरकालाई ३०० रुपैयाँ। मैले पनि त्यही भत्ता थापेर नाच्न सिकेँ।
एक दिन एकेडेमीमा अडिसनजस्तै भयो र पाँच जना कलाकार छानियौँ। जसमा म, चरण प्रधानलगायत थियौँ। त्यही वर्षको दशैंमा नाचघरमा ‘दुर्गा अवतार’ भन्ने ‘ब्याले’ नाटक मञ्चन हुने भयो।
ब्यालेमा संवाद हुँदैन, सङ्गीत र रिदमको तालमा कथा भनिन्छ। नाटकमा राक्षस महिषासुरले भगवानहरूलाई दुःख दिएपछि उनीहरू दुर्गा मातालाई गुहार्न जाने दृश्य थियो। त्यही भिडमा एउटा पात्र म पनि थिएँ।
यो नाटकमा मेरो सहभागिता पनि रोचक संयोगले भएको थियो। म एकेडेमीमा डान्स सिक्दै थिएँ, नृत्य निर्देशक बसन्त श्रेष्ठ दाइले सोध्नुभयो, ‘मदन, दिउँसो के गर्छौ?’ मैले भनेँ, ‘फुटबल खेल्न जान्छु।’ उहाँले भन्नुभयो, ‘नाचघरमा एउटा नाटक हुँदैछ, तिमीहरू पनि आऊ न!’
हामी नयाँ थियौँ, गयौँ। नाटकको केही मेसो नपाए पनि नाचियो, गरियो र सिकियो। एक महिनासम्म लगातार अभ्यास चल्यो। त्यो बेला नाचघरको महाप्रबन्धक स्वरसम्राट नारायण गोपाल हुनुहुन्थ्यो भने हाकिम इन्द्रनारायण मानन्धर।
नारायण गोपालको नजर र ४२० रुपैयाँको जागिर
मेरो अभिनय देखेर हुनुपर्छ, नारायण गोपालले हाकिमलाई सोध्न लगाउनुभएछ- ‘यी केटाहरूले जागिर खान्छन् कि खाँदैनन्?’
नाटक सकिएर घर फर्किन लाग्दा इन्द्रनारायण सरले सोध्नुभयो, ‘मदन, जागिर खाने हो?’
म त छक्क परेँ। सोझो पारामा जवाफ फर्काएँ, ‘फुटबल खेल्न जानुपर्छ आफूलाई त!’

उहाँले समय सोध्नुभयो। मैले ४ बजेपछि फुटबल खेल्छु भनेँ। मङ्सिर-पुसको महिना थियो। हिसाब गरेँ- दिउँसो काम गरेर पनि फुटबल खेल्न भ्याइँदो रहेछ। अनि ‘हुन्छ’ भनेँ।
भोलिपल्ट फोटो लिएर गएँ र नाचघरको जागिरे भएँ। २०४५/४६ सालसम्म गरी करिब ६ वर्ष काम गरेँ। हरेक ६ महिनामा करार थपिँदा ठूलो युद्ध जितेजस्तो खुसी लाग्थ्यो।
तलब थियो- ४२० रुपैयाँ। त्यो बेला ४२० रुपैयाँ भनेको धेरै ठूलो रकम थियो। हजुरआमालाई घरखर्च चलाउन एक-दुई सय रुपैयाँ दिँदा पनि उहाँ दङ्ग पर्नुहुन्थ्यो।
मिथिला शर्मासँग ‘हिरो’ बन्दाको डर
नाचघरमा रहँदा मैले १६ भन्दा बढी नाटकमा काम गरेँ। तीमध्ये सबैभन्दा यादगार रह्यो- गणेश रसिकको नाटक ‘संजोग’। जसमा नायिका थिइन्- मिथिला शर्मा र नायक थिएँ- म।
सुरुमा त मेरो सातो उड्यो। ‘मिथिला शर्माजस्तो कलाकारसँग म कसरी हिरो भएर खेल्न सक्छु?’ भनेर मैले त ‘सक्दिनँ’ भनिदिएँ। तर सरहरूले ‘तिमीले सक्छौ’ भनेर ढाडस दिनुभयो। त्यो आँटले काम गर्यो, नाटक सुपरहिट भयो।
मलाई भने आफ्नो अभिनय कहिल्यै राम्रो लागेन। मलाई लाग्थ्यो- म केही जान्दिनँ, अरू सबै जान्ने छन्। तर दर्शकले मन पराए।
नाटकमा नमिलेका कुरा मिथिला दिदीले सिकाउनुहुन्थ्यो। उहाँ स्वभावले अलि कम बोल्ने हुनुहुन्थ्यो, तर रिहर्सलमा खुब सघाउनुहुन्थ्यो। उहाँ मञ्चमा साँच्चिकै रोइदिनुहुन्थ्यो।
मलाई त रुन आउँदैन थियो, उहाँको आँसु देखेपछि म पनि भावुक बन्थेँ र ग्लिसिरिन हालेरै भए पनि आँसु झार्थेँ। त्यो बेला हामीसँग सुभद्रा अधिकारी, भुवन चन्द दिदीहरू पनि हुनुहुन्थ्यो।
त्यसपछि विराटनगरमा मञ्चन भएको ‘मुना मदन’ नाटकमा मैले ‘मदन’को भूमिका निभाएँ। मुना बन्नुभएको थियो- विमला श्रेष्ठ। चतुर्भुज आशावादीको त्यो नाटकमा नारायण गोपाललगायत दिग्गज कलाकारहरूको टोली विराटनगर पुगेको थियो।
‘ओ मदन, एक्टिङमा पावर पुगेन!’
विराटनगरमा नाटक सकिएपछि हामी खाना खान नजिकैको होटलमा गयौँ। नारायण गोपाल दाइ पल्लो टेबलमा बसेर उहाँको फेभरेट ‘याक’ चुरोट तान्दै हुनुहुन्थ्यो। एक्कासी मतिर हेरेर भन्नुभयो, ‘ओ मदन, तिम्रो एक्टिङमा पावर पुगेन है!’
मलाई मेरो कमजोरी थाहा थियो। गीतका शब्द र भावको गहिराइ म बुझ्दैनथेँ। अहिले जब म नारायण गोपालका गीत सुन्छु र शब्दमा डुब्छु, तब लाग्छ- त्यो बेला मैले यसरी बुझेको भए कति गज्जबको अभिनय गर्थेँ होला! उमेर र अनुभवको कमीले त्यो बेला मलाई ती भावले छुनै सकेका रहेनछन्।
बालाजुको पिकनिक र नारायण गोपालको बिदाइ
नारायण गोपाल मेरो जीएम मात्र होइन, एउटा रमाइलो अभिभावक पनि हुनुहुन्थ्यो। उहाँ सधैँ ठट्टा गर्ने, खुला दिलको मान्छे। पिउने बानी त उहाँको जगजाहेर नै थियो। तर सधैँ हँसाउने मान्छेलाई एक दिन मैले निकै भावुक देखेँ।
२०४०/४१ सालतिरको कुरा हो। १४ अञ्चलका नाट्यकर्मीहरूको भेला र नाटक महोत्सव सकिएपछि नाचघरले बालाजु बाइसधारामा पिकनिक आयोजना गरेको थियो।
माहोल रमाइलो थियो, सबै मस्त थिए। त्यही बेला कसैले उहाँको हातमा एउटा पत्र थमाइदियो। त्यो पत्रमा उहाँको बर्खास्तीको सूचना थियो।

त्यो पत्र हातमा परेपछि उहाँ बालाजुको एक कुनामा एक्लै टोलाएर बस्नुभयो। रमाइलो माहोल एकैछिनमा सन्नाटामा बदलियो। फर्कने बेलामा उहाँले गम्भीर हुँदै भन्नुभयो, ‘आजबाट म राष्ट्रिय नाचघरमा कहिल्यै पाइला टेक्दिनँ।’
नभन्दै, उहाँले त्यसपछि कहिल्यै नाचघर टेक्नुभएन।
विमला दिदीको साथ र मिथिला दिदीको स्वभाव
मिथिला शर्मासँग मैले २-३ महिना एउटै नाटकमा काम गरेँ। उहाँ काममा एकदमै पोख्त, उत्कृष्ट डान्सर। तर स्वभावले उहाँ कम बोल्ने, कामबाहेक अरूसँग खासै नखुल्ने।
भेट हुँदा ‘नमस्कार दिदी, के छ?’ भन्दा उहाँ पनि ‘ठिक छ’ भन्नुहुन्थ्यो, त्यत्ति हो। म पनि धेरै बोल्ने मान्छे होइन, त्यसैले हाम्रो सम्बन्ध काममै सीमित रह्यो।
तर, विमला श्रेष्ठ दिदी भने ठिक उल्टो। उहाँ एकदमै मिलनसार, बोल्ने र हौसला दिने। ‘मुना मदन’ मा मलाई मदन बनाउने नै उहाँ हो।
मैले ‘सक्दिनँ दिदी’ भन्दा उहाँले ‘चुप लाग, तिमीले सक्छौ, हामी छौँ नि’ भनेर जबरजस्ती मञ्चमा उभ्याउनुभयो। काममा सिकाउने शैली मिथिला दिदीको राम्रो थियो, तर आत्मैदेखि सपोर्ट गरेर अघि बढाउने बानी चाहिँ विमला दिदीको थियो।
मंसिर ४, २०८२ बिहीबार १२:००:३० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।