गृहमन्त्रीलाई सुधन गुरुङको चेतावनी : ‘मौनतालाई कमजोरी नठानियोस्, ज्वालामुखी फुट्न सक्छ’
काठमाडौं : ‘हामी नेपाल’का संस्थापक सुधन गुरुङले गृहमन्त्री ओमप्रकाश अर्याललाई आफ्नो मौनतालाई कमजोरी नठान्न चेतावनी दिएका छन्।
मध्यरातमा सामाजिक सञ्जालमार्फत ‘द काउन्सिल अफ जेन-जी’ को ब्यानरमा धारणा राख्दै गुरुङले सिमरा घटनालाई लिएर गृहमन्त्रीको कडा आलोचना गरेका हुन्।
उनले हिजो सिमरामा भएको घटना गृहमन्त्रीको लाचारीपनका कारण घटेको आरोप लगाएका छन्। जेन-जीको शान्तिपूर्ण कार्यक्रममा एमालेद्वारा परिचालित समूह प्रवेश गरी अपमान र कुटपिट गरेको उनको दाबी छ।
गुरुङले गृहमन्त्री अर्याललाई सडकको रगत र जेन-जीको बलिदानबाट पदमा पुगेको कुरा नबिर्सन सचेत गराएका छन्।
उनले भनेका छन्, ‘गृहमन्त्रीले आफू आन्दोलनको म्यान्डेटबाट बनेको कुरा बिर्सिएको देखेर लाज पनि लजाइसक्यो।’
उनले देशका लागि लड्ने योद्धाहरूमाथि कुटपिट हुँदा कानमा तेल हालेर बस्ने र उल्टै पीडितलाई पक्राउ गर्ने प्रवृत्तिविरुद्ध आक्रोश पोखेका छन्।
गुरुङले यदि गृहमन्त्रीले भ्रष्टाचारी र अपराधीलाई समात्न सक्दैनन् भने राजीनामा दिनुपर्ने बताएका छन्।
उनले चेतावनी दिँदै भने, ‘यदि देशप्रेमी भाइबहिनीहरूलाई पक्राउ गरिन्छ भने ‘मलाई पनि पक्राउ गर’ भन्ने राष्ट्रिय अभियान चलाउने चुनौती दिन्छु।’
उनले अपराधीहरूले खुला चुनौती दिँदा सरकार चुप लागेर बसेको खण्डमा ठूलो जनआन्दोलनको ज्वालामुखी फुट्ने चेतावनी दिएका छन्।
‘हाम्रो मौनतालाई कमजोरी नठान्नू, आज देखिएको प्रतिक्रिया त केवल एउटा झल्को मात्र हो’, गुरुङले उल्लेख गरेका छन्।
पछिल्लो समय गुरुङ गृहमन्त्री अर्यालका काम कारबाहीप्रति आक्रामक रूपमा प्रस्तुत हुँदै आएका छन्।
मंसिर ४, २०८२ बिहीबार ०८:५७:४८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।