सुदूरपश्चिमको जर्सीमा अनलाइन जुवा खेलाउने बाजीको प्रचार

सुदूरपश्चिमको जर्सीमा अनलाइन जुवा खेलाउने बाजीको प्रचार

काठमाडौं : नेपाल प्रिमियर लिगमा सहभागी टोलीमध्ये सुदूरपश्चिम रोयल्सले समेत अनलाइन जुवा खेलाउने बाजीको प्रचार गरेको छ। सुदूरपश्चिमले आफ्नो जर्सीको पछाडि मुख्य भागमा बाजीको लोगोको प्रयोग गरेको छ। बुधवार त्रिवि क्रिकेट मैदानमा भएको खेलमा मैदानमा उत्रिएका सुदूरपश्चिमका सबै खेलाडीको जर्सीको पछाडि बाजीको लोगो राखिएको थियो। गत वर्ष पनि सुदूरपश्चिम टिमले अनलाइन जुवा खेलाउने कम्पनीको प्रचार गरेको थियो।

एनपिएलमा आयोजक नेपाल क्रिकेट सङ्घले समेत अनलाइन जुवा खेलाउने कम्पनीको सरोगेट विज्ञापन राखेर अनलाइन जुवाको प्रचार गरिरहेका छन्। गत वर्ष क्यानले एनपिएलमा वुल्फत्रिपलसेभेन नामको अनलाइन जुवा खेलाउने कम्पनीको प्रचार गरेको थियो। एनपिएल-२ मा एनपिएलको मैदान अनलाइन जुवा खेलाउने डाफाबेटको सरोगेट ब्रान्ड डाफान्युजको प्रचार गरिरहेको छ।

नेपालको कानुनले जुवा खेल्न, खेलाउन र जुवाको प्रचार गर्न प्रतिबन्ध लगाएको छ। तर क्यानले चोरबाटो समातेर सरोगेट विज्ञापन मार्फत नेपालमा अनलाइन जुवाको प्रचार गरिरहेका छन्। विश्वका अन्य देशमा हुने खेलमा पनि अनलाइन जुवा खेलाउने कम्पनीको सरोगेट प्रचार हुने भन्दै क्यानका पदाधिकारीले यो अवैध कामको बचाउ गर्ने गरेका छन्।

तर गत वर्ष विज्ञापन बोर्डले क्यानले एनपिएलको मैदानमा गैर कानुनी विज्ञापन राखेर प्रचार गरेको भन्दै दुई कम्पनीलाई १० हजार जरिवाना र तीन महिना प्रतिबन्ध लगाएको थियो। प्रतिबन्धमा पर्नेमा भारतीय कम्पनी टिसिएम समेत थियो। यस पटक क्यानले कुनै कम्पनीलाई बजार प्रवर्धनमा प्रयोग गरेको छैन। उसले औपचारिक रूपमा टिसिएमसँग कुनै सम्झौता गरेको छैन। तर एनपिएलको प्रसारणदेखि अन्य व्यवस्थापनमा समेत टिसिएमको टिम प्रत्यक्ष सहभागी रहेको एनपिएलबारे जानकारस्रोतले उकेरालाई जानकारी दियो।

विज्ञापन बोर्डले डाफान्युजको समेत प्रचारमा रोक लगाए पनि क्यानले एनपिएलको मैदानमै त्यसको प्रचार गरेपछि कारबाही प्रक्रिया सुरु गर्दै बोर्डले क्यानलाई स्पष्टीकरण सोधिसकेको छ।

मंसिर ३, २०८२ बुधबार २१:१७:४३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।