कांग्रेस सुधारका लागि युवा मोर्चा सक्रिय, संयोजन समिति गठन
काठमाडौं : नेपाली कांग्रेसका युवा नेताहरूले कांग्रेस सुधार अभियान सुरु गरेका छन्। कांग्रेसमा आस्थावान् ४० वर्ष मुनिका युवाले पार्टीभित्र युवाको सम्मानजनक सहभागिता प्रतिनिधित्व सुनिश्चित हुनुपर्ने माग गर्दै बुधवार १०१ सदस्यीय कांग्रेस सुधार अभियान केन्द्रीय संयोजन समिति गठन गरेका हुन्।
पार्टीभित्र आमूल सुधार र रुपान्तरणका लागि पार्टीका हरेक तह र पार्टीका तर्फबाट तीन वटै तहमा हुने निर्वाचनमा ४० वर्षमुनिका ४० प्रतिशत युवाको प्रतिनिधित्व सुनिश्चितताको लागि दबाब दिन संयोजन समिति गठन गरिएको नेपाल विद्यार्थी सङ्घका पूर्व कोषाध्यक्ष शिव रिमालले जानकारी दिए।
उक्त समितिले खबरदारी गर्दै सुशासन कायम गर्न, पार्टीका तर्फबाट हरेक निकायको निर्वाचनमा उम्मेदवार छनोट गर्दा ‘प्राइमरी इलेक्सन’को व्यवस्था गराउनसमेत माग गरेको छ। पाटीभित्र विधानको संशोधन, लोकतन्त्रको संरक्षण, संवर्द्धनका लागि खबरदारी, नयाँ बहस र पैरवीका लागि सुरुआती चरणमा प्रतिनिधिमूलक रूपमा समिति गठन गरिएको रिमालले बताए।
मंसिर ३, २०८२ बुधबार २०:०३:०६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।