बारामा एमाले विरुद्ध सुधन समूहको बबन्डर, केन्द्रमा दल फकाउन प्रधानमन्त्रीको बैठक
काठमाडौं : निर्वाचनको वातावरण बनाउन केन्द्रमा प्रधानमन्त्री सुशीला कार्कीले दलका प्रतिनिधीहरुलाई बोलाएर सहभागी हुन आग्रह गरिन्। निर्वाचनमार्फत सत्ता हस्तान्तरणका लागि आतुरी देखाइरहेकी प्रधानमन्त्रीले दलका प्रतिनिधिहरू बोलाएर निर्वाचनमा लागि दल दर्ता गर्न आग्रह गरिन्।
उनले दलका प्रतिनिधीहरुलाई निर्वाचनका लागि आवश्यक शान्ति सुरक्षाको माहौल बनाउन सरकार सक्रिय रहेको दाबी गरिरहँदा जेनजीको नाममा बारामा एमालेको कार्यक्रम हुन नदिन विमानस्थलमै बबन्डर गरियो।
एमालेले परवानीपुरमा मधेस प्रदेशस्तरीय युवा भेला राखेको थियो। बुधवार हुने सो कार्यक्रममा सम्बोधन गर्न काठमाडौँबाट एमाले महासचिव शंकर पोखरेल र महेश बस्नेत बाराको सिमरा विमानस्थलमा जाँदै थिए।
तर जेनजी प्रदर्शनकारी भन्दै विमानस्थलमा हस्तक्षेप गरियो। विमानस्थलको गेट फुटाउँदै उनीहरू एमाले नेताहरूलाई सिमरा विमानस्थलमा आउन नदिन धावनमार्गसम्म पुगेपछि एमाले युवाहरू समेत विरोध प्रदर्शनमा उत्रिएका थिए।
दुवै पक्षबीच झडप हुन थालेपछि स्थानीय प्रशासनले कर्फ्यु आदेश नै जारी गर्यो। बारा जान लागेका एमाले नेताहरू काठमाडौंको विमानस्थलमा गएर फर्किए।
बाराको सिमरामा भएको घटनाले दलहरूलाई सार्वजनिक रूपमा राजनीतिक गतिविधि गर्नसक्ने अवस्था नरहेको भन्दै एमालेदेखि नेपाली कांग्रेस र राष्ट्रिय स्वतन्त्र पार्टीसम्मले विरोध गरे।
भएको के हो?
संसद् पुनर्स्थापनाको माग गरिरहेको एमालेले बारामा मधेस प्रदेशस्तरीय भेला राखेको थियो। त्यही कार्यक्रममा भेला हुन काठमाडौँबाट एमालेका नेताहरू हवाई मार्गबाट सिमरा विमानस्थलमा जाने तयारी गरेका थिए।
कार्यक्रम घोषणा भए लगत्तै मंगलबारबाटै एमालेका नेताहरूलाई बारा आउन नदिने भन्दै जेनजी अगुवाको नाममा सम्राट् उपाध्यायले सामाजिक सञ्जालमा लेखेका थिए। उनी सुधन गुरुङ समूहका बाराका अध्यक्ष हुन्।
उनले सिमरा विमानस्थलमा घेराउन गर्न आव्हान गरेका थिए। उनले मंगलबार बेलुका आफ्नो सो सन्देश हटाएका थिए। तर बुधवार पुन सामाजिक सञ्जालमा एमालेका नेताहरूलाई बारामा आउन नदिन सिमरा विमानस्थल अगाडि विरोध प्रदर्शन गर्न आव्हान गरेका थिए।
उनको आव्हानपछि केही युवाहरू सिमरा विमानस्थल अगाडि भेला भएका थिए। सानो सङ्ख्यामा रहेका उनीहरू आक्रोशितहुँदै विमानस्थलको मूल गेट भत्काएर धावनमार्गसम्म पुगेका थिए।
त्यसपछि प्रतिकारमा एमालेका समर्थकहरू पनि भेला भए। केही स्थानमा दुवै पक्षका युवाहरूबिच झडप समेत भयो। जेनजी युवा दाबी गरिरहेकाहरूले सडकमा टायर बालेर विरोध प्रदर्शन गर्न थालेपछि सम्भावित झडप रोक्न स्थानीय प्रशासनले कर्फ्यु आदेश जारी गर्यो। एमाले नेताहरू बारा जान सकेनन्।
यता केन्द्रमा भने प्रधानमन्त्री कार्कीले दलका प्रतिनिधिहरू राखेर कार्कीले कुनै दलले निर्वाचन बहिष्कार गरे त्यो अराजकता रोजेको ठहरिने दाबी गरिन्। उनले दल दर्ता नगर्ने वा निर्वाचन बहिष्कार गर्ने दलले लोकतन्त्रको रक्षाभन्दा अराजकता रोजेको ठहरिने भन्दै निर्वाचनमा सहभागी हुन आग्रह गरेकी थिइन्। तर अराजकता दलले भन्दा पनि जेनजीको नाममा सुधन गुरुङ समूहले बारामा मच्चाइरहेका थिए।
जेनजी आन्दोलनमा पानी बाँड्ने समूहको रूपमा प्रवेश गरेका सुधन पछिल्लो समय विभिन्न जेनजी समूहमध्येको एकको नेतृत्व गरिरहेका छन्। उनले आफ्नो मागहरू पुरा नगरी निर्वाचन हुन नसक्ने भन्दै आफैँ निर्वाचनको विपक्षमा उभिएका छन्। बुधवार बारामा भएको बबन्डरमा उनकै समूह संलग्न देखियो। त्यसमा एमालेका नेताहरू प्रतिकारमा उत्रँदा माहौल थप बिग्रियो।
दलहरूको विरोध
राजनीतिक दलको आयोजनामा हुन लागेको शान्तिपूर्ण कार्यक्रममा नेताहरूलाई सहभागी हुन नदिन जेनजी समूहको नाममा भएको अराजकताको एमाले, नेपाली कांग्रेस लगायतका दलहरूले विरोध गरे। एमालेका अध्यक्ष केपी ओलीले सरकार निर्वाचनमा सहभागी बन भन्ने तर दललाई शान्तिपूर्ण भेला हुन नदिएको भन्दै आलोचना गरेका थिए।
नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले ट्विट गर्दै दलको शान्तिपूर्ण कार्यक्रममा भएको हस्तक्षेपले चुनावको वातावरण बिगार्ने भन्दै जेनजीको नाममा भएको गतिविधिको विरोध गरेका थिए। रास्वपाले पनि यस्ता गतिविधिले निर्वाचनको माहौल बिगार्ने प्रतिक्रिया दिएको थियो।
मंसिर ३, २०८२ बुधबार १९:०३:३५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।