सुनसरी खोलामा नुहाउने क्रममा डुबेका एक जनाको मृत्यु, अर्काको जीवितै उद्धार
सुनसरी : सुनसरीको रामधुनी नगरपालिका-४ स्थित रामधुनी मन्दिर नजिकैको सुनसरी खोलामा नुहाउने क्रममा डुबेर बेपत्ता भएका एक व्यक्तिको शव फेला परेको छ।
मृतक मोरङको सुन्दरहरैँचा नगरपालिका-३ का ४१ वर्षीय देवेन्द्र भट्टराई हुन्। सशस्त्र प्रहरी बल नेपाल नं. ४ गण सुनसरीको टोलीले आज (मङ्सिर ३ गते) घटनास्थल भन्दा करिब ५० मिटर तल उनको शव फेला पारेको हो।
भट्टराईसँगै नुहाउन गएका सुनसरीको इटहरी उपमहानगरपालिका-१३ का ५४ वर्षीय रोहित काफ्लेको भने जीवितै उद्धार गरिएको छ। उनलाई उपचारका लागि साई अस्पताल झुम्का पठाइएको र अवस्था सामान्य रहेको बताइएको छ।
उनीहरूसँगै नुहाउन गएका ५८ वर्षीय भीमराज काफ्ले नुहाएर बाहिर निस्किँदा साथीहरू डुबेको देखेपछि खबर गरेका थिए।
खबर प्राप्त हुनासाथ मन्दिरको सुरक्षामा खटिएका सुरक्षाकर्मी र सशस्त्र प्रहरी निरीक्षक बाबुकाजी कटुवालको कमान्डमा खटिएको विपद् व्यवस्थापन तालिम प्राप्त टोलीले तत्काल उद्धार कार्य सुरु गरेको थियो।
मंसिर ३, २०८२ बुधबार १३:२४:३० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।