एमाले नेता रोक्न ‘जेन-जी’को प्रदर्शनले सिमरा तनावग्रस्त : विमानस्थल बन्द, साँझ ८ बजेसम्मका लागि कर्फ्यु जारी
काठमाडौं : एमालेका महासचिव शंकर पोखरेल र नेता महेश बस्नेत सहभागी हुने कार्यक्रमलाई लक्षित गरी ‘जेन-जी’ समूहले गरेको प्रदर्शनका कारण बाराको सिमरा क्षेत्र तनावग्रस्त बनेको छ।
स्थिति नियन्त्रणबाहिर जान सक्ने देखेपछि जिल्ला प्रशासन कार्यालय बाराले विमानस्थल र राजमार्ग आसपासका क्षेत्रमा कर्फ्यु आदेश जारी गरेको छ।
एमालेको मधेश प्रदेशस्तरीय युवा भेलालाई सम्बोधन गर्न नेताहरू पोखरेल र बस्नेत आउने खबर पाएपछि ‘जेन-जी’ समूहका युवाहरूले आज बिहानैदेखि सिमरा विमानस्थल क्षेत्रमा प्रदर्शन गरेका थिए। प्रदर्शनकारी र एमाले कार्यकर्ताबीच झडप शुरू भएपछि स्थिति तनावपूर्ण बनेको हो।
सरकारी तथा निजी सम्पत्तिमा क्षति हुन नदिन र शान्ति सुरक्षा कायम राख्न प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रले आज दिउँसो साढे १२ बजेदेखि साँझ ८ बजेसम्मका लागि कर्फ्यु आदेश जारी गरेका छन्।
प्रशासनले जारी गरेको आदेशअनुसार गण्डक नहरदेखि पथलैया सडकको दायाँबायाँ ५ सय मिटर र सिमरा विमानस्थल वरपर ५ सय मिटरसम्मको क्षेत्रमा हिँडडुल गर्न तथा भेला हुन रोक लगाइएको छ।
नेताहरूलाई रोक्ने भन्दै प्रदर्शनकारीहरू विमानस्थलको धावनमार्गसम्म पुगेपछि सुरक्षा चुनौती थपिएको थियो। प्रदर्शनकारीहरूले विमानस्थल छिर्ने सडकमा टायर बालेर नाराबाजी गरेका थिए।
काठमाडौंबाट १० बजेर ३५ मिनेटमा उड्ने तयारीमा रहेको बुद्ध एयरको जहाज नेताहरूलाई लिएर सिमरा आउने खबर पाएपछि ‘जेन-जी’ समूह आक्रोशित बनेको थियो। सुरक्षा जोखिमका कारण धावनमार्गतर्फ अघि बढेको बुद्ध एयरको जहाज काठमाडौंमै पार्किङमा फर्काइएको छ।
जहाजमा रहेका यात्रुहरूलाई ओरालिएको छ भने अर्को सूचना नआएसम्मका लागि उडान स्थगित गरिएको छ। एमाले महासचिव पोखरेलसहितका नेताहरू सोही विमानबाट आउने तयारीमा थिए।
प्रहरी स्रोतका अनुसार एमाले नेताहरू विमानबाट ओर्लिनेबित्तिकै कालोमोसो दलेर बजार घुमाउने योजना प्रदर्शनकारी समूहले बनाएको सूचना प्राप्त भएको थियो। सोही कारण यथेष्ट सुरक्षा व्यवस्था नभएसम्म नेताहरूलाई त्यहाँ नजान सुझाव दिइएको छ।
अहिले विमानस्थल बन्द गरिएको छ भने बाहिर सडकमा एमाले कार्यकर्ता र प्रदर्शनकारीबीच झडपको स्थिति छ। प्रहरीले प्रदर्शनकारीलाई हटाउन प्रयास गरिरहेको र स्थितिलाई नियन्त्रणमा लिने प्रयास भइरहेको बाराका प्रहरी उपरीक्षक सन्तोष तामाङले जानकारी दिए।
बाराको परवानीपुरमा आयोजना गरिएको एमालेको प्रदेशस्तरीय भेलाका लागि मधेशका विभिन्न जिल्लाबाट नेता तथा कार्यकर्ताहरू जम्मा भइसकेका छन्।
मंसिर ३, २०८२ बुधबार १२:५८:२३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।