मोटरसाइकल चोरीमा संलग्न तीन जना ट्राफिक प्रहरीको नियन्त्रणमा

मोटरसाइकल चोरीमा संलग्न तीन जना ट्राफिक प्रहरीको नियन्त्रणमा

काठमाडौं : काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट मोटरसाइकल चोरीमा संलग्न तीन जनालाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ।

मंगलबार काठमाडौंको तारकेश्वर नगरपालिका-४, पुरानो गुह्येश्वरीबाट चोरीको मोटरसाइकलसहित एक जना पक्राउ परेका छन्।

पक्राउ पर्नेमा मकवानपुरको मनहरी गाउँपालिका-७ बस्ने २० वर्षीय प्रशान्त खत्री रहेका छन्। उनले बागमती प्रदेश-०२-०४० प ०५१० नम्बरको मोटरसाइकलको नम्बर प्लेट परिवर्तन गरी बागमती प्रदेश-०२-०४२ प ६२६३ बनाएर चलाइरहेका थिए।

उक्त मोटरसाइकल काठमाडौंको बसुन्धारा बस्ने बाराका मोहम्मद आमिर अन्सारीको रहेको र हराएको भनी निवेदन परेपछि खोजतलासका क्रममा भेटिएको हो।

खत्रीलाई थप अनुसन्धानका लागि प्रहरी वृत्त महाराजगञ्ज पठाइएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता, प्रहरी उपरीक्षक (एसपी) नरेशराज सुवेदीले जानकारी दिए।

यसैगरी, सोमबार (मङ्सिर १ गते) कीर्तिपुर नगरपालिका-१० बाट मोटरसाइकल चोरी गर्दै गर्दा रङ्गेहात दुई जना पक्राउ परेका छन्।

पार्किङ स्थलबाट बागमती प्रदेश-०२-०६२ प ०६३६ नम्बरको पल्सर मोटरसाइकल चोरी गर्दै गर्दा मकवानपुरको मनहरी गाउँपालिका-२ का २७ वर्षीय समिर रुम्बा र हेटौँडा उपमहानगरपालिका-२२ का २७ वर्षीय निमा रुम्बा पक्राउ परेका हुन्।

प्रवक्ता सुवेदीले सवारी साधन सुरक्षित राख्न ह्विल लक, डिस्क लक, र सेक्युरिटी साइरन जडान गर्न तथा एकान्त स्थानमा पार्किङ नगर्न अनुरोध गरेको छ।

मंसिर ३, २०८२ बुधबार ११:२०:१८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।