बुवाको बिँडो थाम्दै मनिष : बसको ‘बडी’ बनाएर ६ करोडको कारोबार, ७० जनालाई रोजगारी
बुटवल : सेमलारस्थित ‘मुख्तार बडी कारखाना’ मा यतिबेला निकै चहलपहल छ। कारखानामा नयाँ बसहरूको लर्को लागेको छ। कामदारहरू कोही बसमा रङरोगन गर्न व्यस्त छन्, कोही वेल्डिङ गर्दैछन् त कोही वायरिङको काममा तल्लीन देखिन्छन्।
गाडी बनाउने र मर्मत गर्नेहरूको भीडभाडका बीच कामको धपेडीमा भेटिन्छन्- बुटवल मैनाबगरका मनिष शर्मा। २८ वर्षीय मनिष यस कारखानाका सञ्चालक हुन्, तर उनको सक्रियता कुनै कामदारभन्दा कम छैन।
बुटवलमै हुर्के-बढेका मनिष अहिले दैनिक १८ घण्टासम्म कारखानामा खटिन्छन्। पढाइमा तेज हुँदाहुँदै पनि उनले कक्षा १० भन्दा माथिको औपचारिक अध्ययनलाई निरन्तरता दिएनन्।
बुवा मुख्तार विश्वकर्माले शुरू गरेको ‘बडी विल्डिङ’ पेशामा उनको सानैदेखि गहिरो झुकाव थियो। त्यसैले उनले किताबी ज्ञानभन्दा बढी व्यावसायिक सीप र अनुभवलाई प्राथमिकता दिए। सानै उमेरदेखि बुवाको पछि लागेर उनले कारखानाको नेतृत्व सम्हाल्न सक्ने भए।
स्कुल पढ्दादेखि नै मनिष बुवासँगै मैनाबगरस्थित कारखानामा पुग्थे। सकेको सहयोग गर्थे, नसकेको काम चाख मानेर हेर्थे र सिक्थे। कामप्रतिको त्यही लगाव र निरन्तरको सिकाइले आज २८ वर्षको उमेरमा उनी बुवा मुख्तारसँग काँधमा काँध मिलाएर व्यवसाय हाँक्न सफल भएका छन्।
मालिक आफैँ मिस्त्री, आफैँ डिजाइनर
‘फिनिसिङ’मा पोख्त भएका कारण यातायात व्यवसायीहरूले मनिषप्रति ठूलो विश्वास गर्छन्। उनी केवल निर्देशन दिने ‘मालिक’ मात्र होइनन्, आफैँ काममा खटिने दक्ष प्राविधिक पनि हुन्। गाडीको मेकानिकल डिजाइन तयार पार्नेदेखि रङ लगाउने, एसी जडान गर्ने र वायरिङ गर्नेसम्मका सबै काम उनी आफैँ गर्न सक्छन्।
मनिषको यो कारखाना सेमलारमा सरेको सात वर्ष भयो। यसअघि यो बुटवलको मैनाबगरमा सञ्चालित थियो। सेमलारमा विस्तार गरिएको मुख्तार बडी कारखाना अहिले पश्चिम नेपालकै ठूला अटोमोबाइल वर्कसपमध्ये एक हो।
यहाँ सानादेखि ठूला सबै प्रकारका सवारीसाधनको काम हुन्छ। नयाँ गाडीको बडी निर्माण मात्र होइन, मर्मत सम्भारको काम पनि उत्तिकै हुन्छ। यद्यपि, नयाँ र आकर्षक बस तयार पार्नका लागि यो कारखाना धेरैजसो यातायात व्यवसायीहरूको पहिलो रोजाइमा पर्ने गरेको छ।
सञ्चालक मनिष शर्मा भन्छन्, ‘हामीले गाडीसम्बन्धी सबै काम गर्छौँ, तर हाम्रो मुख्य विशेषज्ञता नयाँ गाडीको बडी निर्माणमा हो। यातायात व्यवसायीहरूले चेसिस (इन्जिन र पाङ्ग्रासहितको भाग) लिएर आउनुहुन्छ, हामी त्यसलाई पूर्ण बस बनाएर दिन्छौँ।’
उनका अनुसार एउटा बसलाई पूर्ण रूप दिन १० लाखदेखि ४० लाख रुपैयाँसम्म खर्च लाग्छ। यो लागत व्यवसायीले रोज्ने डिजाइन र सुविधामा भर पर्छ। व्यवसायीसँगको सम्झौता अनुसारको डिजाइन, रङ र फिनिसिङसहित मनिषले ४ महिनाभित्र एउटा बस तयार पार्छन्।
‘जसको गाडी हो, उहाँले चेसिस ल्याउनुहुन्छ। सिट कस्तो राख्ने, इन्टेरियर कस्तो गर्ने, रङ कस्तो लगाउने भन्ने उहाँहरूको चाहनाअनुसार हामी काम गर्छौँ’, मनिषले भने।
वार्षिक ६ करोडको कारोबार, ७० जनालाई रोजगारी
पश्चिम क्षेत्रकै प्रतिष्ठित मानिने यस कारखानामा वार्षिक औसत ३० वटा नयाँ बसख तयार हुन्छन्। वार्षिक ६ करोड रुपैयाँभन्दा बढीको कारोबार गर्ने यस कारखानामा ७० जनाभन्दा बढीले प्रत्यक्ष रोजगारी पाएका छन्। यहाँ काम गर्नेहरूमा अधिकांश नेपाली नै छन् भने केही भारतीय प्राविधिकहरू पनि।
रुपन्देही जिल्लाका मात्र नभई देशभरका यातायात व्यवसायीहरू मुख्तार बडी कारखानामा गाडी बनाउन आउने गरेका छन्। कारखानामा एकैपटक २५ वटासम्म सवारीसाधन तयार गर्न सक्ने क्षमता छ। मनिषले यही पेशाबाट आफ्नो भविष्य र लक्ष्य निर्धारण गरेका छन्।
उनी भन्छन्, ‘मिहिनेत गर्ने हो भने नेपालमै हरेक सम्भावना छ। केही छैन भन्ने होइन, यहाँ धेरै अवसरहरू छन्, मात्र ती अवसरलाई चिन्न सक्नुपर्छ।’
२८ वर्षको कलिलो उमेरमै करोडौंको व्यापार सम्हालिरहेका मनिषले व्यवसायलाई अझ विस्तार गर्ने योजना बनाएका छन्।
उनको सफलताको सूत्र सरल छ- ‘म साहु हुँ, मैले काम गर्नुहुँदैन र कामदारले मात्र काम गर्नुपर्छ भन्ने भावना त्याग्नुपर्छ। मालिकले पनि कामदारसँगै पसिना बगाए मात्र सफलता प्राप्त हुन्छ।’
सोफा सिटरबाट ‘स्लिपर’ सिटको युगमा
केही वर्ष अघिसम्म बसको बडी बनाउँदा ‘सोफा सिटर’को माग उच्च थियो। यात्रुको सहजताका लागि व्यवसायीहरू गुणस्तरीय सोफा सिट राख्न सम्झौता गर्थे। तर, अहिले समय र यात्रुको माग फेरिएको मनिष बताउँछन्।
‘अहिले हामीले बनाउने सबैजसो बसमा स्लिपर सिट (सुतेर यात्रा गर्न मिल्ने) अनिवार्य जस्तै भएको छ,’ उनले भने, ‘यातायात व्यवसायीहरूले पनि अहिले त्यही अनुसारको सम्झौता गर्नुहुन्छ।’
सामान्य सोफा सिटको तुलनामा स्लिपर सिट राख्दा व्यवसायीले कुल लागतमा ३ देखि ५ प्रतिशत बढी मूल्य तिर्नुपर्ने हुन्छ। मनिषका अनुसार एउटा बसमा अहिले आवश्यकता हेरी २ देखि ४ वटासम्म स्लिपर सिट राख्ने गरिएको छ।
‘यो अहिले फेसनभन्दा पनि आवश्यकता बनेको छ। बिरामी, अशक्त तथा अपाङ्गता भएका व्यक्तिहरूले सुतेरै सजिलै यात्रा गर्न पाउँदा एम्बुलेन्स वा रिजर्भ गाडीको महँगो खर्च जोगिएको छ,’ उनले भने, ‘त्यसैले अहिले बन्ने नयाँ बसहरूमा स्लिपर सिट अनिवार्य जस्तै भएको हो।’
यातायात व्यवसायीहरूबीच पछिल्लो समय यात्रुलाई दिने सुविधामा प्रतिस्पर्धा बढेको छ। सोही प्रतिस्पर्धाका कारण व्यवसायीहरूले गाडीको सजावट र आरामदायी सिटमा विशेष ध्यान दिने गरेको र आफ्नो काम सोही अनुसार परिष्कृत हुँदै गएको मनिषको अनुभव छ।
कामप्रतिको इमानदारिता र गुणस्तरकै कारण देशभरका व्यवसायीको विश्वास जित्न सफल भएकोमा मनिष सन्तुष्ट छन्।
मंसिर ३, २०८२ बुधबार १०:१४:०९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।