खशोग्गी हत्या प्रकरणमा साउदी युवराजलाई ट्रम्पको ‘क्लिन चिट’, ८६ लाख करोडको सम्झौता

खशोग्गी हत्या प्रकरणमा साउदी युवराजलाई ट्रम्पको ‘क्लिन चिट’, ८६ लाख करोडको सम्झौता

एजेन्सी : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले वासिङ्टन पोस्टका पत्रकार जमाल खशोग्गीको हत्या प्रकरणमा साउदी अरेबियाका युवराज (क्राउन प्रिन्स) मोहम्मद बिन सलमान (एमबीएस) लाई क्लिन चिट दिएका छन्।

मंगलबार राति ह्वाइट हाउसमा युवराज सलमानसँगै मिडियालाई सम्बोधन गर्दै राष्ट्रपति ट्रम्पले उक्त हत्याकाण्डबारे युवराजलाई कुनै जानकारी नभएको बताए।

ट्रम्पले भने, ‘खशोग्गी धेरै विवादास्पद व्यक्ति थिए। यो विषय उठाएर पाहुनालाई किन लज्जित बनाउने? यस्ता घटनाहरू भइरहन्छन्।’

उल्लेखनीय छ कि सन् २०१८ मा टर्कीको इस्तानबुलस्थित साउदी दूतावासभित्र खशोग्गीको हत्या भएको थियो। अमेरिकी गुप्तचर एजेन्सीहरूको रिपोर्टमा भने युवराज सलमानले नै हत्याको स्वीकृति दिएको दाबी गरिएको थियो।

कुराकानीका क्रममा एबिसी न्युजकी पत्रकारले अमेरिकी गुप्तचर विभागको रिपोर्ट र साउदीमा ट्रम्पको पारिवारिक व्यापारबारे प्रश्न गर्दा राष्ट्रपति ट्रम्प आक्रोशित बने।

पत्रकारले ‘के तपाइँको परिवारले साउदीमा व्यापार गर्नु सही हो?’ भनी सोधेको प्रश्नमा ट्रम्पले बीचमै रोक्दै एबिसी न्युजलाई झुटो समाचारको संज्ञा दिए।

उनले भने, ‘मेरो पारिवारिक व्यापारसँग यसको कुनै लेनादेना छैन, मेरो परिवारले विश्वभर व्यापार गर्छ।’

यसैबीच, जमाल खशोग्गीकी पत्नीले टिभीमार्फत प्रतिक्रिया दिँदै आफ्ना पतिको मामलामा न्याय अधुरो रहेको र शव फिर्ता पाउनुपर्ने माग दोहोर्याएकी छिन्।

युवराज सलमानको स्वागतमा ह्वाइट हाउसमा भव्य तयारी गरिएको थियो। मरिन ब्यान्डको धुन र घोडचढी दस्ताले उनको स्वागत गरे।

स्टेट डिनर (रात्रीभोज) मा विश्वप्रसिद्ध फुटबलर क्रिस्टियानो रोनाल्डो (जो साउदी क्लब अल नासरबाट खेल्छन्) र टेस्लाका सिइओ इलन मस्क पनि सहभागी थिए।

भ्रमणका क्रममा अमेरिका र साउदी अरेबियाबीच १ ट्रिलियन डलर (करिब ८६ लाख करोड रुपैयाँ) बराबरको आर्थिक तथा रक्षा सम्झौता भएको छ।

मंसिर ३, २०८२ बुधबार ०८:३१:५६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।