त्रिविका विद्यार्थी संगठनको दबाबमा क्यान, एनपीएल आयोजनाका लागि २५ लाख ‘चन्दा’ दिन सम्झौता
काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल) आयोजना गर्न नेपाल क्रिकेट संघ (क्यान)ले त्रिभुवन विश्वविद्यालयका विद्यार्थी संगठनहरूलाई २५ लाख रुपैयाँ दिने सम्झौता गरेको खुलासा भएको छ।
विश्वविद्यालयको कार्यकारी परिषद् जस्ता आधिकारिक निकायलाई समेत बेखबर राखी विभिन्न राजनीतिक दलसम्बद्ध विद्यार्थी संगठनका नेताहरूको दबाबमा उक्त सम्झौता गरिएको हो।
त्रिवि मैदान प्रयोग गरेबापत क्यानले वार्षिक ९ लाख रुपैयाँ भाडा तिरिरहेको छ। तर, उक्त भाडाबाहेक अतिरिक्त २५ लाख रुपैयाँ ‘चन्दा’ स्वरूप दिन यो सम्झौता गरिएको हो।
विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका प्रमुख उपप्राध्यापक दीपेन्द्र पराजुलीले भने खेल आयोजनाले शैक्षिक वातावरणमा पार्ने असर न्यूनीकरण गर्न रकम लिन लागिएको दाबी गरेका छन्।
सम्झौताअनुसार, एनपीएलबाट प्राप्त हुने नाफाबाट १५ लाख रुपैयाँ ‘विद्यार्थी कल्याणकारी कोष’मा र १० लाख रुपैयाँ ‘स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) कोष’ मा जम्मा गरिनेछ।
पहिलो रकम शैक्षिक क्षतिपूर्तिका लागि र दोस्रो रकम रंगशाला वरपरको फोहोर व्यवस्थापन तथा वातावरणीय संरक्षणका लागि खर्च गरिने भनिएको छ।
यो विवादास्पद सम्झौतामा त्रिविका तर्फबाट निर्देशनालय प्रमुख पराजुली र स्ववियु अध्यक्ष दीपकराज जोशीले हस्ताक्षर गरेका छन् भने क्यानका तर्फबाट सचिव पारस खड्का र केन्द्रीय सदस्य श्रीधर केसीले हस्ताक्षर गरेका छन्।

अझ रोचक त, सम्झौताको साक्षीका रूपमा केन्द्रीय क्याम्पसका प्रोक्टर गणेश अधिकारी, स्ववियु पदाधिकारीहरू तथा अनेरास्ववियु अध्यक्ष बालकृष्ण वलीसहित गणेश भण्डारी र सिकेन्द्र रोकायजस्ता विद्यार्थी नेताहरू बसेका छन्।
एनपीएल सकिएको तीन महिनाभित्र रकम उपलब्ध गराउनुपर्ने सम्झौताले विश्वविद्यालयको आधिकारिक निकायलाई छलेर विद्यार्थी संगठनहरूले कसरी समानान्तर प्रशासन चलाइरहेका छन् भन्ने प्रश्न खडा गरेको छ।
मंसिर २, २०८२ मंगलबार ०९:४८:३४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।