शेख हसिनालाई मृत्युदण्डपछि उनको पार्टीद्वारा देशव्यापी हड्तालको घोषणा

शेख हसिनालाई मृत्युदण्डपछि उनको पार्टीद्वारा देशव्यापी हड्तालको घोषणा

एजेन्सी : बंगलादेशकी पूर्व प्रधानमन्त्री शेख हसिनालाई सुनाइएको मृत्युदण्डको सजायलाई उनको पार्टी अवामी लिगले ठाडै अस्वीकार गरेको छ।

पार्टीले एक विज्ञप्ति जारी गर्दै अदालतको यो फैसलालाई 'दुर्भावनापूर्ण र बदलाको भावना' बाट प्रेरित भएको ठहर गरेको छ।

अवामी लिगले यो फैसलाको विरोधमा नोभेम्बर १८ मा देशव्यापी बन्द (हड्ताल) को घोषणा गरेको छ। साथै, नोभेम्बर १९ देखि २१ सम्म देशभर विरोध प्रदर्शन गर्ने कार्यक्रम पनि सार्वजनिक गरेको छ।

पार्टीले भनेको छ, ‘हामीलाई विश्वास छ, बंगलादेशका जनता, अवामी लिग र सबै मुक्ति संग्राम समर्थक शक्तिहरूले यो फैसला विरुद्ध कडा आन्दोलन गर्नेछन्।’

आफ्नो विज्ञप्तिमा अवामी लिगले बंगलादेशका वर्तमान मुख्य सल्लाहकार मोहम्मद युनुस र हसिनालाई सजाय सुनाउने विशेष अदालत (ट्रिब्युनल) को वैधानिकतामाथि पनि गम्भीर प्रश्न उठाएको छ।

‘एक निर्वाचित सरकारलाई हटाएर अवैध, असंवैधानिक र गैर-निर्वाचित फासीवादी युनुस र उनका सहयोगीहरूले गैर-कानुनी ढंगले देशको सत्ता कब्जा गरेका छन्,’ विज्ञप्तिमा भनिएको छ, ’त्यसपछि अन्तर्राष्ट्रिय सिद्धान्तहरूको उल्लंघन गर्दै एक अवैध ट्रिब्युनल गठन गरियो।’

अवामी लिगले उक्त ट्रिब्युनल पूर्ण रूपमा अवैध, बदनियतपूर्ण र प्रतिशोधले भरिएको बताएको छ। पार्टीको आरोप छ, ‘युनुसले अवैध तरिकाले हडपेको सत्ता बचाउन शेख हसिनाविरुद्ध यो हिंस्रक कदम चालेका हुन्।¹

विज्ञप्तिमा हसिनामाथि चलाइएको सम्पूर्ण मुद्दालाई 'एउटा नाटकभन्दा बढी केही नभएको' टिप्पणी गरिएको छ।

मंसिर २, २०८२ मंगलबार ०८:३४:४६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।