जेन-जी आन्दोलनको आक्रोशमा खरानी बनेको सर्वोच्च : अर्बौंको क्षति, हजारौं मुद्दाका मिसिल नष्ट

जेन-जी आन्दोलनको आक्रोशमा खरानी बनेको सर्वोच्च : अर्बौंको क्षति, हजारौं मुद्दाका मिसिल नष्ट

काठमाडौं : भ्रष्टाचार र बेथितिविरुद्ध भन्दै उठेको ‘जेन-जी’ पुस्ताको आन्दोलन हिंसात्मक बन्दा देशको न्याय प्रणालीको धरोहर, सर्वोच्च अदालत, खण्डहरमा परिणत भयो।

भदौ २३ गते भएको शान्तिपूर्ण प्रदर्शनमा राज्यको दमनबाट १९ युवाको मृत्यु भएपछि फैलिएको आक्रोशको आगोले भदौ २४ गते न्यायको मन्दिरलाई नै जलाएर खरानी बनायो। यस घटनाले न्यायालयको इतिहासमा सबैभन्दा ठूलो र अपूरणीय क्षति पुर्यायो।

घटनाको सुरुवात भदौ २३ गते भएको थियो, जब जेन जी पुस्ताले भ्रष्टाचारविरुद्ध शान्तिपूर्ण प्रदर्शन आयोजना गरेको थियो। तर, उक्त प्रदर्शनमा राज्यपक्षबाट भएको क्रूर दमनले १९ जना युवाले ज्यान गुमाउनुपर्यो। यही घटनाले देशव्यापी आक्रोशको ज्वाला सल्कायो।

भदौ २४ गतेको बिहानी काठमाडौंका लागि सामान्य थिएन। सडकमा टायर बालेर निस्किएको धुवाँको मुस्लोले आकाश ढाकेको थियो। दिन ढल्किँदै जाँदा प्रदर्शनकारीको आक्रोश सरकारी भवन, प्रहरी कार्यालय र राजनीतिक दलका नेताहरूको सम्पत्तिमा पोखिन थाल्यो। तोडफोड र आगजनीको शृङ्खला देशैभर फैलियो।

यसै क्रममा, दिउँसो करिब साढे २ बजेतिर आक्रोशित भिड सर्वोच्च अदालत परिसरमा प्रवेश गर्यो। महान्यायाधिवक्ताको कार्यालयतर्फको गेटबाट छिरेका प्रदर्शनकारीले सुरुमा त्यहाँ रहेका सवारीसाधनमा तोडफोड र आगजनी गरे।

अवस्था नियन्त्रणबाहिर गएपछि सुरक्षाकर्मी र कर्मचारीहरू तितरबितर भए। यही मौकामा केही अराजक तत्त्वहरू सर्वोच्चको मूल भवनभित्र पसे र न्यायको मन्दिरमाथि नै आक्रमण गरे।

आगजनीबाट सर्वोच्च अदालत परिसरमा रहेका गाडी र मोटरसाइकलहरू दनदनी जले। आगोको लप्काले मूल भवनलाई आफ्नो चपेटामा लियो। इजलास, न्यायाधीश तथा कर्मचारीका च्याम्बर, महत्त्वपूर्ण फाँटहरू, अभिलेख शाखा र पुस्तकालय सबै जलेर नष्ट भए।

यो आगजनीले भौतिक संरचना मात्र होइन, हजारौं नागरिकको न्यायसँग जोडिएका महत्त्वपूर्ण कागजात र मिसिलहरू पनि खरानी बनायो। सर्वोच्च अदालतले आफ्नो आधिकारिक वेबसाइटमार्फत जारी गरेको सूचनाअनुसार, २३ हजार ८ सय ४३ वटा मुद्दाका मिसिलहरू पूर्ण रूपमा नष्ट भएका छन्।

जसमध्ये चालु मुद्दाका ११ हजार ३८१, अभियान फाँटका २ हजार ४६६, निवेदन फाँटका ३ हजार ४३१, रिट फाँटका २ हजार ६७८, संवैधानिक मुद्दा फाँटका २०० र फैसला भई फैसला लेख्न बाँकी रहेका ३ हजार ६८७ मिसिल रहेका छन्।

अदालतका प्रवक्ता अर्जुन कोइरालाका अनुसार, यस आगजनीबाट सर्वोच्च अदालतका करिब ८५ प्रतिशत महत्त्वपूर्ण मिसिलहरू जलेर नष्ट भएका छन्, जसले न्याय सम्पादनमा दीर्घकालीन असर पार्ने निश्चित छ।

२०१३ साल जेठ ८ गते स्थापना भएको सर्वोच्च अदालतले आफ्नो इतिहासमा यति ठूलो क्षति कहिल्यै व्यहोरेको थिएन। सूचना अधिकारी निराजन पाण्डेले उपलब्ध गराएको तथ्याङ्कअनुसार, यस घटनामा कुल १ अर्ब २३ करोड ६२ लाख ३८ हजार ५२ रुपैयाँ ५० पैसा बराबरको क्षति भएको छ।

उनका अनुसार भौतिक संरचना अन्तर्गत मूल भवनसहित ५० करोड रुपैयाँ, सवारीसाधतर्फ २ निजी कार, १५ मोटरसाइकल/स्कुटर र मर्मत खर्चसहित ४४ करोड ६५ लाख २ हजार ७०९ रुपैयाँ ३० पैसा, फर्निचर, विद्युतीय उपकरण र अन्य सामग्री गरी २८ करोड ९७ लाख ३५ हजार ३४३ रुपैयाँ २० पैसा गरी एक अर्बभन्दा बढीको क्षति भएको छ।

विध्वंशको सिकार बनेको सर्वोच्च अदालतले न्यायको खोजीका लागि कानुनी प्रक्रिया अगाडि बढाएको छ।

अदालतको पूर्ण इजलास (फुलकोर्ट) को निर्णयअनुसार, घटनाको विस्तृत विवरणसहित कार्तिक १४ गते प्रहरी परिसर, भद्रकालीमा जाहेरी दर्ता गरिएको छ। साथै, सरकारद्वारा गठित जेन जी आन्दोलन छानबिन आयोगलाई पनि क्षतिको पूर्ण विवरण बुझाइएको छ।

यो विषम परिस्थितिमा पनि न्याय सेवा अवरुद्ध हुन नदिन सर्वोच्च अदालतले भदौ २९ गतेदेखि नै परिसरमा पाल टाँगेर बन्दीप्रत्यक्षीकरणजस्ता अत्यावश्यक सेवाहरू सुरु गरेको थियो।

नागरिकको न्याय पाउने अधिकारलाई सम्मान गर्दै, कार्तिक २० गते सूचना जारी गरी मंसिर १ गतेदेखि सबै प्रकारका मुद्दा दर्ता, सुनुवाइ र अन्य सम्पूर्ण सेवाहरू पूर्ववत् रूपमा सञ्चालन गर्ने जनाएको छ। खण्डहर बनेको संरचनाकै बीचबाट न्यायको दियोलाई निभ्न नदिने प्रयास सर्वोच्च अदालतले गरिरहेको छ।

मंसिर २, २०८२ मंगलबार ०७:५८:३३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।