एनपिएलमा डाफान्युजमार्फत जुवा उद्योगको प्रवेश : मैदानभरि विज्ञापन, अफिसियल मिडिया पाट्नरको साइटमा शून्य समाचार
काठमाडौँ : दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल–२) सोमबार भव्य रूपमा सुरु भयो। नवनिर्मित प्याराफिट र फडलाइटसहितको नयाँ मैदानमा जब प्रधानमन्त्री सुशीला कार्कीले प्रतियोगिताको उद्घाटन गरिन्, नेपाली क्रिकेटले नयाँ अध्यायमा प्रवेश गरेको अनुभूति भयो।
कुर्सी भरिएका दर्शक, उद्घाटन समारोह र उत्साहले मैदानमा नयाँ ऊर्जा थपिरहेको थियो। तर, यस चमकभित्र एउटा असजिलो दृश्य पनि त्यत्तिकै स्पष्ट देखियो मैदानमा-डाफान्युज नामको ब्रान्ड, जसको विज्ञापन मैदानका सबै प्रमुख भागमा टाँसिएको थियो।
मैदानको दक्षिणतिरको मुख्य डिस्प्ले, दर्शकदीर्घा र मैदान छुट्टाउन राखिएको स्थान अनि मैदानको बाउन्ड्री कतै पनि छाडिएको थिएन डाफान्युजको प्रचार गर्न।
यो ब्रान्डलाई एनपिएल आयोजन समितिले “अफिसियल मिडिया पार्टनर” को रूपमा घोषणा गरेको छ। तर विडम्बना, डाफान्युजले आफ्नो साइटमा एनपिएल–२ बारे एक लाइन पनि समाचार प्रकाशित गरेको छैन।
न उद्घाटनबारे, न टिम, न खेलाडी, न फिक्स्चर—कुनै जानकारी छैन। विज्ञापन मैदानभरि, तर सामग्री शून्य। यही शून्यताले नै प्रश्न जन्माउँछ—मिडिया पार्टनर हो कि अर्को केही?
सामान्यतया कुनै पनि ठूलो खेल प्रतियोगितामा मिडिया पार्टनर बनाउने उद्देश्य स्पष्ट हुन्छ,समाचार कवरेज, विस्तृत अपडेट, विश्लेषण र जन–सम्पर्क। तर डाफान्युजका क्रियाकलाप हेर्दा त्यो उद्देश्य कतै देखिन्न। बरु यसले आफ्नो वास्तविक स्वरूप छोपेर “मिडिया” भन्ने आवरणमा खेलभित्र प्रवेश गरेको संकेत दिन्छ।
डाफान्युज कुनै स्वतन्त्र समाचार पोर्टल होइन, यो अनलाइन जुवाको अन्तर्राष्ट्रिय कम्पनी डाफाबेटको सरोगेट ब्रान्ड हो। अनि उसले एनपिएलमा प्रवेश गर्नुको कारण आफ्नो सञ्चारमाध्यमबाट एनपिएललाई अन्तर्राष्ट्रिय दर्शक र पाठकमा भिजाउने हैन, न्युज शब्द जोडेर नेपालमा आफ्नो जुवा प्रवर्धन गर्नु नै हो।
यसलाई थप बुझ्न डाफान्युजको साइट हेर्दा धेरै प्रस्ट हुन्छ। त्यहाँ समाचारभन्दा बढी डाफाबेटका प्रचार, लिंक, र प्रमोशनल सामग्री भेटिन्छ।
गएर क्लिक गर्दा डाफान्युजको सदस्य बन्दा डाफाबेटको पनि सदस्य हुने सन्देश प्रस्ट देखिन्छ। यसले पनि यसले छद्मरुपमा कानुनी रूपमा अनलाइन जुवाले मान्यता नपाएको देशमा चोरबाटो समातेर आफ्नो प्रचार गरिरहेको प्रस्ट हुन्छ। अनि सीमित आर्थिक स्वार्थमा एनपिएल आयोजना समितिले लोकप्रिय खेल मैदान र लिगलाई डाफाबेटको जुवा प्रचारमा प्रयोग गर्न दिएको प्रस्ट हुन्छ।
डाफाबेट र डाफान्युजको सम्बन्ध
डाफान्युज डाफा बेटको सरोगेट कम्पनी भएको पहिलो प्रमाण यसको नामको प्रकार हो। सरोगेट कम्पनीको पहिलो विशेषता उस्तै देखिने नाम र फन्टको डिजाइन हो। डाफाबेट र डाफान्युजको नाम उस्तै छ।
डाफान्युजको नाम, रंग, फन्ट सबै डाफाबेटसँग ठ्याक्कै मिल्छ। दुनियाँभर गैरकानुनी वा प्रतिबन्धित बजारमा जुवा कम्पनीहरूले अपनाउने सरोगेट मार्केटिङको मोडल यही हो। यही मोडेललाई डाफान्युजले नेपालमा दोहोर्याएको छ।
प्रचारका लागि उनीहरुले समाचार साइट, खेल वेबसाइट, समीक्षा पोर्टल, फ्यान क्लब जस्ता नाम राख्छन्। तर नाम जे राखे पनि उद्देश्य जुवा बजारका सम्भावित ग्राहकसँग जोडिनु हो। एनपिएल-२ मा मैदानभर डाफान्युजको उपस्थितिको लक्ष्य पनि यही देखाउँछ।
यो कुनै स्वतन्त्र मिडिया हैन, डाफाबेटको सरोगेट कम्पनी हो भन्ने बलियो प्रमाण नै डाफान्युजमा एनपिएलबारे एउटा पनि समाचार प्रकाशित नहुनु नै हो। यो मिडिया संस्था भएको भए कम्तीमा उद्घाटनको रिपोर्ट, खेल अपडेट, खेलाडीबारे छोटो प्रोफाइल लगायत कुनै न कुनै सामग्री त राख्थ्यो। तर यहाँ कम्पनीको चासो समाचारमा देखिएन, केवल मैदानभर विज्ञापनबाट प्रचारको देखियो।
डाफाबेटबारे खोज्दा यो सन् २००४ मा फिलिपिन्समा जुवा कानुन अनुसार दर्ता भएको कम्पनी रहेको खुल्यो। उसले आफ्नो साइटमा अनलाइन जुवा खेलाउने कम्पनी भएको उल्लेख गरे पनि थप महत्वपूर्ण विवरण भने खुलाएको छैन।
डाफान्युजले आफू समाचार पोर्टल भएको उल्लेख गरेको छ। तर यो कुन कम्पनीले चलाएको हो, यसको प्रकाशकदेखि प्रधानसम्पादक अनि समाचारदाताहरु को-को छन् केही खुलाएको छैन।
डाफाबेटले एसियामा आफ्नो प्रभाव बढाउन एसियन लजिक ग्रुप नामक प्यारेन्ट कम्पनी समेत दर्ता गरेको खुल्यो। यसको कार्यालय हङकङ, फिलिपिन्स र ब्रिटिस भर्जिनिया आइसल्याण्डमा रहेको देखिन्छ।
नेपालमा चोरबाटोबाट प्रवेश
नेपालमा कुनै पनि प्रकारको जुवा खेलाउन र खेल्न प्रोत्साहन गर्न पाइँदैन। अनलाइन जुवा समेत कानुनी रूपमा प्रतिबन्धित छ नै। सोझै डाफाबेटको प्रचार गर्नु गैर कानुनी हो। यही कानुनी अड्चन छल्न उनीहरुले डाफाबेटको सट्टा डाभान्युजको नाम प्रयोग गरिरहेका छन्।
यसरी न्युज शब्द जोडेर त्रिवि मैदान र ओटिटी र टेलिभिजनमा खेल हेर्ने लाखौँ दर्शकलाई मैदानको डाफान्युजको विज्ञापनबाट डाफाबेटतर्फ आकर्षित गर्न एनपिएलको मैदानको दुरुपयोग गरेको प्रस्ट देखिन्छ।
यस भन्दा अगाडि वानएक्सबेटले पनि वानएक्सन्युजको नाममा नेपालमा आफ्नो प्रचार गर्थ्यो। त्यसमा फुटबलदेखि क्रिकेटसम्म थियो। त्यसको प्रभाव नेपालमा वानएक्सबेटबाट हुने जुवाको मात्रा निकै बढ्यो। एक समूह पक्राउ पर्दा पनि अर्ब बराबरको कारोबार भएको खुल्न थालेपछि वानएक्सबेटको प्रचार गर्न खेल संस्था र पदाधिकारी हच्किए।
बिचमा एनपिएलमै नामै नसुनिएको वुल्फत्रिपलसेभेन भित्रियो। यो पनि न्युजको आवरणमा आएको थियो। वुल्फत्रिपल सेभेनन्युजको विज्ञापन गैर कानुनी भएको ठहर गर्दै विज्ञापन बोर्डले सो विज्ञापन ल्याउने कम्पनीमाथि प्रतिबन्ध लगायो। यो पटक डाफान्युजलाई क्यानले भित्र्यायो।
डाफान्युज अनलाइन जुवा खेलाउने डाफाबेटको सरोगेट कम्पनी भएको भन्दै विज्ञापन बोर्डले यसको प्रचार नगर्न सार्वजनिक सूचना नै निकालेको छ। तर क्यानले त्यसको वास्ता गरेन। विज्ञापन बोर्ड पनि क्रिकेटका फ्यानबाट हुनसक्ने विरोधको पूर्वानुमान गरेर लाचार बनेको देखियो।
सरोगेटले बढाउने जोखिम
खेलमा यस्तो सरोगेट विज्ञापनले के कति हानि पुर्याउन सक्छ, त्यो बुझ्न खेलको संरचना र दर्शक मनोविज्ञान बुझ्नुपर्छ। खेल हेर्ने दर्शक विशेषगरी युवावय समूहका हुन्छन्, र जुवा उद्योगका लागि यही समूह सबैभन्दा ठूलो लक्ष्य बजार हो।
खेल जित–हार मात्र होइन, “कुन ओभरमा कति रन?”, “पहिलो विकेट कसको?, “पहिलो नो–बल कसले गर्छ?” जस्ता सूक्ष्म घटनासमेत बेटिङको विषय बन्न सक्छन्। जब एउटा अनियन्त्रित जुवा बजार खेलसँग जोडिन्छ, त्यहाँबाट खेलाडी, रेफ्री, कोचसम्म लाई प्रलोभन र दबाबमा राखेर जुवा जित्न आफू अनुकूल खेल खेलाउने जोखिम बढ्छ।
नेपालमा यस अगाडि भएको टी-२० लिगमा बेटिङको प्रत्यक्ष प्रभाव देखिएको थियो। आफू अनुकूल नतिजा ल्याएर जुवा जित्न एजेन्टहरूले प्रस्ताव गरेको खुलेपछि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले नै अनुसन्धान गरेको थियो। विश्वभरका म्याच–फिक्सिङ प्रकरणहरू हेर्दा पनि यही नियन्त्रण गर्न कठिन बेटिङ बजारका कारण जन्मिएको देखिन्छ।
इङ्ल्यान्डका टेस्ट खेलदेखि भारतको आइपिएलसम्म, इटालीको फुटबलदेखि अन्तर्राष्ट्रिय टेनिससम्म-जहाँ–जहाँ अनलाइन बेटिङले खेललाई घेरेका छन् त्यहाँ खेल जुवामा बदलिएको भेटिन्छन्।
नेपालमा म्याचफिक्सको बढ्दो जोखिम
नेपालमा पनि यस्तो जोखिम बढेको सङ्केतहरू वर्षौँदेखि देखिँदै आएका छन्। सानो–साना घरेलु टुर्नामेन्टहरूमा शङ्कास्पद गतिविधि, केही खेलाडीलाई बुकीहरूले सम्पर्क गरेको रिपोर्ट, डिजिटल बेटिङ ग्रुपहरूमा नेपाली खेलका दाउ लगाइएको देखिनुको संकेत अनलाइन जुवामा सक्रिय कम्पनीले नेपालमा आफ्नो प्रभाव बढाइरहेको प्रमाण हो।
प्रहरीले पटक पटक पक्राउ परेका एजेन्टहरूको आधारमा नेपालमा पछिल्लो समय अनलाइन जुवा खेलाउने गिरोहको सक्रियता निकै बढेको देखिन्छ।
फ्ल्याट भाडामा लिएर भारतबाट सहयोगी ल्याएर अनलाइन जुवामा परिचालन गर्ने गरेको पटक पटक खुलेको छ। मैदानदेखि टिमसम्म उनीहरूले प्रभाव बढाउने प्रयास गरेका घटना यस अगाडि पनि सार्वजनिक भएको थियो।
सोही समूहले जुवामा लगानी गराउन नेपालीहरूलाई प्रलोभनमा पारेर बैंक खाता खोल्न लगाउने र त्यसमा जुवाको कारोबारको रकम राखेर पछि भाग्दा जुवामा संलग्न नरहे पनि बैंक खाताको प्रयोग गर्न दिएको आधारमा हजारौँ नेपालीहरू अहिले पनि मुद्दा खेपिरहेका छन्।
यसै अवस्थामै एनपिएलले जुवाको सरोगेट ब्रान्डलाई मैदानभित्र प्रवेश दिनुले निष्पक्ष हुनुपर्ने खेल बुकी र एजेन्टको प्रभावमा जाने जोखिम बढाएको छ।
फेरि प्रश्न त्यही-किन यस्तो कम्पनी भित्र्याइयो?
जवाफ सायद वित्तीय हो। ठूलो बजेट आवश्यक पर्ने प्रतिस्पर्धात्मक खेल प्रतियोगिताहरू अक्सर स्पन्सरसँग निर्भर हुन बाध्य हुन्छन्। यदि स्वच्छ व्यावसायिक क्षेत्रले ठूलो रकम नदिए आयोजकहरू प्रतिबन्धित वा छायायुक्त क्षेत्रका स्पन्सर स्विकार्न पुग्छन्। तर यस्तो “छोटो–दृष्टि” निर्णयले खेलको भविष्यमा ठूलो सङ्कट निम्त्याउँछ।
भित्र्याउनु आवश्यकता हो; तर गलत स्पन्सर स्विकार्नु दुर्घटनालाई निमन्त्रणा गर्नु हो। एनपिएलको प्रकरणमा आयोजक समितिसम्बद्ध केही पदाधिकारीले डाफान्युज र डाफाबेटको सम्बन्धबारे जानेर पनि “यो त समाचार वेबसाइट मात्रै हो” भन्ने कुतर्क गर्ने गरेका छन्।
तर डाफान्युजको वेबसाइटमै डाफाबेटका प्रमोशनल लिंक र विज्ञापन छरिएका छन्। यो जुवा खेलाउने कम्पनी रहेको र नेपालको विज्ञापन बोर्डले डाफान्युज जुवा खेलाउने डाफाबेटको सरोगेट कम्पनी भएकाले यसको प्रवर्धन नगर्न सार्वजनिक सूचना नै जारी गरे पनि क्यानले अटेर गर्दै मैदानको जताततै यसको विज्ञापन राखेर प्रचार गर्नु खेलको खराब अभ्यास हो।
एनपिएलको पहिलो सिजनमा पनि यसैगरी अनलाइन जुवा खेलाउने वुल्फत्रिपलसेभेनको प्रचार वुल्फत्रिपलसेभेनन्युजको रूपमा भएको थियो। विज्ञापन बोर्डले यसलाई गैर कानुनी काम भनेर विज्ञापन ल्याउने दुई कम्पनीलाई तीन महिना प्रतिबन्ध र १०-१० हजार जरिवाना गराएको थियो।
नेपालको कानुनले सबै प्रकारको जुवामाथि प्रतिवन्ध लगाएको छ। तर एनपिएल-२ को मैदानमा फैलिएको डाफान्युजको छायाले नेपाली क्रिकेट खेलभित्र अनियन्त्रित जुवा उद्योग प्रवेश गरेको देखायो।
मंसिर १, २०८२ सोमबार २२:४३:१४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।